कछुवा संरक्षणमा ध्यान दिन संरक्षणकर्मीहरुको जोड

काठमाडौँ — नेपालमा कछुवा प्रजातिहरु बढी मात्रामा चोरी सिकारी  हुने गरेको अनुसन्धानकर्मीहरुले बताएका छन् । बेचविखन तथा उपभोगका लागि यो प्रजाति नेपालमा उपयोग हुने गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

कछुवा संरक्षणमा ध्यान दिन संरक्षणकर्मीहरुको जोड

कछुवा दिवस २०२० को अवसर पारेर क्यारोन नेपाल र वातावरण अध्ययन तथा संरक्षण केन्द्रद्वारा आयोजित कार्यक्रममा विज्ञहरुले नेपालमा पाइने सबै १६ प्रजातिका कछुवाहरु संकटमा रहेपनि त्यसको संरक्षणमा पर्याप्त ध्यान नपुगेको उभयचर एवं सरिसृप विज्ञ प्राध्यापक करनबहादुर शाहले बताए । उनले यो प्रजातिको जीव नेपालमा विभिन्न बहानामा मारिने तथा ओसारपसार हुने गरेकाले ध्यान दिनुपर्ने बताए ।

अनलाइन प्लटेफर्ममा मार्फत आयोजित उक्त कार्यक्रममा क्यारोनका संस्थापक एवं उभयचर अध्येता प्रकाशचन्द्र अर्यालले कछुवा नेपालका तराई क्षेत्रमा मात्रै पाइने र यो जीव मानिसहरुले खाने गरेकाले पनि संरक्षणमा चुनौती आएको बताए । उनले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताए । कछुवा प्रजातिहरु खुलेआम विक्री वितरण तथा घरमा पालिदा समेत राज्य मौन रहेको उनको भनाइ छ ।

अनुसन्धानकर्मीहरुले कछुवाको संरक्षण र अध्ययनमा सरोकारवाहरुले ध्यान नदिएको पनि बताएका छन् । उनीहरुले कछुवाको अनुसन्धानमा गर्दा विविध कठिनाईहरु आउने र त्यसका लागि सरोकारवालाहरुले चासो र सम्बोधन नदेखिएको बताए । नेपालमा ठूला प्रजातिका जीवहरुको अनुसन्धानमा प्राथमिकता दिँदा साना प्रजातिहरुका अनुसन्धान नभइरहेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय जलवायु परिवर्तनका कारणले पनि कछुवाको बासस्थान मासिदै गएको अनुसन्धानकर्ताहरुको भनाइ छ । सन् २०१० नेपालमा पाइने कछुवाहरुको अध्ययनमा संलग्ने रहेका त्रिविका केन्द्रीय वातावरण विज्ञानका उपप्राध्यापक मनकुमार धमलाले भने,‘जलवायु परिवर्तनसँगै प्लाष्टिकजन्य फोहोरहरुले कछुवा प्रजातिको बासस्थान र अस्तित्व संकटमा पर्दै गएको देखिन्छ ।’

नेपालमा १६ प्रजाति र १७ उपप्रजातिका कछुवाहरु पाइने भएतापनि केही प्रजातिहरु देखिएका छैनन् । पहिलो पटक सन् १९९५मा भेटिएको इन्डियन आइड टर्टल प्रजातिको कछुवा २००८मा गरिएको सर्वेक्षणमा अनुसन्धानकर्मीहरुले भेटाएका थिएनन् । स्थानीयस्तरमा प्राकृतिक पोखरी तथा जलाशय क्षेत्र अतिक्रमण र सुख्न थालेपछि ती प्रजातिहरु हराइरहेको वातावरण अध्ययन तथा संरक्षण केन्द्रका अध्येता चन्द्रमणि अर्यालले बताए ।

यस्तै, नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले वन्यजन्तुको ओसारपसारर बेचबिखनमा रोक लगाएपनि राजधानीमै कछुवाहरु बिक्री वितरण भइरहको अनुसन्धानकर्मीहरुको भनाइ छ । कछुवाको विक्री वितरणसम्बन्धी अनुसन्धान गर्दै आएका सन्देश न्यौपाने भने,‘काठमाडौंमा मात्रै वार्षिक रुपमा २६ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको कछुवा बिक्रीसँग सम्बन्धित कारोबार हुनछ ।’

यस्ता, कछुवाहरु कोसी टप्पु वन्यजन्तु आरक्ष छेउछाउबाट समेत तस्करी हुने गरेको अध्येताहरुको भनाइ छ । नेपालमा थाइलेन्डबाट रातो काने कछुवा प्रजातिहरु बिक्रीका लागि आउने गरेको अनुसन्धानकर्मीहरुको भनाइ छ ।

कोभिड–१९ को माहामारीको मौका छोपेर सामुदायिक एवं राष्ट्रिय वन क्षेत्रहरुमा पनि चोरी सिकारी बढेकाले त्यसतर्फ ध्यान दिन पनि उनीहरुले आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

राज्यको नजरमा नपरेको कछुवा

प्रकाशित : जेष्ठ १०, २०७७ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?