२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हुवावेमाथि विश्वभर शंका

नराम्रो चित्रित गरिए सेवा हटाउने हुवावेको चेतावनी 
एजेन्सी

काठमाडौँ — चिनियाँ दूरसञ्चार कम्पनी हुवावे पछिल्लो समय अन्तर्राष्ट्रिय अनुसन्धानको विषय बनेको छ । धेरै देशले हुवावेको उत्पादनप्रति सुरक्षा चासो व्यक्त गर्दै आएका छन् । यसै साता जर्मनीले यो चिनियाँ कम्पनीलाई फाइभ जी नेटवर्कको विस्तारको काम नदिने गरी प्रतिबन्ध लगाएको छ ।

हुवावेमाथि विश्वभर शंका

डावोसमा जारी वल्र्ड इकोनोमिक फोरममा बोल्दै चिनियाँ कम्पनी हुवावेका अध्यक्ष लियाङ हुवाले पश्चिमा देशले आफ्नो कम्पनीलाई नराम्रो चित्रित गरिरहे त्यस्ता देशबाट सेवा हटाउने चेतावनी दिए । ‘जहाँ हाम्रो स्वागत हुन्छ, त्यहाँ हामी प्रविधि स्थानान्तरण गर्छौं,’ उनले भने, ‘हामी जहाँ पनि नियम पालना गर्छौं ।’


अमेरिकी सरकारले हुवावेले आफ्नो व्यापारको गोपनीयता हनन गर्दै आएको आरोप लगाएको छ । कम्पनीको आर्थिक प्रमुख मेङ वाङजाओ क्यानडास्थित निवासमै नजरबन्दमा छिन् । धेरै देशले के आरोप लगाएका छन् भने चीनले

आफ्नो देशको टेलिकम सामान उत्पादन गर्ने कम्पनी हुवावेले प्रतिस्पर्धी देशको जानकारी हासिल गर्नका लागि उपयोग गरिरहेको छ । यसको विपरीत हुवावेले भने आफू स्वतन्त्र कम्पनी भएको र सरकारलाई करबाहेक कुनै जानकारी नदिने गरेको दाबी गर्दै आएको छ ।


चीनका ठूला कम्पनी र व्यापारमा सरकारको प्रभाव रहने गरेको भन्दै विज्ञहरूले भने हुवावेको स्वतन्त्रताप्रति शंका व्यक्त गर्दै आएका छन् । सार्वजनिक भएको तथ्यअनुसार हुवावेका संस्थापक रेङ जेङफेई चीनका पूर्वसैनिक र कम्युनिस्ट पार्टीका सदस्य पनि हुन् । हुवावेले भने आफू चीनको कम्पनी भए पनि सरकारसँग कुनै नाता नजोडिएको स्वतन्त्र कम्पनी भएको दाबी गर्दै आएको छ ।


हुवावेले आफूलाई नयाँ प्रविधिको अनुसन्धानमा विश्वकै सबैभन्दा बढी खर्च गर्ने कम्पनी भएको दाबी पनि गर्छ । सन् २०१७ मा मात्रै कम्पनीले अनुसन्धानका लागि १३ अर्ब डलर बढी खर्च गरेको थियो । सन् २०१८ मा यो रकम झन् बढी छ । तर, हुवावेका विरोधीहरूले के दाबी गर्छन् भने सरकारको निर्देशनअनुसार हुवावेले आफ्नो डिभाइस र सफ्टवेयर ह्याक गर्न मिल्ने, कुराकानी रेकर्ड गर्न मिल्ने बनाएको हुन सक्छ जसले हुवावेको नेटवर्क प्रयोग भएको टेलिकम सेवा असुरक्षित हुनसक्छ ।


चीनले विश्वभरका देशमा सेवा विस्तार रहेको हुवावेजस्ता कम्पनीलाई स्वतन्त्र रूपमा काम गर्न देला ? भन्नेमा धेरैको शंका छ । दूरसञ्चार उपकरण उत्पादकबाहेक हुवावेको अर्को परिचय स्मार्टफोन निर्माताको पनि छ । यो विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता हो ।


बेलायतले पूर्ण रूपमा हुवावेका सामानमा प्रतिबन्ध नलगाएको भए पनि कम्पनीका उपकरणमा बेलायती संस्थाहरूले निरन्तर अनुगमन गरिरहेका छन् ।


हुवावेकी उपाध्यक्ष तथा आर्थिक अधिकृत मेङ केही महिनाअघि क्यानडामा पक्राउ परेकी छन् । अमेरिकी अनुरोधमा उनी पक्राउ परेको क्यानडाले बताएको छ । अदालतको आदेशअनुसार उनी अहिले घरमै नजरबन्दको अवस्थामा छिन् र देश छोड्न प्रतिबन्ध छ ।


क्यानडाका सरकारी वकिलहरूले उनलाई अदालतमा मुद्दा दायर गर्ने क्रममा मेङले स्काइकम नामक सहायक कम्पनी मार्फत सन् २००९ र २०१४ सम्ममा इरानमा लगाइएको आर्थिक नाकाबन्दीविरुद्ध काम गरेको आरोप लगाएका थिए । अमेरिकी कानुनअनुसार त्यहाँ सेवा दिइरहेका कम्पनीले अमेरिकाले नाकाबन्दी लगाएको देशमा कुनै पनि सेवा दिन पाउँदैनन् ।


कुन कुन देशमा समस्या ?


