कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फाइभजी : के हो कोर र र्‍यान ? 

नेपालमा पनि केही वर्षभित्रै फाइभजी प्रविधिको परीक्षण गर्ने योजना छ । हाल सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभर फोरजी विस्तार गरिरहेको छ ।
हेलो शुक्रबार

गत साता कोर र र्‍यान शब्द विश्वमै चर्चित बन्यो । टेलिकम क्षेत्रमा यो शब्द वर्षौदेखि प्रचलनमा रहेको भए पनि गत साता भने यसले व्यापकता पाएको हो । हुवावेलाई फाइभजी विस्तारमा सहभागी गराउने वा नगराउने भन्ने बिषयमा बेलायतले एउटा निर्णय गरेपछि यी दुई वटा शब्द चर्चित बनेका हुन् ।

फाइभजी : के हो कोर र र्‍यान ? 

खासमा गत साता बेलायती सरकारले हुवावेको फाइभी प्रविधिलाई शर्तसहित आफ्नो देशमा प्रयोग गर्न दिने निर्णय गर्‍यो । अमेरिकी दबाबबीच बेलायतले हुवावेको फाइभजी प्रविधि प्रयोग गर्ने निर्णय गरेको हो । बेलायतले हुवावेको कोर नेटवर्क प्रयोग नगर्ने तर रेडियो एक्सेस नेटवर्क (र्‍यान) मा मात्रै उक्त कम्पनीलाई आफ्नो देशमा काम गर्न दिने निर्णय गरेको हो । हुवावेले सूचना चोरी गरेको आरोपमा अमेरिकासहित अष्ट्रेलियाले उसको फाइभजी प्रविधि प्रयोग नगर्ने भनिरहेको र अरुलाई दबाब दिइरहेको बेला बेलायतले यस्तो शर्तसहितको निर्णय गरेको हो ।


हुवावेलाई र्‍यान नेटवर्क मात्रै दिने तर कोर नेटवर्कको काम गर्न नदिने बेलायती निर्णयपछि अमेरिकासहितका केही देशले विरोध गरिरहेका छन् । तर, हामी विरोधको बिषयमा भन्दा पनि कोर नेटवर्क र र्‍यान नेटवर्क के हो भन्ने बिषयमा चर्चा गरौं ।


कोर नेटवर्क

टेलिकम नेटवर्कमा कोरलाई मुटु वा मष्तिस्कको संज्ञा दिइन्छ । कोर नेटवर्कमार्फत् नै एउटा प्रयोगकर्ताले गरेको फोन वा चलाएको डाटा बहन्छ । साधारण भाषामा भन्दा कोर नेटवर्क टेलिकमको टावर–टावर जोड्ने र यी सबै टावरलाई मुख्य सर्भरमा जोड्ने नेटवर्क हो ।


कोर नेटवर्कले एउटा मोबाइल डिभाइसबाट भएको फोन कललाई अर्को टावरसँग जोडेर उक्त टावरसँग जोडिएको मोबाइल फोनसम्म पुर्‍याउँछ । यही प्रक्रियामार्फत् म्यासेज पनि जान्छ । प्रयोगकर्ताले मोबाइलमा डाटा प्रयोग गरे पनि कोर नेटवर्कमार्फत् एप वा वेबसाइटसँग कनेक्ट हुन्छ । कोर नेटवर्कको माध्यमबाट नै प्रयोगकर्ताको मोबाइलको बिल हिसाब हुन्छ । कोरमा प्रयोग हुने अधिकांश सामग्री राउटर र स्वीचहरू हुन् ।


र्‍यान नेटवर्क

रेडियो एक्सेस नेटवर्क (र्‍यान) भने टेलिफोनको टावर र एन्टेनासँग सम्बन्धित छ । र्‍यानको काम प्रयोगकर्तालाई टावरसम्म जोड्ने हो । टावरमार्फत प्रयोगकर्ता कोर नेटवर्कमा जोडिन्छन् । र्‍यान नेटवर्कले एउटा प्रयोगकर्ताको डिभाइसलाई उसको नजिकको टावरसम्म जोड्छ र कोर नेटवर्कसँग सम्बन्धित बनाउँछ । फेरि कोर नेटवर्कले उक्त डिभाइसलाई अर्को प्रयोगकर्ता भएको टावरसम्म लैजान्छ र फेरि र्‍यान नेटवर्कमार्फत अर्को प्रयोगकर्ताको डिभाइसम्म जोडिन्छ ।


बेलायतले हुवावेलाई र्‍यान नेटवर्कमा मात्रै सीमित गर्दा सूचना चोरी हुने डर कम हुने तर्क दिएको छ । कोर नेटवर्कको काम भने इरिक्सन, नोकिया, सामसङजस्ता अन्य टेलिकम सेवा प्रदायकहरूसँग गराउने बेलायतको चाहना छ ।


नेपालमा पनि केही वर्षभित्रै फाइभजी प्रविधिको परीक्षण गर्ने योजना छ । हाल सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभर फोरजी विस्तार गरिरहेको छ । यो विस्तारको लागि र्‍यान नेटवर्कको काम हङकङको कम्पनी सीसीएसआईले पाएको छ । उक्त कम्पनीले हार्डवेयरका सबै सामान भने हुवावेको प्रयोग गरिरहेको छ । यस्तै, कोर नेटवर्कको काम भने चिनियाँ कम्पनी जेडटीईले पाएको छ ।


फोरजी विस्तारको काम सकिएलगत्तै काठमाडौं र पोखरासहितका मुख्य सहरमा फाइभजी प्रविधिको परीक्षण गर्ने टेलिकमको योजना छ । र्‍यान नेटवर्कको जिम्मा पाएको सीसीएसआईले हुवावेको सहयोगमा यो प्रविधिको परीक्षण गर्नेछ । नेपालमा पहिलोपल्ट फोरजीको परीक्षण २०७३ पुसमा भएको थियो । नेपाल टेलिकमले काठमाडौं र पोखरामा परीक्षणको रुपमा यो सुविधा भित्र्याएको थियो ।

प्रकाशित : माघ २४, २०७६ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?