ई–सेवाको रिफर एन्ड अर्न अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — भुक्तानी सेवाप्रदायक ई–सेवाले बुधबार रिफर एन्ड अर्न अफर सार्वजनिक गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउन घोषणा गरेकाले घरदेखि बाहिर ननिस्कने अवस्थालाई ध्यानमा राखेर कम्पनीले उक्त योजना ल्याएको हो ।

योजनामा ई–सेवा चलाउन सिकाएबापत प्रतिग्राहक ८० रुपैयाँसम्म प्राप्त गर्न सकिनेछ । परिवार, साथीभाइ तथा आफ्नो मोबाइलमा रहेका सम्पर्क नम्बरलाई ई–सेवा चलाउन सिकाउन सकिन्छ । योजनाअनुसार ई–सेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । नगदरहित डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने अभियानका साथ ई–सेवाले योजना सार्वजनिक गरेको ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले जानकारी दिए ।


ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल तथा कलेजलगायतको शुल्क भुक्तानी गर्न सकिन्छ ।


प्रकाशित : चैत्र १९, २०७६ १८:०४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

लकडाउनमा तरकारी खोज्‍न घोलमा 

मधु शाही

बाँके — लकडाउनका कारण यहाँका बासिन्दाको दिनचर्या ठप्प छ । मन परेको खानेकुरा खरिद गर्ने अवस्था छैन । अधिकांशका भान्छामा हरियो तरकारी छैन । कतिपयले सुकाएका साग, मूलाका चाना, गुन्द्रुक उमालेर खान थालेका छन् ।

दिउँसो एक निद्रा पूरा गरेपछि महिलाहरू हुल बाँधेर गाउँघर पस्छन् । नदी, खोला, नाला र बारीमा उम्रिएका माटे साग, बेथे र कर्कलो टिप्न थाल्छन् । कोहलपुर नगरपालिका–१२ की रावती थारू पहिले कर्कलो सुँगुरलाई फाँडो पकाएर खुवाउँथिन् । लकडाउनमा अहिले उनको भान्सामा त्यही कर्कलो पाक्न थालेको छ । बजारमा हरियो साग पाइन छाडेकाले उनी आफैं झोला बोकेर खोलानालामा जलुको टिप्न जान्छिन् । ‘हरियो तरकारी देख्न मुस्किल भो’, उनले भनिन्, ‘फुर्सद पनि छ, तरकारीको जोह गर्न गाउँ चहार्छु ।’

छिमेकी चुन्ना केसी लकडाउनयता तरकारी किन्न बजार गएकी छैनन् । घरवरिपरि वास्ता नगरिएका साग टिपेर धानेकी छन् । बारीमा माटे साग भएर पनि बजार धाइरहेकाहरु देख्दा उनी खिन्न हुन्छिन् । ‘त्यही साग किन्नेर खान्छन् तर बारीमा भएको टिप्दैनन्,’ उनले भनिन्, ‘बारीमा खोजेर तरकारी ल्याउने गर्छु ।’

दुई दिनअघि उनका छिमेकीले करेसा बारीको सिस्नो काटेर फाले । उनले त्यही सिस्नोका मुना टिपेर बेलुकाको तरकारी बनाइन् । ‘अनिकालमा घर वरिपरिकै विकल्प खोज्नु राम्रो,’ उनले भनिन् ।

प्रकाशित : चैत्र १९, २०७६ १८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×