बिहीबार खण्डग्रास सूर्यग्रहण

अतुल मिश्र

काठमाडौँ — बिहीबार सूर्योदयपछि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहणका क्रममा काठमाडौं, महेन्द्रनगर र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ढाकेको देख्न सकिनेछ ।

काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ । ‘काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने ।

छिमेकी मुलुक भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट यसलाई बलयाकार सूर्यग्रहण (एनुलर) का रूपमा देख्न सकिन्छ । भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिनेछ । बलयाकार पथ साउदी अरबबाट सुरु भएर कतार, ओमान, संयुक्त अरब इमिरेट्स, भारतको दक्षिणी भाग, श्रीलंकाको उत्तरी भाग, मलेसिया, सिंगापुर, सुमात्रा, बोर्नियो हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त हुने प्लानेटोरियमले जनाएको छ ।

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ । यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ । सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ । विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ ।

बर्सेनि दुईदेखि पाँचपटकसम्म सूर्यग्रहण लाग्छ । पछिल्लो समय सन् १९३५ मा पाँचपटक सूर्यग्रहण लागेको थियो । अब सन् २२०६ को वर्षमात्र यो प्रक्रिया दोहोरिनेछ । सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञले चेतावनी दिएका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राडा डीएन साहका अनुसार ग्रहण लागेका बेला सूर्यलाई हेरिरहँदा ‘फोटो रेटिनाइटिस’ अर्थात् आँखाको पर्दामा नकारात्मक प्रभाव पर्छ ।

प्रकाशित : पुस ८, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?