मंगल ग्रहमा पठाइएको झन्डै दुई केजीको हेलिकप्टर

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले बिहीबार मंगल ग्रहको प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै एउटा हेलिकप्टर पनि त्यसतर्फ पठाएको छ ।

मंगल ग्रहमा पठाइएको झन्डै दुई केजीको हेलिकप्टर

एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ । यो रकम करिक ११ अर्ब १७ करोड नेपाली रुपैयाँ हुन आउँछ ।

ठूलो धनराशी खर्च गरेर नासाले तयार गरेको यो हेलिकप्टरको नाम 'इन्ज्युनिटी' दिइएको छ । नासाको यो मिसन सफल भए इन्ज्युनिटी पृथ्वी बाहेक अन्य ग्रहमा उड्ने पहिलो मानवनिर्मित यान हुनेछ ।

नासाको 'मार्स २०२० पर्सिभरेन्स रोभर' मिसनका अन्तर्गतकै 'इन्ज्युनिटी मिसन'ले मंगल ग्रहको पातलो वायुमण्डलमा आफ्नो पहिलो उडान भर्दै इतिहास रच्‍ने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको जेट प्रपोल्सन ल्याबोरेटरीमा निर्माण गरिएको यो हेलिकप्टरको 'टेस्ट फ्लाइट' भने सफल भएको छ । कार्बन फाइबरका ४ वटा ब्लेड रहेका यो हेलिकप्टरको पंखा साधारण हेलिकप्टभन्दा धेरै बढीले घुम्ने नासाले जनाएको छ ।

मंगल ग्रहमा पर्सभरेन्स रोभर अवतरण भएपछि यो हेलिकप्टर पनि रोभरबाट सफ्ट ल्यान्डिङ गरेर मंगल ग्रहको सतहलाई छुनेछ । अल्बना राज्यको एक हाइ स्कुलकी विद्यार्थीले यो हेलिकप्टरको नाम दिएकी हुन् ।

मंगल ग्रहमा यो हेलिकप्टरले अधिकतम् १५ मिनेट सयर गर्नेछ । यसले ५ वटा पावर फ्लाइट गर्ने नासाले जनाएको छ । प्रत्येक फ्लाइट ३ मिनेट अवधिको हुनेछ । भविष्यको मंगल ग्रहको अध्ययनका लागि र अन्य रोबटिक उडान हुने वस्तुहरु निर्माण गर्नका लागि य इन्ज्युनिटी मिसनले सहयोग गर्ने नासाले जनाएको छ ।

यो हेलिकप्टरमा दुई वटा क्यामेरा बाहेक अन्य उपकरणहरु छैनन् । गणतीय 'अल्गोरिदम'हरु भएकाले यो हेलिकप्टरले मार्समा आफैं उड्ने र अवतरण गर्नेछ । सौर्य ऊर्जाबाट अटोमेटिक रुपमा चार्ज हुने यो यानले रोभर र फ्लाइट ओपरेटरहरसँग सञ्चार गरेर पृथ्वीमा तथ्यांक पठाउने नासाले बताएको छ । मार्सको पातलो वायुमण्डलमा उड्नुपर्ने चुनौती भएकाले 'इन्ज्‍युनिटी' केहि चुनौती भने रहने जेट प्रपोल्सन ल्याबोरेटरीले बताएको छ ।

मंगल ग्रहमा इन्ज्युनिटीले न्यूनतम १५ फिट र अधिकतम् १६० फिटको उचाइसम्म उड्न सक्नेछ । अटोमेटिक रुपमा चल्ने यो हेलिकप्टरमा ऊर्जा खपत गर्ने र मंगल ग्रहको तापक्रम र वातावरणमा पनि अनुकुल हुन सक्‍ने बताइएको छ ।

यो हेलिकप्टर पर्सभरेन्स रोभरदेखि १ किलोमिटर टाढासम्म रहने नासाले जनाएको छ । यसमा एउटा रंगिन र ब्लयाक एन्ड वाइट क्यामेरा छन् ।

प्रकाशित : श्रावण १५, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?