  • नोभेम्बर २०१८ मा न्युजिल्यान्डले फाइभ जी नेटवर्कका लागि हुवावेको उपकरण प्रयोगमा प्रतिबन्ध लगायो ।
  • अमेरिका र अस्ट्रेलियाले यसअघि नै फाइभ जी नेटवर्क विस्तार गर्न हुवावेको उपकरण प्रयोग नगर्ने घोषणा गरेका छन् ।
  • क्यानडाले पनि हुवावेका सामान सुरक्षित छन् कि छैनन् भन्ने विषयमा अध्ययन गरिरहेको छ ।
  • बेलायतको दूरसञ्चार सेवा प्रदायक ब्रिटिस टेलिकमले पनि फाइभ जी नेटवर्क विस्तारका लागि हुवावेको सामान प्रयोग नगर्ने भएको छ ।
  • डिसेम्बरमा युरोपियन युनियनका दूरसञ्चार आयुक्त एन्ड्रुस अन्सिपले चिनियाँ उत्पादकको उपकरण प्रयोग गर्दा सचेत रहनुपर्ने टिप्पणी गरेका थिए ।
  • जर्मनीका आन्तरिक मामिला मन्त्रीले पनि फाइभ जी नेटवर्क विस्तारका क्रममा चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउने विषयमा विचार गरिने धारणा सार्वजनिक गरेका छन् ।


समस्याको समय


अक्टोबर २०१२ : अमेरिकाको संसदीय समितिद्वारा अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै चिनियाँ कम्पनी हुवावे र जेटीई सरक्षा चुनौती भएको धारणा सार्वजनिक ।

जुलाई २०१३ : हुवाले चिनियाँ सरकारलाई विवरणहरू उपलब्ध गराउँछ भनी अमेरिकी गुप्तचर निकायले लगाएको आरोप कम्पनीद्वारा खण्डन ।

अक्टोबर २०१४ : अमेरिकी सरकारी टेन्डरमा भाग लिन प्रतिबन्ध । तर, प्रतिबन्ध महत्त्वपूर्ण नभएको हुवावेको प्रतिक्रिया ।

१९ जुलाई २०१८ : हुवावेको उपकरणका कारण सुरक्षा चुनौती नहुने सम्भावना थोरै रहेको बेलायती सरकारी प्रतिवेदनमा भनाइ ।

३० जुलाई २०१८ : एप्पललाई उछिन्दै हुवावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी ।

२३ अगस्ट २०१८ : हुवावे र जेटीईलाई आफ्नो देशमा फाइभ जी विस्तारको काममा प्रतिबन्ध लगाउने अस्ट्रेलियाको घोषणा ।

२८ नोभेम्बर २०१८ : फाइभ जी विस्तारको काममा हुवावेलाई सहभागी नगराउने न्युजिल्यान्डको घोषणा ।

१ डिसेम्बर २०१८ : हुवावेकी प्रमुख आर्थिक अधिकृत मेङ क्यानडामा पक्राउ ।

७ डिसेम्बर २०१८ : क्यानडाको अदालतमा भएको सुनुवाइका क्रममा मेङलाई अमेरिकी अनुरोधमा पक्राउ गरिएको खुलासा ।

२४ डिसेम्बर २०१८ : ब्रिटिस टेलिकमद्वारा आफ्नो कोर नेटवर्कबाट हुवावेका सामान हटाउने घोषणा ।

४ जनवरी २०१९ : आइफोन प्रयोग गरी ट्विट गर्ने हुवावेका दुई कर्मचारी कारबाहीमा ।

१२ जनवरी २०१९ : चिनियाँ सरकारका लागि गुप्तचरी गरेको आरोपमा पोल्यान्डमा पक्राउ परेका आफ्ना कर्मचारी हुवावेद्वारा बर्खास्त । आफ्नो निर्देशनमा गुप्तचरी नगरेको कम्पनीको दाबी ।

१५ जनवरी २०१९ : हुवावेका संस्थापक रेङ जेङफेईद्वारा आफ्नो कम्पनीले सरकारलाई गुप्चतरीका लागि सहयोग नगर्ने दाबी ।

१६ जनवरी २०१९ : अमेरिकी व्यापार साझेदारका व्यापारसम्बन्धी गोप्य विवरण हुवावेले चोरी गरेको भन्दै अमेरिकी सरकारले अनुसन्धान थालेको वालस्ट्रिट जर्नलद्वारा खुलासा ।

१७ जनवरी २०१९ : अक्सफोर्ड विश्वविद्यालयद्वारा हुवावेबाट कुनै पनि सहायता र प्रायोजन नलिने घोषणा ।

२२ जनवरी २०१९ : डाभोसमा जारी वल्र्ड इकोनोमिक फोरममा बोल्दै हुवावे अध्यक्ष लियाङ हुवाद्वारा हुवावेलाई नराम्रो चित्रित गरिरहे पश्चिमा देशबाट आफ्नो सेवा हटाउने चेतावनी ।

प्रकाशित : माघ १३, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?