भ्यागुता अध्ययनका लागि पहिलो पटक नागरिक वैज्ञानिक अभियान

गोविन्द पोखरेल

काठमाडौँ — भ्यागुता प्रजातिको पहिचान,अध्ययन र संरक्षणका लागि पहिलो पटक ‘नागरिक वैज्ञानिक’ अवधारणमा आधरित अभियान सुरु गरिएको छ । भ्यागुताको अनुसन्धान, संरक्षण,सम्वर्द्धन र जनचेतना फैलाउने उद्देश्यले वातवरण संरक्षण तथा अध्ययन केन्द्र (इन्प्रोक्स), उभयचर तथा सरिसृपका साथीहरु (क्यारोन),वन्यजन्तु संरक्षण संघ (डब्लूसीएन)नेपाल, गोल्डेन गेट कलेज लगायत अन्य संस्थाहरुले पहिलो पटक ‘क्रोकिङ मनसुन–२०१९ः भ्यागुता तथा पोखरी खोजका लागि नागरिक अभियान’ सुरु गरेका हुन् ।

विगतका वर्षहरुमा पनि काठमाडौं उपत्यकामा भ्यागुताका प्रजातिको अध्ययन गरिएपनि नागरिक वैज्ञानिक अवधारणा प्रयोग गरी पहिलो पटक सुरु गरिएको अभियानका संयोजक एवं क्यारोनका उभयचर तथा सरिसृप अध्येता प्रकाशचन्द्र अर्यालले जानकारी दिए।

वैज्ञानिक अनुसन्धानमा योगदान गर्ने सर्वसाधरणहरुलाई नागरिक वैज्ञानिक भनिन्छ। अभियान अन्तर्गत पहिलो चरणमा सर्वसाधरणहरुलाई उपत्यकामा पाइने भ्यागुताको प्रजातिबारे जानकारी र बासस्थाको तथ्यांक लिइने इन्प्रकोक्सका सचिव एवं वैज्ञानिक चन्द्रमणि अर्यालले जानकारी दिए।

अभियानको दोस्रो चरणमा ताल तथा पोखरी र त्यहाँ हुनसक्ने भ्यागुताहरुको पहिचान गरी तस्बिर लिइनेछ। सम्बन्धित विज्ञहरुले तस्बिरको आधारमा भ्यागुताको प्रजातिहरु पहिचान गर्नेछन्।

किन अध्ययन गर्न लागियो भ्यागुता?
बढ्दो सहरीकरण,प्रदूषण र पानीका स्र्रोतहरु सुख्न थालेपछि काठमाडौंका पाइने भ्यागुताहरु समस्यामा पर्न सक्ने भएकाले अभियान सञ्चालन गर्न लागिएको डब्लूसीएनकी निर्देशक एवं वातवरणविद् सञ्जिवनी योञ्जनले बताइन्।

पारिस्थितकीय प्रणालीमा भ्यागुता लगायतका जीवहरुले खाद्य चक्रमा महत्वपूर्ण योगदान गर्छन्। भ्यागुता जस्ता उभयचर जीवहरुको संख्या घट्दा मानिसको दैनिक जीवनमा असर गर्नु साथै लामखुट्टे लगायतका किराहरु बढ्ने सक्ने भएकाले पनि भ्यागुताको अनुसन्धान तथा संरक्षण आवश्यक रहेको जैविक विविधता विज्ञ एवं साउथ चाइना एग्रिकल्चरल युनिभर्सटिको विद्यावारिधी शोद्यार्थी दीपक खड्का बताउँछन्। उनका अनुसार भ्यागुताले लामखुट्टे लगायत अन्य किट/किराहरु खाइदिएर मानव तथा बालिमा लाग्ने रोगहरु नियन्त्रण गर्न महत्वपूर्ण योगदान गर्छ।

