फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् ।

भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको छ ।

रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा 'एन्टी डिफेमेसन लिग'सहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो ।

यही आह्वानमा समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिंदै आएको विज्ञापन बन्द गरेका छन् । फेसबुकले आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक, रंगभेदी अभिव्यक्ति नियन्त्रण गर्न असफल भएको भन्दै यस्तो आह्वान गरिएको हो ।

भाइबरले 'स्टप हेट फर प्रफिट' नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : असार १४, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्

विज्ञ भन्छन् : भारतबाट सलहको ४ वटा झुन्ड नेपाल प्रवेश गरेको हो

देशभर पानी परेका कारण आइतबार फैलावट रोकियाे : प्राविधिक समिति
गोविन्द पोखरेल

काठमाडौँ — भारतबाट उत्तरतिर हावा बहँदा नेपालमा सलहका ४ वटा झुन्ड प्रवेश गरेको विज्ञहरुले बताएका छन् । कीट विज्ञहरुले शनिबार पर्सा,बारा,सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा झुन्ड प्रवेश गरेको बताएका हुन् । 

ती झुन्डबाट केही छुट्टिएर र हावाले उडाएर नेपालका अन्य भू-भागहरुमा पुगेको सलह नियन्त्रणका लागि कृषि मन्त्रालयद्वारा गठित प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले कान्तिपुरलाई बताए । झुन्डमा कति संख्यामा सलह छन् भन्न‍ सकिने अवस्था नरहेको उनले बताए । तिनै झुन्डहरु उत्तरितर लागिरहेका हुन् ।

रुपन्देहीमा प्रवेश गरेको बुटवल हुँदै त्यहाँबाट छुट्टिएर एउटा पाल्पा र अर्को सैनामैना हुँदै कपिलवस्तुतिर गएको विज्ञहरुले बताएका छन् ।

सर्लाहीमा देखिएको झुन्ड टुक्रिएर सिन्धुली हुँदै सिन्धुलीको चियाबारीमा पुगेका छन् । त्यही झुन्डबाट टुक्रिएर केही रामेछापतिर पुगेको तर न्यून संख्यामा रहेको प्राविधिक समितिले जनाएको छ ।

बारामा देखिएको ठूलाे झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुरको बीचमा पुगेको थियो । त्यही झुन्ड टुक्रिएर मकवानपुरगढी र चितवन पुगेको हुमागाईंले बताए । पर्सामा देखिएको झुन्ड एकदमै सानो रहेको र त्यो झुन्ड जंगलतिर प्रवेश गरेपनि आधिकारिक पुष्टि नभएको हुमागाईंले बताए । उनले भने,'शनिबार पर्साको पर्सागढीबाट उडेपछि चितवनतिरको जंगलमा गयो तर कहाँ गयो थाहा छैन । जंगलप्रवेश गर्‍यो कि भन्‍ने अनुमान छ तर पुष्टी भइसकेको छैन । '

यस्तै मुलुकका अन्य भागहरुमा सानातिना दुई चारवटा संख्या हावाले छुट्टाएर ल्याएको हुन सक्‍ने उनले बताए । उनले भने,'बथानको रुपमा देखिएका छैनन् । '

मनसुनका कारण आइतबार फैलावट रोकियो

शनिबार रातिदेखि मुलुकका विभिन्न क्षेत्रमा वर्षाभएपछि सलह फैलावट रोकिएको प्राविधिक समितिले जनाएको छ । शनिबार साँझ अवतरण भएको क्षेत्रबाट सलह अन्यत्रतिर उड्न नसकेर त्यही बसेको हुन सक्‍ने हुमागाईंले बताए ।

उनले भने,' हिजोको जतिको फैलावट आज देखिएको छैन । पानी परेर पनि होला कपिलवस्तु,रुपन्देहीमा त्यस्तो फैलावट देखिएको छैन । अहिले अन्यत्र गएको भनेर देखिएको छैन ।' यस्तै, आइतबार मनसुन सक्रिय हुँदा तराईका जिल्लाहरुमा सलह प्रवेश नगरेको हुमागाईंले बताए ।

शनिबार बेलुका सलह भेटिएका स्थानहरुमा अहिले प्रदेशका कृषि विज्ञहरुले ती ठाउँहरुमा अनुगमन गरिरहेको बताएका छन् ।

प्रकाशित : असार १४, २०७७ १६:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×