२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

‘सबै जिल्लामा फोरजी’

काठमाडौँ — नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा पुगेको दाबी गरेको छ । टेलिकमको १६औं वार्षिकोत्सवका अवसरमा बुधबार कम्पनीले सबै जिल्ला सदरमुकामका सीमित स्थानमा मात्रै फोरजी सेवा विस्तार गरिएको जानकारी दिएको छ । 

‘सबै जिल्लामा फोरजी’

एक वर्षभित्र फोरजी सेवा विस्तार गर्ने जिम्मेवारीसहित टेलिकमले गत वर्ष हङकङस्थित सीसीएसआई कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीले रेडियो एक्सेस नेटवर्क विस्तारको काम पाएको छ । करिब १७ अर्ब रुपैयाँ लागतको यो काम यही माघ मसान्तसम्म सक्ने भनिए पनि हाल जिल्ला सदरमुकाममा मात्रै जडान गरिएको टेलिकम स्रोतको भनाइ छ । रेडियो एक्सेस नेटवर्क (र्‍यान) ले प्रयोगकर्ताको फोनलाई टावरसम्म जोड्छ । कोर नेटवर्क विस्तारको जिम्मा भने चिनियाँ कम्पनी जेडटीईले पाएको थियो ।


सबै जिल्लाका सबै स्थानमा फोरजी विस्तारका लागि अझै केही समय लाग्नेछ । टेलिकमले करिब १९ अर्ब खर्चेर देशैभर फोरजी सेवा विस्तार थालेको हो । काम सकिएलगत्तै मुख्य सहरमा फाइभजी प्रविधि परीक्षण गर्ने टेलिकमको तयारी छ । टेलिकमका करिब ४ हजार २ सय वटा टावरमा फोरजी विस्तार गर्ने र थप ६४० वटा बीटीएस टावर स्थापना गर्ने लक्ष्य छ ।


टेलिकमले विस्तार गर्न लागेको फोरजीको औसत स्पिड १३० एमबीपीएस छ । यससँगै फोरजीसँग जोडिएका अन्य सेवा विस्तार गर्ने कम्पनीको योजना छ । ८ सय र १८ सय मेगाहर्ज ब्यान्डलाई एकीकृत गरिने टेलिकमले जनाएको छ । त्यसपछि कुनै एउटा ब्यान्ड मात्र सपोर्ट गर्ने मोबाइलमा पनि फोरजी सेवा प्रयोग गर्न सकिनेछ ।


०७३ पुस १३ मा टेलिकमले काठमाडौं उपत्यका र पोखराबाट फोरजी/एलटीई सेवा सुरु गरेको थियो । दुई ठाउँमा फोरजी सेवा सुरु गरी परीक्षणपछि अन्यत्र विस्तार गर्ने टेलिकमको योजना लामो समय रोकिएको थियो । समयमै फोरजी विस्तार गर्न नसक्दा टेलिकमले फोरजी उपभोक्ताका साथै आम्दानी पनि गुमाइरहेको छ । पछिल्लो समय टेलिकमको आम्दानी पनि घट्दो अवस्थामा छ ।

प्रकाशित : माघ २३, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?