उद्धार गर्नुपर्ने नेपालीको विवरण लिन कांग्रेसले ‘वेब एप’ल्यायो

एक घण्टामै १२ हजार नेपालीले फारम भरे
कान्तिपुर संवाददाता

काठमाडौँ — बाहिरी मुलुकमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारका लागि सरकारलाई दबाव दिन कांग्रेसले तयार पारेको ‘वेब एप’सार्वजनिक भएको एक घण्टामै १२ हजार नेपालीले फारम भरेका छन् । फारम भर्नेमा सबैभन्दा बढी कुवेतमा कार्यरत नेपाली छन् ।

बाहिरी मुलुकमा अप्ठ्यारोमा रहेका नेपालीहरुको राहत तथा उद्धारका लागि तथ्याङ्क संकलन गर्न कांग्रेसले नेपालसहित ४३ देशबाट एकसाथ ‘एप र वेब एप’ सार्वजनिक गरेको थियो ।

नेपालबाट कांग्रेस सभापति शेरबहादुर देउवा र बाहिरबाट पार्टीका विदेशस्थित जनसम्पर्क समितिका संयोजक तथा सभापतिले एकसाथ ट्‍वीटमार्फत ‘वेब एप’सार्वजनिक गरेका थिए । पार्टीको सूचना तथा प्रचार विभागले ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ ‘रेस्क्यू नेपाली’ नाम दिएर बनाएको ‘वेब एप’अपरान्ह ३ बजे सार्वजनिक गरेको थियो ।

प्रचार विभागका प्रमुखसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार एकसाता भित्र विश्वभरमा रहेका नेपालीहरुको अवस्थाको विवरण केलाई आउन चाहनेहरुको विवरण पेन ड्राईभमा राखेर सरकारलाई बुझाउने तयारी छ ।

‘संकलित तथ्याङ्क वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्दार गर्न नेपाल सरकारलाई सघाउ दबाव पुर्‍याउने एपको लक्ष्य हो’शर्माद्‍वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो एपमा व्यक्ति स्वयंले वा निकटस्थ कसैले पनि विवरण भर्न सकिने प्रबन्ध मिलाइएको छ । विवरणमा स्वदेश फर्कन चाहने कारणसमेत लिइने भएको छ । रोजगारी गुमेको, भिसा अवधि सकिएको, एमनेष्टी पाएको, कलेज बन्द भएको, सम्बन्धित देशले फर्काउन चाहेको, परिवारका सदस्य भेट्न आउँदा रोकिएको जस्ता कारणहरु खुलाई विवरण लिइने भएको छ । ‘नारा लगाएर विरोध गर्नेभन्दा यस्ता रचनात्मक रुपमा काम गरेर सरकारलाई सहयोग र दबाव दिने योजना कांग्रेसले ल्याएको हो’ शर्माले भने,‘एकसाता भित्र सम्पूर्ण विवरण तयार बनाएर सरकारलाई बुझाउने छौं ।’ उनले दैनिक एक लाखसम्मले भिजिट गर्न सक्ने क्षमताको वेब एपको निर्माण भएको बताए । ‘सुरुवातकै संकेतले त्यसभन्दा बढी संख्या पुग्ने देखिएको छ’ शर्माले भने ।

प्रकाशित : जेष्ठ ७, २०७७ २१:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मलर सदाले भोकसँग लड्दालड्दै प्राण त्यागे 

चार दिनदेखि चुलो नबलेपछि खाद्यान्नको खोजीमा हिँडेका उनी खेतमै ढले । मृत्युपछि सद्गत गर्न पैसासमेत भएन । तीनै छोरा घरबाहिर रहेकाले नातिले दागबत्ती दिएर उनको अन्त्येष्टि गरियो ।
अवधेशकुमार झा

पथरी, सप्तरी — घरमा चार दिनदेखि चुलो नबलेपछि सप्तरीको कञ्चनरुप नगरपालिका-५ पथरी रामपुरका मलर सदा मुसहर चिन्तामा डुबेका थिए । सोमबार दिउसो उनले श्रीमती जलेश्वरी देवीसँग अचानक कोदालो र छाता मागे । बेलुकाको खानाका लागि जसरी भए पनि सिदहा (खाद्यान्न) लिएर आउने बाचा गर्दै घरबाट निस्किए । 

केहीबेरमै बस्तीका एकजनाले मलर नजिकै खेतमा लडेको खबर लिएर आए । एकछिन अवाक् बनेकी जलेश्वरी १० वर्षीय नाति दिनानाथलाई लिएर खेततर्फ दौडिइन् । बेलुका खानेकुरा लिएर आउँछु भनेर हिँडेका ५० वर्षीय श्रीमान् खेतमा ढलेको देख्दा कस्तो महसुस गरिन् होला ? उनी भन्न सक्दिनन् । उनका आँखामात्र रसाउँछन् ।

