सूचना प्रविधि मेला सुरु
काठमाडौँ — काठमाडौंमा सूचना प्रविधि मेला क्यान इन्फोटेक २०१९ मंगलबारबाट सुरु भएको छ । मेलाको यो २५ औं संस्करण हो । भृकृटीमण्डपमा आयोजित मेलाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले सरकारले डिजिटल नेपालको नारा लिएकाले यो क्षेत्रमा सरकारको ध्यान गएको बताए ।
‘सूचना प्रविधि क्षेत्र व्यक्ति, वर्ग, घरानाको रहेन । घर/घरमा पुग्न पर्यो । यसमा क्यान मात्रै होइन, कनेक्टिभिटीको कुरा पनि जोडिन्छ, कनेक्टिभिटी सुदूरपश्चिमदेखि प्रदेश/प्रदेशमा छैन,’ उनले भने, ‘सस्तो र सुलभ पहँुच पुर्याउने हिसाबमा काम गरौं ।’
सूचना प्रविधि क्षेत्रलाई विकास गर्न विशेष आर्थिक क्षेत्र (सेज) मा पनि प्राथमिकता दिएको बताए । ‘अब बन्ने सेजमा आईटी क्षेत्रका लागि सम्बन्धित मन्त्रालयमा पठाएका छौ,ं’ उनले भने, ‘काम क्रमश: भइरहेको छ । लगानी सुरक्षित होस्, पारदर्शिता पनि खोजौं ।’
कनेक्टिभिटीमा स्वदेशी व्यवसायीले ठेक्का लिए पनि समयमै काम गर्न नसकेको उनले बताए । ‘सरकारले नबुझेका कुरा बुझाउनु होस् । गतिमा काम गरौं, आफ्ना तर्फबाट पनि इमान्दारिता साथ काम गरौं,’ उनले भने, ‘सरकारले हुम्लाजुम्ला, दार्चुलामा पनि कनेक्टिभिटी पुर्याउन चाहन्छ ।’
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले आईटी क्षेत्रको कर घटाउनुपर्ने बताए । अनावश्यक करले सेवाग्राहीलाई महँगो पर्ने बताए । व्यवसायीले पनि उपभोक्ताको सन्तुष्टितर्फ ध्यान दिनुपर्ने बताए । ‘सेवा राम्रो नहुञ्जेल व्यवसाय सफल हुँदैन । शुल्कअनुसार सेवा सुविधा दिनुपर्छ,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले सूचना तथा सञ्चार क्षेत्रमा सरकारी नीति र बजेट हुनुपर्ने बताए । सरकारले डिजिटल नेपालको कुरा गरे पनि कुनै सुविधा दिन नसकेको उनले बताए । सूचना प्रविधिका दक्ष जनशक्ति बढे पनि व्यावसायिक वातावरण बन्न नसकेको उनले बताए ।
‘काभ्रेको आईटी पार्क सदुपयोग हुन सकेको छैन । डिजिटल नेपालको लागि ७ प्रदेशमा आईटी पार्क चाहिन्छ,’ उनले भने, ‘आईटी पार्क हुँदा स्वदेशमै रोजगारी बढ्न सक्छ ।’
क्यान महासंघका महासचिव रञ्जित पोदारका अनुसार मेलामा १७५ स्टल छन् । अधिकांशले नयाँ सफ्टवेयर, हार्डवेयर, प्रविधि र अफररूहरू सार्वजनिक गरेका छन् ।
मेलामा रोबट ब्याटल मुख्य आकर्षण बनेको छ । ‘हरेक वर्ष प्रविधिले फड्को मारेको छ । क्यान इन्फोटेकले डिजिटल पेमेन्टका लागि ठूलो भूमिका खेल्नेछ,’ उनले भने । मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहेको छ ।
मेलामा एकैथलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने जनाएको छ । नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि पनि मेलामा रहेको आयोजकले जनाएको छ ।
मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने जनाएको छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल गराइने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा प्रथम र द्वितीय हुने टिमलाई नगद पुरस्कार प्रदान गरिने महासचिव पोदारले बताए । मेला २० गतेसम्म चल्नेछ ।
प्रकाशित : माघ १६, २०७५ ०९:०५