काठमाडौंमा कति छन् भ्यागुताका प्रजाति?
नेपालमा हालसम्म ५६ प्रजातिका उभयचर(जमिन र पानी दुवैमा बस्ने जीव)हरु पाइन्छन्। एम्फिबिया वेभका अनुसार नेपालमा ५३ प्रजातिका भ्यागुताहरु पाइन्छन्। जसमध्ये काठमाडौं उपत्याकामा यसअघि गरिएका अनुसन्धानबाट १० प्रजातिका भ्यागुताहरु पाइएको थियो।

काठमाडौंमा पाइने भ्यागुताका प्रजातिहरुमा एमोलोप्स फर्मोसस, माइक्रोहाइला ओर्नाटा, नानोराना लेबिगी लगायत छन्। सन् २०१३ मा गरिएको अनुसन्धानमा काठमाडौं उपत्याकामा ८,सन् २०१८ मा १० प्रजातिका भ्यागुता भेटिएपछि अनुसन्धाकर्ताहरु उत्साहित छन्। यस वर्षको यो अभियानमा अघिल्ला वर्षहरुमा गरिएको अनुसन्धानभन्दा फरक आउने अपेक्षा लिइएको आयोजक संस्थाहरुले दाबी गरेका छन्।

कम छ भ्यागुताको अनुसन्धान् :
सन् २००४ पछाडि विश्वमा प्रत्येक वर्ष कम्तिमा सयवटा नयाँ प्रजाति पत्ता लाग्ने गरेको छ। पृथ्वीमा हालसम्म ८ हजार ७२ प्रजातिका उभयचर पाइएको छ। जसमध्ये ७ हजार १२२ प्रजातिका भ्यागुता पाइन्छन्। ती मध्ये नेपालमा ५३ प्रजातिको अभिलेख देखिन्छ। प्रदूषित सहर काठमाडौंमा मात्रै १० प्रजातिका भ्यागुताहरुको अभिलेख हुन्छ भने नेपालमा भ्यागुताको संख्या ५३ नभएर त्यो भन्दा बढी हुनसक्ने अनुसन्धानकर्ता अर्यालको दाबी छ।

पारिस्थितकीय प्रणालीको सन्तुलन,वातवरणीय सन्तुलन,लामखुट्टे तथा किरा नियन्त्रण,पानी शुद्धिकरण,उत्पादकत्व बढाउनका लागि भ्यागुताको भूमिका महत्वपूर्ण मानिन्छ। सफा पानीमा मात्र पाइने एमोलोप्स फर्मोसस् जस्ता भ्यागुताका प्रजातिहरु जैविक सूचक रुपमा लिइने गरिन्छ।

खानाका लागि पाहा प्रजातिको भ्यागुताको शिकार, कक्षा ११मा प्रयोगात्मक अभ्यासमा प्रयोग, भू–उपयोगमा आएको परिवर्तन्, पानीको प्रदूषण जस्ता अन्य मानवीय क्रियाकलापहरुले भ्यागुताको प्रजाति संकटमा पर्दै गइरहेका छन्।
जलवायु परिवर्तनका कारण भ्यागुताको विशिष्ट किसिमको जीवनचक्रमा पनि असर पर्याउने गरेको छ। ‘गोल्डेन टोड’ प्रजातिको भ्यागुता संसारबाटै लोप भएर जानुमा जलवायु परिवर्तनलाई पनि कारक मानिन्छ।

नेपालमा कृषि क्षेत्रमा विषादीहरुको प्रयोगले ससना जीवहरुमा नकारात्मक प्रभाव पर्दै गएपनि पर्याप्त अनुसन्धान नभएको इन्प्रोक्सका सचिव चन्द्रमणि अर्यालले बताए। उनका अनुसार भ्यागुता सम्बन्धिको अनुसन्धान धेरै कम हुँदा यसका अन्य आयामहरु बारे बुझ्न कठिनाई भइरहेको छ।

