कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

टेलिकम कम्पनीले दुई सयसम्म ब्यालेन्स सापटी दिन पाउने

सस्तो डाटा प्याक ल्याउन प्राधिकरणको पूर्व स्वीकृति नचाहिने
विजय तिमल्सिना

काठमाडौँ — दूरसञ्चार कम्पनीहरुले आफ्ना ग्राहकलाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने भएका छन् । हाल नेपाल टेलिकम र एनसेलले आफ्ना ग्राहकलाई बढीमा २० रुपैयाँसम्म ब्यालेन्स सापटी दिंदै आएका छन् ।

टेलिकम कम्पनीले दुई सयसम्म ब्यालेन्स सापटी दिन पाउने

नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तालाई सहज बनाउन यो सापटीको सीमा बढाउन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।

प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले कुनै थप शुल्क वा ब्याज लिन नपाउने गरी दूरसञ्चार कम्पनीहरुले उपभोक्तालाई २ सय रुपैयाँसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेको अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

उनका अनुसार अनलाइनमार्फत सञ्चालक समितिको बैठक बसी बैठकको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार कम्पनीहरुलाई पत्र पठाइसकिएको छ ।

‘२ सयसम्म ब्यालेन्स सापटी दिन पाउने व्यवस्था गरेका छौं,’ उनले भने, ‘कम्पनीहरुले आफ्नो ग्राहकप्रति जिम्मेवारी देखाउँदै यो प्रावधान अन्तर्गत रहेर प्याकेज घोषणा गर्न सक्छन् ।’ बढीमा एक महिनासम्मको लागि यस्तो व्यवस्था गरिएको उनले बताए ।

यस्तै, दूरसञ्चार कम्पनीहरुले प्रयोगकर्ताको लागि अहिले चल्तीमा रहेका दरभन्दा कम हुने गरी विभिन्न डाटा प्याकेज घोषणा गर्न सक्ने खनालले जानकारी दिए । यसको लागि प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था सञ्चालक समितिले गरेको छ ।

यसअघि सेवा प्रदायकहरुले कुनै डाटा वा भ्वाइस प्याक बनाउनु अघि प्राधिकरणबाट स्वीकृत गर्नुपर्ने व्यवस्था थियो ।

‘कोरोना संक्रमण रोक्न उपभोक्ताहरु घरघरमा बसेको बेला सहजताको लागि एक महिनासम्म सस्तो डाटा प्याकेजहरु घोषणा गर्दा प्राधिकरणको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको हो,’ अध्यक्ष खनालले भने ।

यो बेलामा दूरसञ्चार कम्पनीहरुले ग्राहकलाई अतिरिक्त भार नपर्ने र सस्तो दरमा सेवा उपलब्ध गराउने गरी अन्य डाटा तथा भ्वाइस प्याकहरु उपलब्ध गराउन पनि प्राधिकरणको पूर्व स्वीकृति आवश्यक नपर्ने उनले बताए ।

यो अवस्था लामो समयसम्म रहे अन्य उपाय अवलम्बन गर्न पनि प्राधिकरणले छलफल गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित : चैत्र ११, २०७६ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?