फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब

एजेन्सी

भियना (अस्ट्रिया) — युरोपेली संघको सर्वोच्च अदालतले एउटा ऐतिहासिक फैसला गर्दै फेसबुकलगायतका सामाजिक सञ्जाल र वेबसाइटहरूलाई राखिएका आपत्तिजनक पोस्ट हटाउन निर्देशन दिएको छ ।

फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब

यो निर्देशनपछि फेसबुक लगायतका सामाजिक सञ्जालले विश्वभरका आफ्ना प्रयोगकर्तालाई गैरकानुनी पोस्ट हटाउने आग्रह गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । सञ्जालहरूले आपत्तिजनक सामग्रीहरूका उदाहरण खोज्न सक्छ ।


तर, फेसबुकलगायतका सामाजिक सञ्जालहरू भने अवैध पोस्ट हटाउनुको साटो त्यसबारे रिपोर्ट गर्ने सकिने प्रावधानसहितको अदालती आदेशको प्रतीक्षामा छन् ।


बीबीसीका अनुसार एक विशेषज्ञले अदालतको पछिल्लो निर्णयको प्रभाव विश्वव्यापी रूपमा पर्न सक्ने बताएका छन् । ती विशेषज्ञले भनेका छन्, ‘अदालतले एउटा महत्त्वपूर्ण फैसला सुनाएको छ, यसको प्रभाव विश्वभरि पर्न सक्छ ।’ फेसबुकले भने अदालतको निर्णयले ‘अभिव्यक्ति स्वतन्त्रता’ माथि आलोचनात्मक प्रश्न तेर्स्याएको प्रतिक्रिया दिएको छ ।


अस्ट्रियाली राजनीतिज्ञ इभा ग्लविस्चिङ–पिसिसेकबारे फेसबुकमा पोस्ट गरिएको अमर्यादित टिप्पणीपछि युरोपेली युनियनको अदालतबाट पछिल्लो फैसला आएको हो । इभाले आफूमाथि गरिएको टिप्पणीले व्यक्तिगत प्रतिष्ठामै आँच पुगेको जनाउँदै मुद्दा दायर गरेका थिए । त्यसको फैसलामा भनिएको छ, ‘आपत्तिजनक टिप्पणीले व्यक्तिको प्रतिष्ठामा आँच पुगेको देखिन्छ । यस्ता गतिविधि रोक्न यो फैसला गरिएको हो ।’


यसो त, युरोपेली संघको कानुनमा फेसबुक र अन्य सामाजिक सञ्जालहरूको उपयोगकर्ताहरूले गर्ने पोस्टलाई कुनै व्यक्तिले आपत्ति नजनाएसम्म अवैध सामग्री मानिएको छैन । आपत्ति जनाएको सामग्रीहरूलाई जतिसक्दो चाँडो हटाएको अवस्थामा पनि टिप्पणीकर्ता कानुनको दायराबाट बच्न सक्छन् ।


अदालतको आदेशपछि युरोपेली संघले सामाजिक सञ्जालमा रहेका सबै सामग्रीको निगरानी गर्ने वा गैरकानुनी टिप्पणीलाई मात्रै हेर्ने भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन । अस्ट्रियाको सर्वोच्च अदालतले युरोपेली सर्वोच्च अदालतलाई यसबारे स्पष्ट पार्न आग्रह गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?