नागरिक वैज्ञानिक अवधारणा अन्तर्गत यस वर्ष भ्यागुता सम्बन्धि जनचेतना फैलाउने,अनुसन्धान गर्ने,प्रजाति पहिचान गर्ने, जस्ता अन्य कार्यहरु गरिने अभियानका संयोजक अर्यालले जानकारी दिए। अभियान यो मनसुनभर चल्नेछ। भ्यागुता तथा काठमाडौंका पोखरीसम्बन्धि रुची राख्ने सबैले सहभागिता जनाउन सकिने उनले बताए। हाल यो अभियानमा विभिन्न विश्वविद्यालय तथा संरक्षण क्षेत्रमा काम गर्ने संस्थाहरुका प्रतिनिधि, विद्यार्थी,अनुसन्धानकर्ता, वैज्ञानिक तथा प्रकृतिमा अभिरुची राख्ने सर्वसाधारणहरु जोडिएका छन्।

प्रकाशित : श्रावण २५, २०७६ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्

जम्मु-कश्मीरमा तनाव : नेपालीलाई बढ्दो चिन्ता

नेपालले जम्मु-कश्मीरमा रहेका नेपालीहरुको सम्बन्धमा औपचारिक रुपमा चासो समेत प्रकट गरेको छैन
सुरेशराज न्यौपाने

नयाँदिल्ली — नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका नेपालीहरु भने आफ्नो सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् । गत आइतबारबाट जम्मु-कश्मीरमा लगाइएको कर्फ्यु र निषेधाज्ञाले त्यहाँ रहेका नेपालीहरुको जनजीवन पनि कष्टकर बनेको छ । हालसम्म नेपालीहरु सुरक्षित नै रहे पनि आगामी दिनमा बढ्न सक्ने तनावले उनीहरुको चिन्ता बढाएको हो । 


जम्मु-कश्मीरमा रहेका नेपालीहरुको संख्या यकिन नभए पनि भारतस्थित प्रवासी संगठनहरुले भने मौसमी मजदुरी गर्न आउनेलाई समेत हिसाब गर्दा करीब असी हजारको हाराहारीमा रहेको बताएका छन्। ‘यकिन नभए पनि हामीहरुले बुझ्दा करीब अस्सी हजारको संख्यामा छन् भन्ने देखिएको छ,’ भारतस्थित प्रवासी एकता मञ्चको केन्द्रीय सचिवालय सदस्य (सह-कोषाध्यक्ष) नरेश घतानीले कान्तिपुरलाई बताए। जसमध्ये सबैभन्दा बढी कठुवा, साम्बा, जम्मु सहर, उद्यमपुर, कश्मीरको श्रीनगर, पहलगाम, कार्गिल, लेहलद्दाक, बारामुला, पुलवामा, गुलमोहर, छन्। तिनीहरु मजदुरी, चौकिदारी, कुक, भरिया र स-साना व्यापारलगायतका काममा संलग्न रहेको घतानीले बताए।

तीमध्ये पनि सबैभन्दा बढी श्रीनगरमा रहेको उनको भनाइ छ। त्यसैगरी जम्ममा भने पत्नीटफलगातका पर्यटकीय क्षेत्र, अख्नोर र रजौरी कुन्जमा पनि ठूला संख्यामा नेपालीहरु बस्दै आएका छन्। कार्गिल क्षेत्रमा रहेका नेपालीहरु भने भारतीय सेनाको रसदपानी बोक्नेदेखि अन्य मजदुरीको काम गर्ने गरेका छन्। त्यसैगरी कतिपयले आफ्नै फाष्टफुड व्यवसाय पनि सञ्चालन गरिरहेको घतानीले जानकारी दिए। त्यसका अतिरिक्त जम्मुमा पूर्व गोर्खा सैनिकहरुको बेग्लै बस्ती नै छ।

