बेलायतमा फेसबुक र इन्स्टाग्राममा समस्या

कान्तिपुर संवाददाता

काठमाडौँ — बेलायतमा चर्चित सामाजिक सञ्जाल फेसबुक र फोटो सेयरिङ एप इन्स्टाग्राम डाउन भएका छन् ।

ZenTravel

हजारौं प्रयोगकर्ताहरुले आफूले यी सञ्जालका फिडहरु रिफ्रेस नभइरहेको र फोटो तथा भिडियो समेत अपलोड नभइरहेको बताएका छन्।

डाउन डिटेक्टरका अनुसार यो समस्या बेलायतभरका प्रयोगकर्तामाझ बिहीबार दिउँसोदेखि नै समस्या भइरहेको बेलायती सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

७४ प्रतिशत प्रयोगकर्ताहरुका अनुसार उनीहरुलाई न्यूजफिडमा समस्या भइरहेको छ भने १४ प्रतिशत प्रयोगकर्तालाई स्टोरी अपलोडिङमा समस्या आइरहेको छ।

१० प्रतिशत प्रयोगकर्ता वेबसाइटमा काम नगरेको समस्या देखाएका छन्। यद्यपि यी एप्लिकेसन किन डाउन भएको बारे आधिकारिक जानकारी आइसकेको छैन्।

यसको असर बेलुकापखदेखि नेपालमा समेत देखिएको छ ।


प्रकाशित : मंसिर १२, २०७६ २१:४४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डुंगाको भरमा सीमा वारपार

मधु शाही

बाँके — रानी मौर्यलाई छोरीको बिहे गरिदिने चटारो छ । बुधबार बिहान घरधन्दा सकेर उनी झोला बोकी किनमेलका लागि बजार लागिन् । नरैनापुर गाउँपालिका–६, मटहिया बस्ने उनलाई नेपालगन्जभन्दा छिटो र छरितो सीमामै रहेको भारतमा जान लाग्छ । सजिलो बाटो जान नाकै डुबाउने गहिरो राप्ती नदी पार गर्न चुनौती छ । तर, त्यहाँ डुंगाको सहायताले उनी सहजै भारत आउजाउ गर्न सक्छिन् ।

बुधबार दिनभरि किनमेल गरेर उनले घर फर्किंदा झोलाभरि बिहेमा छोरीलाई लगाइदिने चुरा, सिंगारका सामग्री र पहिरन खरिद गरेकी थिइन् । ‘हामी चुडिया खरिदन पनि इन्डिया नै जान्छौं,’ उनले आफ्नै लबजमा भनिन्, ‘डुंगा चढ्के ।’

नेपालगन्ज उपमहानगरपालिकादेखि नरैनापुर गाउँपालिका ३० किलोमिटरको दूरीमा छ । हुलाकी सडकको निर्माणसँगै यहाँका स्थानीयलाई नेपालगन्ज आउन झन्डै एक घन्टा लाग्छ । नरैनापुर मटहिया र भारतको सीमामा पर्ने जमुनिहा नजिक छ । दुवै छिमेकी देशका नागरिक यही डुंगाको सहारामा वारपार गर्दै आएका छन् । अझ भनौ यी दुई मुलुकको मित्रता जोड्ने पुल यही डुंगा बनेको छ । माइती भारतमै भएकी रानी हप्तामा दुई–चार दिन आउने जाने गर्छिन् ।

हिउँदभर बर्खाभर उर्लंदो नदी काटेर माइत जाने सम्भावना थिएन । हिउँद लागेपछि उनी डुंगाकै भरमा सीमापारि आउन जान सजिलो भएको सुनाइन् । ६० वर्षे तिरथराम यादवसीमापारि बिहे गरेकी बहिनी भेट्न बधुबार त्यसतर्फ जाँदै थिए । झन्डै डेढ कोष दूरीको नदी पार गर्न उनी डुंगाको सहारा लिन्छन् । यति मात्रै होइन, अरु बेला भैंसी चराउनसमेत डुंगाको प्रयोग गर्ने उनले बताए । नदीपारि रहेको डेढ कट्ठा बगरे जमिन छ । त्यहीं गाईबस्तु चराउने र केही खेती गर्न उनी दैनिक भैसीसहित नदी वारपार गर्ने गरेको सुनाए । भैंसी, मोटरसाइकल, मान्छे सबै बोक्छ डुंगाले ।

