१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

के गर्दै छ नाष्ट ?

गोविन्द पोखरेल

काठमाडौँ — विज्ञान र प्रविधिको क्षेत्रमा नेपालको सर्वोच्च संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले कोभिड-१९ रोकथाम तथा परीक्षण सन्दर्भमा तयारी थालिरहेको जनाएको छ। 

के गर्दै छ नाष्ट ?

लकडाउन सुरु हुनुअघिदेखि नै आफूहरुले कोभिडसम्बन्धी काम गरिरहेको नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले कान्तिपुरलाई बताए। सर्वसाधारणहरुलाई कोभिडसम्बन्धी जनचेतना र जानकारी दिनुका साथै सेनिटाइजर उत्पादनमा नाष्टले काम गरेको उनको भनाइ छ।

लकडाउन सुरु हुनुअगावै नाष्टले ललितपुर महानगरपालिकाका सबै वडाका प्रतिनिधिहरुलाई घरेलु मदिरासमेतको मिश्रणबाट सेनिटाइजर तयार गर्ने तालिम दिएको थियो। ‘भाइरस सर्नबाट जोगाउनका लागि हामीले गरेको पहिलो काम सेनिटाइजर निर्माण तालिम थियो,’ उपकुलपति श्रेष्ठले भने, ‘अहिले अन्य संस्थाहरुले निर्माण गरेका सेनिटाइजरको परीक्षण गरेर प्रयोग गर्न मिल्ने/नमिल्नेबारे काम गरिरहेका छौं।’

नाष्टले आफ्ना १३ वटा विषयगत विज्ञ समितिमध्ये अहिले कोभिड रोकथाम तथा नियन्त्रणमा सन्दर्भमा मेडिकल र बायो टेक्नोलोजी समितिलाई सक्रिय बनाएको छ। डा. अशोकरत्न बज्राचार्य संयोजक रहेको मेडिकल समिति र डा. मुकुन्द रञ्जित संयोजक रहेको बायो टेक्नोलोजी समितिले काम थालिसकेका छन्। यी समितिहरुले सम्बन्धित संस्थासँग छलफल तथा परामर्श गरिरहेको उपकुलपति श्रेष्ठले जानकारी दिए। ती विषयक समितिले नियमित छलफल तथा आवश्यकताबारे अध्ययन गरिरहेका छन्।

यस्तै, युवा वैज्ञानिक फोरमलाई पनि नाष्टले सक्रिय बनाएको छ। उक्त फोरममा आबद्ध वैज्ञानिकहरुले कोरोनासम्बन्धी नेपालमा चाल्नुपर्ने कदमबारे पनि अध्ययन गरिरहेका छन्।

यस्तै, बायो सेफ्टी लेभल (बीएसएल) ल्याबलाई अन्य क्षेत्रमा बढाउने र र त्यसको आवश्यकताबारे अध्ययन भइरहेको उनले बताए। उपकुलपति श्रेष्ठका अनुसार साधारण पीसीआर मात्रै रहको नाष्टसँग रियल टाइम पीसीआर छैन। आरटी पीसीआर चलाउन सक्‍ने जनशक्ति भने ४ जना रहेको छ।

शिक्षा मन्त्रालयद्वारा गठित अनुसन्धान समितिको संयोजकसमेत रहेका उपकुलपति श्रेष्ठले अहिले नेपालमा कोरोना सम्बन्धीको वैज्ञानिक अनुसन्धानका लागि गरिने विधि, मापदण्ड र प्रोटोकल बनाउने तयारीमा नाष्ट रहेको बताए। नाष्टले नेतृत्व गरिरहेको उक्त समितिमा त्रिभुवन विश्वविद्यालयका विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन डा. रामप्रसाद खतिवडा, काठमाडौं विश्वविद्यालयका जनार्द्धन शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका सञ्जय पोखरेल र पोखरा विश्वविद्यालयका विष्णुराज तिवारी,कृषि तथा वन विश्‍वविद्यालयका शारदा थपलिया,रिकास्टका कार्यकारी निर्देशक रामेश्‍वर अधिकारी छन्।

'वैज्ञानिक तथ्य र अनुसन्धान गरेर नेपालमा कोरोना संक्रमणको फैलँदो ‘ट्रेन्ड’बारे कसरी अध्ययन गर्नेमा कार्ययोजना तयारी गरिरहेका छौं,' उपकुलपति श्रेष्ठले भने, 'यस्तै, कोरोनाको ट्रेन्ड एनालाइसिस र मोडलिङ गरेर प्रक्षेपणको तयारी भइरहेको छ।'

'फोकल प्वाइन्ट आवश्यक'

उपकुलपति श्रेष्ठले कोभिड-१९का सन्दर्भमा तथ्यांकहरु एकीकृत गर्न एउटा फोकल प्वाइन्टको आवश्यकता रहेको औंल्याएका छन्। उक्त संस्थाले अनुसन्धानको नेतृत्व लिएर अन्य संस्थाहरुलाई परीक्षण तथा अनुसन्धानमा लगाउन सक्‍ने उनले बताए ।

'राम्रो समन्वय कुन संस्थाले के गर्ने भन्ने विषयमा अहिलेसम्म स्पष्ट भएको छैन,' उनले भने। राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन ज्ञान केन्द्रको स्थापना भएमा विभिन्‍न संघसंस्थाहरुको तथ्यांक संश्लेषण भएर कार्ययोजनामा सहज हुने बताए ।

प्रकाशित : चैत्र २९, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?