केन्द्र सरकारले गत सोमबार जम्मु-कश्मीरले उपभोग गर्दै आएको संविधानको धारा ३७० खारेज र धारा ३५ (क) खारेज गर्ने निर्णय गरेको थियो। त्यसको अघिल्लो दिन देखि नै त्यहाँ धारा १४४ मार्फत् निषेधाज्ञा मात्र नभएर मोबाइल, इन्टरनेट र केबुलसेवा समेत बन्द गरेको थियो। शनिबारदेखि भने जम्मुलगायतका क्षेत्रमा निषेधाज्ञा हटाइएको छ। जम्मुका कथुवा र साम्बामा शुक्रवारदेखि धारा १४४ हटाइएको थियो। यहाँ धागो, औषधि, भाँडा र खाद्य उद्योगहरु भएकाले नेपाली मजदुरहरुको बाक्लो उपस्थिति छ। पछिल्लो यी क्षेत्रमा भने जनजीवन सामान्य बन्न थालेको जम्मुबाट घतानीले कान्तिपुरलाई बताए।

तर, श्रीनगर र आसपासको क्षेत्रमा भने अझै पनि कर्फ्यु कायम छ। शुक्रबार मुस्लिमहरुको प्रार्थनाका लागि केही खुकुलो बनाइए पनि शनिबारदेखि पुनः कडाई गरिएको छ। भारतीय सञ्चारमाध्यमहरुले श्रीनगरभित्रि भाग र आसपासका क्षेत्रमा जुलुस प्रदर्शन भएको र सुरक्षाकर्मीहरुले प्रदर्शनकारीहरुमाथि कारवाही गरेको जनाएका छन्। जसले गर्दा विशेषगरी श्रीनगर र छेउछाउको अवस्था थप तनावपूर्ण बन्दै जाने सम्भावना छ। कश्मीररमा रहेका नेपालीहरुसँग सम्पर्क नहुँदा चिन्ता बढेको घतानीले भने। ‘ईदको बेला केही सहज हुन्छ भन्ने सुनिए पनि त्यसपछि अवस्था कस्तो होला भन्ने कुराले चिन्तित बनाउन थालेको छ,' उनले भने, ‘यही अवस्था रहने हो भने त रासनपानी पनि सकिन्छ अनि फेरि केकस्तो अवस्था हुने हो। बाहिरी कुरा सुन्दा यो त चाँडै सहज होला जस्तो देखिँदैन, त्यसैले चिन्ता बढ्दै गएको छ।’

तर, जम्मु-कश्मीरमा रहेका नेपालीबारेमा अहिलेसम्म पनि नेपाल सरकारले चासो नदेखाएको प्रवासी नेपालीहरुले आश्चर्य प्रकट गरेका छन्। ‘आफ्ना नागरिकहरुका बारेमा त सरकारले चासो देखाउनुपर्ने हो, किन हो अहिलेसम्म पुरै बेवास्ता गरेको देखिन्छ,’ घतानीले भने।

हुन पनि करिव एक साता बित्न लाग्दा समेत नेपालले भने जम्मु-कश्मीरमा रहेका नेपालीहरुको सम्बन्धमा औपचारिक रुपमा चासो प्रकट गरेको छैन। तर, स्रोतका अनुसार भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले गत मंगलबार भाारतीय विदेश सचिव विजय गोखलेसँगको भेटमा जम्मु-कश्मीरका रहेका नेपालीहरुको सुरक्षालाई लिएर चासो व्यक्त गरेका थिए। भारतले जम्मु-कश्मीरका सम्बन्धमा लिइएको पछिल्लो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्रममा दिल्लीस्थित विदेशी नियोगका प्रमुखहरुलाई बिफ्रिङ गरेको थियो। त्यही क्रममा भारतीय विदेश सचिव गोखल र राजदूत आचार्यबीच भेट भएको थियो।

त्यसो त भारतको विदेश मन्त्रालयले समेत त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति भारतको चासो रहेको बताएको छ। बिहीबार विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले जम्मु-कश्मीरका नेपालीहरुको सुरक्षाका सम्बन्धमा कान्तिपुरले राखेको जिज्ञासामा भारत त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति गम्भीर रहेको जवाफ दिएका थिए। ‘अहिलेसम्म त्यस्तो असहज भएको जानकारी आएको छैन। तर, उनीहरुको सुरक्षाप्रति भारत सरकार गम्भीर छ,’ प्रवक्ता रविशले भने।

प्रकाशित : श्रावण २५, २०७६ १३:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्