नातिसमेत लागेर ढलेका श्रीमान्‌लाई उठाउन त खोजिन् तर सकिनन् । घरमा रहेका दुई जना बुहारीलाई बोलाइन् । नजिकै बाँतर टोलका दुईजना आइपुगे र बुहारीको पिठ्युँमा बोकाएर घर ल्याइन् ।

‘घर ल्याएपछि उपचार गर्न लान्छु भन्ने सोचेँ । तर फेरि पैसा कहाँबाट आउँछ भन्दै उपचार गर्न गइनँ,’ बुधबार दिउँसो जलेश्वरीले सुनाइन्, ‘रातभरि त्यतिकै घरमा राखेँ, मंगलबार बिहान ८ बजे प्राण गयो । खाना नपाएरै मेरो पतिको ज्यान गयो । हामी गरिबको को छ र ?'

चार दिनदेखि पेटमा अन्न परेको थिएन । भोको पेट लिएर कोदालो चलाउन हिँडेका मलर खेतमै लडे । समयमै उपचार गरेको भए बाँच्न पनि सक्थे तर गरिबीका कारण मुसहर परिवारले उपचारसमेत गराउन पाएन ।

मृतक मलर सदाको घर । तस्बिर : अवधेशकुमार/कान्तिपुर

उनको घरमा अन्न नभएपछि एक दिनअघि छिमेकी फनिलाल सदाले खिचडी बनाउन थोरै चामल दिएका थिए । ‘भोकले गाह्रो भयो भनेर मलरले भनेपछि मैले उनकी श्रीमतीलाई चामल दिएको थिएँ,’ फनिलालले भने, ‘बिचरा, गरिबीले खान नपाएरै बिते ।’

स्थानीय तहले दुई साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर जोहो गर्न कोदालो लिएर हिँडेका थिए ।

उनका तीन भाइ छोरा छन् । दुईजना विवाहित हुन् । सबै रोजगारीका लागि भारतको गुजरातमा छन् । दुई बुहारी एकै आँगनमा भए पनि छुट्टै बसेका छन् । दुई छोराको कच्ची घर छ । मलर दम्पतीको भने भत्केको घर ।

‘खान नपाई मर्ने बेलामा न सन्तानले हेरे न त सरकारले,’ शोकमा डुबेकी जलेश्वरीले आँसु पुछ्दै भनिन्, ‘छोराहरुले पनि के गर्नु, दुई महिनादेखि गुजरातमा बेरोजगार छन् । उनीहरुलाई नै के दोष दिनु, हाम्रो भाग्यमै खाना नपाई मर्नु थियो ।’

मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा थिएन । टोलवासीले उठाएर १५ सय रुपैयाँ दिए । जसले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरियो । सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिए । ‘किरियामा बसेको नातिलाई लगाउन एउटा गन्जी छैन, पुरानै कपडा लगाएको छ,’ जलेश्वरीले भनिन्, ‘किरिया कसरी सक्ने र अबको दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको छ ।’

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले भने मलरको मृत्यु भोकका कारण नभई दमरोगका कारण भएको दाबी गरे । ‘उनी दमका रोगी थिए, औषधि खाइरहेका थिए, रक्सी पनि खान्थे,’ उनले भने ।

जलेश्वरीले भने आफ्ना पति रोगी नभएको बताइन् । उनका अनुसार पाँच दिनअघि खोकी लागेपछि मलरले औषधि खाएका थिए । घरमा ‘सालबुटामोल’ सिरप र केही ट्याबलेट बाँकी थियो । ‘हामी गरिब सबै रोगसँग लड्न सक्छौं तर भोकसँग लड्न सक्दैनौं,’ जलेश्वरी भन्छिन्, ‘मेरो पति गरिबी र भोको पेटका कारण मरेका हुन् । ठूलाबडाले त जे भने पनि हुन्छ । हामी डराउनुबाहेक अरु के गर्न सक्छौं ?’

नगरप्रमुख मिश्रले आर्थिक सहयोग चाहिए नगरपालिकामा निवेदन दिनु भनेर जलेश्वरीलाई भनिसकेको बताए ।

सरकारले पटकपटक दोहोर्‍याउने गरेको छ- 'अब खान नपाएर कोही नेपाली मर्नेछैनन् ।' मलर सदाले भने भोकसँग लड्दालड्दै प्राण त्यागे । उनको यो मृत्युले सरकारी प्रतिबद्धतालाई गिज्याएको छ । 'सरकारी प्रतिबद्धता नारामा मात्र सीमित भयो,' स्थानीय दलित अधिकारकर्मी भोला पासमान भन्छन्, 'प्रतिबद्धता कार्यान्वयन गरी गरिबहरुसम्म नआउँदा यसरी मरी नै रहनेछन् ।'

प्रकाशित : जेष्ठ ७, २०७७ २१:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×