कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टिमुरमा अनुसन्धान गर्ने नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

गोविन्द पोखरेल

काठमाडौँ — टिमुरमा अनुसन्धान गर्दै आएका एक जना नेपाली वैज्ञानिकले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । युनेस्को अन्तर्गतको एकेडेमी अफ साइन्सेस फर डेभ्लोपिङ वर्ल्डले प्रत्येक वर्ष विकासोन्मुख मुलुकका वैज्ञानिकहरुलाई दिने ५ हजार डलर राशीको अत्ताहुर रहमान पुरस्कार त्रिभुवन विश्वविद्यालय केन्द्रीय रसायनशास्त्र विभागका उपप्राध्यापक डा अच्युत अधिकारीले पाएका हुन् ।

टिमुरमा अनुसन्धान गर्ने नेपाली वैज्ञानिकलाई अन्तर्राष्ट्रिय पुरस्कार

अधिकारीले विशेष गरी आयुर्वेदमा प्रयोग भएका जटिबुटीहरुबाट औषधिजन्य रसायन निकाल्ने अनुसन्धान गर्दै आइरहेका छन् । उनले नेपाली टिमुरमा विगत ६ वर्षदेखि अनुसन्धान गर्दै आएका छन् । टिमुरबाट मधुमेह, उच्च रक्तचाप, कलेजोको रोग, दाँत खिइने तथा दाँत सम्बन्धि र झाडापखलामामा प्रयोग हुने ‘टम्बुलिन’ नामक रसायन बनाउन सकिने उनले पत्ता लगाएका हुन् ।

इकन्तिपुरसँगको कुराकानीमा अधिकारले भने, ‘नेपाली टिमुरको औषधीय गुणहरु हुन्छ भनेर आयुर्वेदमा उल्लेख छ । मैले गरेको अनुसन्धान टिमुरमा कुन रसायन हुन्छ जसले रोगहरु निको पार्न मद्दत गर्छ भन्ने हो । ’ उनको अनुसन्धानले नेपाली टिमुरमा धेरै ‘टम्बुलिन’ पाइन्छ भन्ने प्रमाणित गरेकाे छ। उनको अनुसन्धानको निष्कर्शलाई आधार मानेर फ्रान्सको एउटा विश्वविद्यालयमा सुँगुरको मुटुको रक्ताचाप सम्बन्धिको अनुसन्धान गरेको थियो । यस्तै, पाकिस्तानमा मधुमेह रोग सम्बन्धि पनि अध्ययन भइरहेको अनुसन्धानकर्ता अधिकारीले बताए ।

अहिले उनले टिमुरमा हुने कुन तत्वका कारण लेक लाग्नबाट जोगिने भन्ने बारे अनुसन्धान गरिरहेका छन् । उनले भने,‘टिमुरले लेक लाग्नबाट जोगाउँछ । अहिले अन्य वैज्ञानिकहरुसँग मिलेर टिमुरमा त्यस्तो कुन रसायन हुन्छ जसका कारण लेक लाग्नबाट जेगिन्छ भन्नेबारे अनुसन्धान गर्दैछु ।’

अधिकारीले अहिले अदुवाबाट तेल निकाल्ने प्रविधिमा अनुसन्धान गरिरहेका छन् । विश्वको ठूलो अदुवा निर्यातकर्ता मुलुक नेपाल भएपनि नेपाली अदुवाले बजार भाउ नपाइरहेको बेला अदुवाबाट तेल निकालेर अन्य मुलुकहरुमा निर्यात गर्न सकिने उनले बताए । उनले भने, ‘नेपालमा उत्पादन भएको अदुवा भारतमा मात्रै निकासी हुन्छ । भारतमा अदुवा नबिकेर त्यतिकै कुहिन्छ । अब अदुवाबाट तेल निकाल्न सकिन्छ । सय किलो अदुवाबाट ३ किलो तेल आउँछ । ३ किलो अदुवाको तेलको मूल्य सय किलो अदुवाकाेभन्दा धेरै मूल्य हुन्छ । नेपाली अदुवालाई विश्वमा प्रवर्द्धन गर्न सकिन्छ ।’ हाल उनले विभिन्न जिल्लाको अदुवाको तेल र केमिकल प्रोफाइलिङ गरिरहेका छन् ।

अधिकारीलाई नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट)ले यस वर्षको उत्कृष्ट युवा वैज्ञानिक पुरस्कारबाट सम्मान गरेको थियो ।

प्रकाशित : पुस ५, २०७६ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?