कान्तिपुरकर्मीलाई आईसीटी अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौं — लामो समयदेखि सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको लिभिङ विथ आईसीटीले शनिबार विभिन्न १० विधामा अवार्ड वितरण गरेको छ  । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ नारासहित भएको अवार्ड कार्यक्रममा विभिन्न व्यक्ति र संस्थाहरूलाई सम्मान गरिएको हो  ।

कार्यक्रममा कान्तिपुरकर्मी विजय तिमल्सिनाले मिडिया पर्सन आईसीटी अवार्ड प्राप्त गरे । यस्तै पायोनियर आईसीटी अवार्ड महावीर पुन, नेपाली डायस्पोरा आईसीटी अवार्ड समीर मास्के, आन्टरप्रेनियर आईसीटी अवार्ड अमित अग्रवालले प्राप्त गरे ।

यस्तै डिजिटल गभर्नेन्स आईसीटी अवार्ड लोकसेवा आयोग, डिजिटल एजुकेसन आईसीटी अवार्ड नेपाल खुला विश्वविद्यालय, राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड रक्तदान र पब्लिक च्वाइस आईसीटी अवार्ड किताब यात्रा प्रालिलाई प्रदान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अवार्ड वितरण गरेका थिए ।

प्रकाशित : श्रावण ३२, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्

गंगटो हैन कमिलोजस्तै बनौँ : लालबाबू

रासस

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गंगटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेकपा बागलुङले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गंगटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । 

“गंगटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने,“अब कार्यकर्ता गंगटो हैन कमिलो बन्न सिकौँ ।”

सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे । उनले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गरे ।

सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताए । उनले सरकार विरोधी तत्वहरु आफैँ निरुत्साहित भएर जानेसमेत दाबी गरे ।

अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र नभएर सबै कम्युनिष्टको भएको बताँउदै मन्त्री पण्डितले सानातिना कार्यमा नअल्झिन कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रकाशित : श्रावण ३२, २०७६ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्