भारतीय बजार खोज्दै हुवावे

एजेन्सी

नयाँदिल्ली — अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई ‘५-जी’ उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी हुवावेले भारतमा आक्रामक बजार विस्तारमा सक्रिय देखिएको छ । 

भारतीय बजार खोज्दै हुवावे

‘केही देशले हुवावेलाई खेदिसकेका छन्,’ ‘अब्जर्भर रिसर्च फाउन्डेसन’ का प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, ‘त्यसैले भारतसँगको सम्भावित सम्झौता ५-जी विस्तारका लागि हुवावेलाई विशेष महत्त्वको हुन सक्छ ।’ हुवावे तत्कालका लागि सहज परिस्थितिमा भए पनि उसले बजारका लागि नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने सुकुमारको भनाइ छ । उनले भारत हुवावेका लागि ठूलो बजार रहको बताउँछन् ।


पछिल्लो समय अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको हुवावेमाथि अन्य देशले पनि प्रतिबन्ध लगाउनेबारे सोचिरहेको जनाएका छन् । चीनले हुवावेका उपकरणको सहयोगमा जासुसी गर्ने गरेको अमेरिकी आरोप छ । अमेरिकी आरोपको हुवावेले भने खण्डन गर्दै आएको छ ।


मोबाइल फोन प्रयोगकर्ताका हिसाबले भारतीय बजार दोस्रो स्थानमा छ । त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो । अमेरिकाले भारत तथा आफ्ना साझेदार मुलुकलाई हुवावेका उपकरण जडान नगर्न आग्रह गर्दै आएको छ । हुवावेसँग व्यापार सम्झौता गरे प्रतिबन्धको सामना गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिँदै आएका छन् ।


अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले आफ्नो भारत भ्रमणका क्रममा ‘भारत अमेरिकाको भूराजनीतिक साझेदार भएकाले आफूलाई सुरक्षा खतरामा पार्ने जोखिम नमोल्ने लागेको’ बताएका थिए । तर भारतस्थित हुवावे कम्पनीका प्रमुख जे चेनले आफ्ना उत्पादनमा कुनै खतरा नभएको लिखित प्रत्याभूति भारत सरकारलाई दिन हुवावे तयार रहेको बताएका छन् ।


‘अमेरिकाले भारत सरकारलाई प्रभावित पार्न खोजेको हामीले सञ्चारमाध्यममा पढेका छौं । तर मलाई लाग्छ हामीले त्यसविरुद्ध कदम चाल्न सक्छौं र हामीले गर्न सक्ने कोसिस गर्छौं,’ उनले भने । बीबीसीका अनुसार अमेरिकाले हुवावेमाथि लगाएका आरोपबारे कुनै टिप्पणी नगरेको भारतले हुवावेलाई आगामी ‘५-जी’ स्पक्ट्रम परीक्षणमा सहभागी हुन निम्तो दिएको छ । यद्यपि, त्यसको मिति भने तय भइसकेको छैन ।


हुवावेलाई ‘५-जी’ नेटवर्क स्थापनाको प्रक्रियामा सहभागी नगराउँदा भारतलाई नकारात्मक असर पर्न सक्ने सुकुमारको भनाइ छ । ‘५-जी आरम्भ गर्न पाँच कम्पनीसँग मात्र पूर्वाधार छ । त्यसमाथि हुवावेको पूर्वाधार नोकिया र एरिक्सनजस्ता पश्चिमा देशका कम्पनीको तुलनामा निकै सस्तो छ,’ सुकुमार भन्छन्, ‘भारतको दूरसञ्चार कम्पनीे संघर्ष गरिरहेको छ । त्यस कारण सस्तो दरमा सेवा प्रदान गर्न पनि हुवावेसँग साझेदारी गर्नु निकै आकर्षक छ ।’


चेनले इकोनमिक टाइम्स पत्रिकालाई बताए छन्, ‘हुवावे हाल भारतको डिजिटल इकोसिस्टमको महत्त्वपूर्ण अंग भइसकेको छ र यो चरणमा बाहिर निकाल्दा त्यो पूर्णत:भत्किने जोखिम उत्तिकै छ ।’ अखबारले उनलाई उद्धृत गर्दै जनाएको छ, ‘त्यसले आर्थिक हानि मात्र होइन, प्रविधि विकासमा पनि नराम्रो असर पार्ने निश्चित छ ।’


प्रकाशित : कार्तिक २, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?