विश्‍व नवप्रवर्तन सूचका‌ंकमा नेपालको उल्लेख्य सुधार

सार्क मुलुकमध्ये भारतपछि दोस्रो स्थानमा
गोविन्द पोखरेल

काठमाडौँ — विश्व नवप्रवर्तन सूचांक(ग्लोबल इनोभेसन इन्डेक्स,जीआईई)मा नेपाल सार्क राष्ट्रहरुमा भारतपछि दोस्रो स्थानमा उक्लिएको छ ।

विश्‍व नवप्रवर्तन सूचका‌ंकमा नेपालको उल्लेख्य सुधार

बुधबार वर्ल्ड इन्टलेक्च्युल प्रोपर्टी अर्गनाइजेसन (वाइपो)ले निकालेको रिपोर्टअनुसार नेपाल १०७ औं स्थानबाट उक्लिएर ९५औं स्थानमा आइपुगेको हो । संयुक्त राष्ट्रसंघ मातहतको यो संस्थाले अमेरिकाको कोर्नेल विश्विविद्यालयसँगको सहकार्यमा प्रत्येक वर्ष जीआईई इन्डेक्स निकाल्दै आएको छ । नेपाल सन् २०१९मा १०७औं स्थानमा थियो ।

विश्वको ९५औं स्थानमा नेपाल रहे पनि कम आय भएका मुलुकहरुभित्र भने नेपाल तेस्रो तथा मध्य र दक्षिण एसियामा छैटौं स्थानमा रहेको वाइपोद्वारा जारी रिपोर्टमा उल्लेख छ । जीआईई इन्डेक्समा स्विजरल्यान्ड पहिलो स्थानमा छ भने भारत ४८औं स्थानमा छ । यो इन्डेक्समा श्रीलंका १०१, पाकिस्तान १०७ र बंगलादेश १०६औं स्थानमा छन् ।

नवप्रवर्तनको क्षेत्रमा नेपालले गएको वर्षदेखि नै राम्रा काम गर्न थालेपछि ३ अंकबाट दोस्रो अंकमा नेपाल उक्लन सफल भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)का प्रविधि संकाय प्रमुख रवीन्द्र ढकालले बताए । यो रिपोर्ट नवप्रवर्तनलाई मात्रै आधार नभएर वैज्ञानिक लेख तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा छापिएका पब्लिकेसनलाई पनि आधारमा मानिएको हुन्छ ।

विश्वविद्यालयमा भए/गरेका कामबाट छापिने अनुसन्धानात्मक लेखहरु बढेकाले पनि यस वर्ष नेपालको स्थान उक्लिएको ढकालको बुझाइ छ ।

कोरोनाको सवालमा नेपालका वैज्ञानिकहरुले नवप्रवर्तनमा मात्रै नभएर अनुसन्धनात्मक आलेखहरु पनि धेरै छापिएको सूचांक बढेको उनको दाबी गरेको छ ।

नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले नेपालले गत वर्ष विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति ल्याएकाले पनि इन्डेक्स बढ्न मद्दत गरेको बताए । उनले भने,’हाम्रो देशका कतिपय वैज्ञानिक खोज तथा अनुसन्धानहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा रेकर्डहरु भएका थिएनन् । अहिले त्यो संख्या ह्वात्तै बढेको छ । अहिले रिसर्चहरु पनि बढेको छ । नीतिमा पनि नवप्रवर्तन समावेश भएकाले यो सूचांक बढेको हो ।’ नवप्रवर्तनका लागि विभिन्न संस्थाहरु खुलेका र कन्फरेन्सहरु पनि भइरहने हुँदा नेपालले गति लिन थालेको ढुंगेलले बताए । उनले भने,’ नेपालबाट अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागिता पनि बढ्यो अनि प्याटेन्ट र पब्लिकेसनको संख्या पनि बढेको छ । ’

पूर्वविज्ञान प्रविधि मन्त्री गणेश साहले नीति निर्माणमा नवप्रवर्तनलाई समेटेको,नेपालमा डिजिटल टेक्नोलोजी र ई-कमर्स बढ्दा पनि यसले सूचांकमा भूमिका खेलेको बताए । उनले लोडसेडिङ हटेसागै अनलाइन मार्फत नयाँ-नयाँ प्रविधिको विकास र सोचहरुले अबका दिनहरुमा अझ राम्रो हुने संकेत देखिएको बताए ।

३ अंकबाट दुई अंकमा फड्को मार्नु भनेको नेपालमा इनोभेसन र टेक्नोलोजीमा पाइला चाल्‍न सुरु गरेको भान हुने साहले प्रतिक्रिया दिए । उनले अगामी दिनहरुमा प्याटेन्ट राइटसम्बन्धी कानूनी र नीतिगत सुधारहरु गर्नुपर्नेमा जोड दिएका छन् ।

यो इन्डेक्समा संघसंस्थाहरु, म्यानपावर, अनुसन्धान, पूर्वाधार, ऋण लगानी, समन्वयलगायतका क्षेत्रहरुमा प्रयोग हुने नवप्रवर्तनसम्बन्धी विषयहरु समावेश हुन्छन् ।

यस्तै, वाइपोको रिपोर्टमा नेपालले नवप्रवर्तनका क्षेत्रमा विभिन्न तहमा लगानी गरे पनि सो अनुसारको नवप्रवर्तनात्मक कार्यहरु भने धेरै गर्न नसकेको उल्लेख छ । इनोभेसन इन्पुटमा नेपाल ८९ औं र आउटपुटमा भने १०६ औं स्थानमा छ । यस वर्ष नास्टले प्रविधि विकास तथा अनुसन्धानका लागि भने २ करोड ३२ लाख रुपैयाँ विभिन्न व्यक्ति तथा समूहरुलाई अनुदान उपलब्ध गराएको छ ।

प्रकाशित : भाद्र १७, २०७७ २२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?