बाँकेको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका भारतको सीमामा पर्छन् । जहाँ राप्ती नदीको कटान भएको क्षेत्र छ, त्यहाँको जनजीवन अझै पनि डुंगाकै भरमा चल्दै आएको छ । नातादेखि व्यापारसम्मको सम्बन्ध दुवै छिमेकी देशमा छ । त्यसैले उनीहरू सजिलो र छरितो हुने बाटो रोज्ने गर्छन् । डुंगा सञ्चालक ठेकेदार बाउरेली मुकेरीको राप्ती नदीसँग बेग्लै कथा छ । उनी बगिरहेको नदी देखाउँदै भन्छन्, ‘यहि हमार खेत छ ।’ सात वर्षअघि मुकेरीले खेती गर्ने जमिनमा अहिले राप्ती नदी बग्छ । राम्रो धान हुने खेत नदी बनेपछि उनले आय आर्जनको बाटो पत्ता लगाउन विवश भए । झन्डै चार बिघा जमिनमा नदी बग्न थालेपछि उनले त्यही नदीमा आम्दानीको स्रोत जुटाउन थाले । डुंगा ठेक्कामा लिएर एक वर्षमा १२ लाख रुपैयाँमा ठेक्का लिएको उनले सुनाए । दैनिक दुई हजारभन्दा बढी मान्छेको आउजाउ हुने हुँदा आम्दानी सन्तोषजनक छ । वर्षैपिच्छे नदी कटानले बचेको जमिन बगर बनाउँदै गरेको उनले प्रत्यक्ष देख्दै आएका छन् ।

डुंगा चालक पृथ्वीराज गोडिया बिहान ६ बजेदेखि ५ बजेसम्म नदीमै बस्छन् । ६ वर्षदेखि जागिर खाँदै आएका उनी दैनिक ३ सय रुपैयाँ ज्याला लिन्छन् । सुरुका दिनमा हाते डुंगा चलाउने उनले केही महिनायता मोटरद्वारा नदी पार गर्न थालेको बताए । ‘हातले चलाउँदा कहिलेकाहीं खस्ने खतरा हुन्थ्यो,’ उनले भने, ‘अहिले त्यो खतरा कम छ ।’ एक जना यात्रुको ३० रुपैयाँ नेपाली शुल्क लिने गरेको उनले सुनाए । समिन मुकेरीले डुंगा डुवानीकै भरमा नरैनापुरमा किराना पसल धानेका छन् । उनी यही डुंगाको भरमा व्यापार गर्छन् । नेपालगन्ज जाँदा र आउँदा समयको खर्चसँगै महँगो पर्छ । त्यसैले उनी डुंगा तरेरै भारत किनमेल गर्ने गरेको सुनाए । उनका अनुसार भाडा र सामान गरी नेपालगन्जको तुलनामा १० प्रतिशतले सस्तो पर्न आउँछ । त्यस्तै, भारतदेखि पनि डुंगा तरेरै नेपाल आउनेको संख्या उत्तिकै बढी छ ।

बिहेबारीदेखि ऋण लेनदेनसम्मको सम्बन्ध सीमा वारिपारि चल्छ । आधी बाटो मोटरसाइकलमा आउने र नदीको बीच भागमा डुंगाकै सहारामा मोटसाइकल सीमा पार गर्ने यहाँको दैनिकी छ । नेपालीसँग ऋण लेनदेन मिलाउन भारतबाट आएका जलन्धर यादव डुंगाकै साथ लिए । मोटरसाइकलमा आएका उनी नदीपार गर्न डुंगामा चढे । ‘डुंगामा मोटरसाइकल राखेर सीमापारि आएको पहिलो अनुभव हो,’ उनले भने । त्यस्तै, ३३ वर्षे रामकुमार यादव दैनिक ३० रुपैयाँ तिरेर घाँस काट्न सधैं नदीपारि जान्छन् । नदीपारि उनको एक बिघा जमिन छ । त्यसको रेखदेख गर्नुका साथै भैंसीलाई घाँस काटेर ल्याउन उनलाई डुंगा चढेर जानुपर्ने बाध्यता छ । ‘नजाऊँ खेतीपाती नदीपारि छ, जाऊँ दिनहुँ पैसा तिर्नु पर्छ,’ उनले भने, ‘नदीले न यता न उताको बनायो हजुर ।’

प्रकाशित : मंसिर १२, २०७६ २१:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×