कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

नेपालल‍े विज्ञान कूटनीतिमा जोड दिनुपर्ने सरोकारवालाको सुझाव

काठमाडौँ — कोरोना महामारी,जलवायु परिवर्तन लगायत विश्वमा देखिएका साझा  समस्या समधानका लागि विज्ञान कूटनीतिमा नेपालले जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

नेपालल‍े विज्ञान कूटनीतिमा जोड दिनुपर्ने सरोकारवालाको सुझाव

सातौं राष्ट्रिय विज्ञान दिवसको पूर्व सन्ध्यामा युनेस्को नेपालको निमित्त नेपाल राष्ट्रिय आयोगको विज्ञान, हाइड्रोलोजिकल प्रोग्राम (आईएसपी) र म्यान एण्ड बायोस्फेर (एमएपी) समितिले नेपाल जर्मन एकेडेमिक एसोसिएसनको सहकार्यमा मंगलबार आयोजना गरेको ‘एक्काइसौँ शताब्दीको विज्ञान कूटनीति : नेपाली सन्दर्भमा सहकार्यको माध्यमबाट विकासको अवसर’ विषय भर्चुअल कार्यक्रममा उनीहरुले कोरोना महमारी विरुद्ध मात्रै नभएर ग्लोबलाइजसनका लागि पनि विज्ञान कूटनीतिमा जोड दिइनुपर्ने बताएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताए । उनले साझा चुनौतीको सामना गर्न विश्व एक हुनुपर्नेमा पनि जोड दिए ।

पूर्वविज्ञानमन्त्री गणेश साहले कोरोना महामारी र महामारी पछिको 'न्यु नर्मल' अवस्थमा वैज्ञानिकहरुको काम झन् बढ्ने र सहकार्यको खाँचो रहेको औंल्याए । नेपालमा विज्ञान कूटनीति बहसको विषय हुनुपर्ने उल्लेख गर्दै प्रविधि हस्तान्तरणमा काम गर्नुपर्ने बताए ।

शिक्षा मन्त्रालयका सचिव सञ्जय शर्माले विज्ञान औपचारिक कूटनीतिभन्दा पर र माथि हुने भएकाले यसले जलवायु परिवर्तनका असर न्यूनीकरणजस्ता विषयमा विश्वलाई एकताबद्ध भइ लड्न प्रेरित गर्ने बताए । विद्यमान कोरोना भाइरसको महामारीको स्थितिमा विज्ञान कूटनीतिको झन् बढी महत्व रहेको उनको भनाइ थियो । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी विज्ञान र कूटनीतिका मानवीय विकास, सभ्यता र समृद्धिका साझा लक्ष्य रहेको बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञानसँग सम्बन्धित विज्ञान ज्ञान पार्क र विज्ञान सहरजस्ता अवधारणामा काम भइहेको अवगत जनाउँदै दोस्रो विश्वयुद्धपछि जापन र संयुक्त राज्य अमेरिकाबीचको विज्ञानसम्बन्धी सहकार्यलाई विज्ञान कूटनीतिको असल उदाहरणका रुपमा लिनुपर्ने बताए । उनले नेपालको विकासमा विज्ञानका नयाँ नयाँ आयामको उपयोगका लागि अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाएको बताए ।

युवा अध्येता एवं अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले दक्षिण एसियामा विज्ञान कूटनीतिको इतिहास धेरै पुरानो रहेपनि हाल त्यसो नदेखिएको बताए । उनले सार्क जस्तो क्षेत्रीय स्तरका संस्थाले विज्ञानको विकास र प्रवर्द्धन गर्ने सवालमा चुकेको बताए । सन् २००८ देखि २०१७सम्म दक्षिण एसियामा १२ लाख वैज्ञानिक आलेख प्रकाशित भएपनि त्यसमा १.३ प्रतिशत आलेख मात्रै दक्षिण एसियाली वैज्ञानिकहरुको सहकार्य भएको बताए । विज्ञान कूटनीतिको विकास र प्रवर्द्धनका लागि वैज्ञानिकहरुबीचको सहकार्य यस क्षेत्रमा बढाउनुपर्ने उनको धारणा थियो ।

इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले विकासका लागि विज्ञान महत्वपूर्ण विन्दू भएकाले यसलाई रचनात्मकरुपमा अन्तर्राष्ट्रिय साझा मुद्दाको सम्बोधनका लागि उपयोग गर्नुपर्ने बताइन् ।

नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफरले त्यहाँको शिक्षा मन्त्रालयले शिक्षा र प्रविधिमा गर्दै आएको नवप्रवर्तन र नेपालसँगको सहकार्यबारे प्रस्तुति दिँदै नेपालको मुख्य ध्यान विदेशिने अप्रवाधिक कामदरलाई प्राविधिक शिक्षा र तालिम दिनुपर्ने सुझाव दिए । उनले नेपालबाट जर्मनी अध्ययन गर्न जाने विद्यार्थीहरु विज्ञानको क्षेत्रमा भएपनि जर्मनीबाट सोसियोलजी अध्ययन गर्नेहरु आउने गरेको बताउँदै दुई मुलुकबीच विज्ञान र प्रविधिको विकासका लागि काम गर्न सकिने प्रशस्त्र ठाउँ रहेको बताए ।

युनेस्को मुख्यालयमा कार्यरत विशेषज्ञ भानुराज न्यौपाने सबैमा विज्ञान, प्रविधि र तथ्याङ्कको पहुँचका लागि खुल्ला विज्ञानको अवधारणालाई कार्यान्वयन गर्न जोड दिए । उनले नेपालमा ११ वटा मात्रैं जर्नलहरु ओपन एसेसमा चिनिएको बताउँदै खोज तथा अनुसन्धान अझ बढाउनुपर्ने बताए । उनले अबको समय आर्टिफिसियल इन्टिलिजेन्सको भएको उल्लेख गर्दै यसतर्फ पनि नेपालको ध्यान जानुपर्ने बताए ।

पूर्व राजदूत महेश मास्केले नेपालमा अरनिको पालादेखि सीप तथा प्रविधिक हस्तान्रतणको इतिहास भएपनि सो अनुसारको काम गर्न नसकेको बताए । उनले विज्ञानले धेरै समस्याको हल निकाल्ने उल्लेख गर्दै मुलुक-मुलुकबीचको सहकार्यको खाँचोमा जोड दिएका छन् । नाष्ट लगायतका संस्थाहरुले विज्ञान कूटनीतिको विषयमा छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित : भाद्र ३०, २०७७ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?