नयाँ ग्रह फेला

(एजेन्सी)

वासिङ्टन डीसी — अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ का वैज्ञानिकले हाम्रो सौर्य मण्डलबाहिर झन्डै पृथ्वीको जत्रै आकारको नयाँ ग्रह पत्ता लगाएका छन् । सय प्रकाश वर्ष टाढा रहेको यो ग्रहको नाम ‘टीओआई ७०० डी’ दिइएको छ ।

नासाको प्लानेट–हन्टिङ टेलिस्कोप ‘टीईएसएस’ ले पत्ता लगाएको नयाँ ग्रहमा एउटा विशाल सागर अटाउन सक्ने वैज्ञानिकहरूको दाबी छ । यो ग्रह आफ्नो तार रहने योग्य क्षेत्रमा रहेको पाइएको छ । ग्रहले हाम्रो सूर्यको ४० प्रतिशत पिण्ड भएको एउटा रातो तारालाई परिक्रमा गरिरहेको छ ।


सौर्य मण्डलबाहिर रहने यो ‘एक्सोप्लानेट’ पृथ्वीको तुलनामा २० प्रतिशत ठूलो छ । यसले सूर्यबाट पृथ्वीले जतिकै करिब ८६ प्रतिशत प्रकाश शक्ति ग्रहण गर्न सक्छ । यो ग्रह नजिकै रहेको ताराको चारैतिर पानी तात्न सक्ने वातावरण छ । शोधकर्ताहरूले ग्रहको सतह र वातावरणीय तत्त्व जानकारी प्राप्त गर्न थप अनुसन्धान गरिरहेका छन् ।


शोधकर्ताले पृथ्वीबाहेकको यस ग्रहमा जीवनको सम्भावना देखेका छन् ।

प्रकाशित : पुस २४, २०७६ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

तीन लाइनमा पेट्रोलियम ‘सेस्मिक सर्भे’

ज्योति कटुवाल

(दैलेख) — पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा श्रीस्थान, नाभिस्थान, पादुकालगायत विभिन्न क्षेत्रमा तीन लाइनको सेस्मिक सर्भे गरिएको छ । १० लाइनमा सेस्मिक सर्भे भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण टोलीले जानकारी दिएको छ । 

अन्वेषणका लागि तीन वटा पूर्व–पश्चिम र सात वटा उत्तर–दक्षिण दिशामा सेस्मिक लाइन खनिएको थियो । त्यसमध्ये तीन लाइनको सर्भे सकिएको भूर्गभविद् डा. गणेशनाथ त्रिपाठीले बताए । ‘बाँकी सात लाइनमा माघसम्म सर्भे सम्पन्न गरिनेछ,’ उनले भने, ‘सेस्मिक सर्भेको मुख्य उद्देश्य जमिनमुनि सर्भे गरेको कुन एरियामा पेट्रोलियम पदार्थको भण्डार छ भन्ने पत्ता लगाउनु नै हो ।’ कोटिलादेखि पादुका स्थानसम्मलाई आधार मानेर झन्डै चार सय वर्गकिमि सर्भे गरिएको उनले जानकारी दिए ।

कुनै पनि उत्खननका लागि सेस्मिक सर्भेलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यो निकै खर्चिलो हुने र लामो समय लाग्ने त्रिपाठीले बताए । मुख्यतया दुल्लु र नारायण नगरपालिकासहित भैरवी, महाबु र चामुण्डा–बिन्द्रासैनी, डुंगेश्वर, नौमुले तथा भगवतीमाईका केही भूभाग समेटेर १० वटा सेस्मिक लाइनमा सर्भे गरिरहेको टोलीले जनाएको छ । दुई सय किलोमिटर लाइन सर्भे गर्न चार सय वर्गकिमि भूभाग समेटिएको भूर्गभविद् डा. त्रिपाठीले बताए ।

अन्वेषणका लागि पेट्रोलियम जियोलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओकेमिकल स्याम्पलिङ सर्भे गरिनेछ । यसमा सेस्मिक सर्भेलाई सबैभन्दा बढी महत्त्वपूर्ण मानिएको छ । भौगर्भिक संरचना पहिचान गर्ने कार्यको ४० प्रतिशत काम सकिएको उनले जानकारी दिए । ‘अहिले चिनियाँ प्राविधिक टोलीले संकलन गरेको स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा आएको छ,’ त्रिपाठीले भने । प्राविधिक टोली चीन फर्केपछि उनीहरूले दिएको रिपोर्टअनुसार अन्य काम हुने उनी बताउँछन् ।

अन्तिम रिपोर्टमा अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भए त्यसको आर्थिक विश्लेषण गरिने टोलीले जनाएको छ ।

प्रकाशित : पुस २४, २०७६ ०७:४९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×