१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सन् २०१८ का चर्चित प्रविधि र ग्याजेट्स 

दिनेश यादव

काठमाडौँ — वर्ष २०१८ लाई विदाई गरेर नयाँ वर्षलाई स्वागत गरिसेका छौँ । वर्ष २०१८को सर्वश्रेष्ठ प्रविधि, ग्याजेट्स, गियर लगायतका नयाँ उत्पादनहरुबारे जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारिएको हो । नयाँ प्रविधि र उत्पादनहरुबारे विभिन्न सञ्चार माध्यमहरुको आ–आफ्नै दाबी छ । तर, सुक्ष्म विश्लेषणका आधारमा केही राम्रा उत्पादनहरु यहाँ पस्कने जमर्को गरिएको छ । 

सन् २०१८ का चर्चित प्रविधि र ग्याजेट्स 

‘वायर्ड’ अनलाइन पत्रिकाले तयार पारेको सूचीमा सामसङको ‘८ के टिभी’ देखि ‘ग्यालेक्सी एस नाइन प्लस’ स्मार्टफोनसम्म समेटिएका छन् । पत्रिकाका अनुसार सामसङले गत वर्ष आफ्नो कम्पनीको महत्वाकांक्षी र सर्वाधिक चर्चामा रहेको टेलिभिजन बजारमा ल्यायो ।

कम्पनीले ल्याएको सामसङ ‘क्युइ ६५क्यु ९००’ नामको ‘८के टिभी’ वर्षभरी चर्चामा रहयो । तीन साईज (८५ इन्च, ७५ इन्च र ६५ इन्च) मा उपलब्ध यो टिभी पूर्ण एचआरडी हो । ४ हजार निट्स( १ निट्स बराबर १ क्यान्डेलाप्रति वर्गमिटर) को चम्किलोपना रहेको यसमा दर्शकले वास्तविकताको अनुभूति गर्न सक्छन् ।


यसमा जडान गरिएको १५ एमएस इन्पुट ल्यागले खेलका लागि क्यु ९०० लाई पूर्ण बनाइदिन्छ । यसको मूल्य ४ हजार ९ सय ९९ पाउन्ड(करिब ७ लाख ११ हजार रुपैयाँ) निर्धारण गरिएको छ । ग्राहकका लागि यो मूल्य चर्को हो । तर नयाँ अनुभव लिनका लागि यो टिभी धेरैका लागि रोजाईको वस्तु बनेको छ ।


सन् २०१८मा वायरलेस हेडफोन्सको संसारमा ‘सोनी डब्लूएच–१००० एक्सएमटू’ लाई तारविहिन कोलाहल रोक्ने हेडफोनमा राम्रा उपकरणको उपाधि प्राप्त भयो । यसअघि बोस क्वीसी ३५ लाई यो कामका लागि प्रयोग गरिन्थ्यो । सोनी कम्पनीका उत्पादन ध्वनी र डिजाइनका लागि प्रसिद्ध छ ।

तर कम्पनीले कोलाहल नसुन्ने हेडफोन बजारमा ल्याएर चर्चा बटुल्न सफल भएको छ । यो सेटलाई एक पटक पूर्ण चार्ज गरिसकेपछि ३० घन्टासम्म लगातार प्रयोगमा ल्याउन सकिन्छ । टच कन्ट्रोल प्रणाली रहेको यसलाई सजिलै आफू अनुकूल उपयोग गर्न सकिने दाबी कम्पनीको छ । सुरुमा यसको मूल्य अलिक बढी छ । यो वायरलेस हेडफोनको मूल्य ३ सय २९ पाउन्ड(४६ हजार ७ सय ९७ रुपैयाा) रहेको छ ।


रनिङ वाच ‘जर्मिन फोररनर ९३५’ पनि वर्षको चर्चित उत्पादन बन्यो । ४ सय ३९ पाउन्ड(६२ हजार ४ सय ४३ रुपैयाँ) मूल्य राखिएको यो वाच दौड्नमा रुची राख्नेहरुका लागि महत्वपूर्ण अविष्कार हो । यसमा धेरै समय टिक्ने ब्याट्री जडान गरिएको छ । यसलाई स्ट्यान्वाई मोडमा राख्दा कम्तिमा एक सातासम्म आफ्नो गतिविधिहरुलाई २४ घन्टासम्म बिना ण्कुनै अवरोधको नियाल्न सकिन्छ ।

यो घडीले पौडी, साइकलिङ, गल्फसहितका विभिन्न गतिविधिलाई रेकर्ड गर्ने क्षमता राख्छ । यसले शारीरिक व्यायामसँग सम्बन्धित विभिन्न प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउँछ । यति मात्रै होइन, मुटुको गति दरलाई पनि मोनिटर गर्न सक्छ । मात्र ४९ ग्राम तौल रहेको यो ग्याजेटले एउटा रनिङवाचमा हुने सबै गतिविधिलाई कैद गर्न सक्छ ।


सन २०१८ को अर्को महत्वपूर्ण उत्पादनमध्ये वायरलेस इयरबर्ड्स ‘ज्याब्रा इलिट ६५ टी’ पनि एक हो । यसको प्रयोग गरिए एपलको एयरपोड्सलाई बिर्सिन सहयोग गर्छ । एक सय ३९ पाउन्ड (१९ हजार ७ सय ७१ रुपैयाँ) मूल्य रहेको यो वायरलेस इयरबर्ड कुनैपनि समारोहमा सजिलै प्रयोग गर्न सकिने दाबी कम्पनीको छ । यसलाई जिम र दौड तथा अन्य गतिविधिमा पनि उपयोगमा ल्याउन सकिन्छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछि पाँच घन्टासम्म नन–स्टप प्रयोग गर्न सकिन्छ । यसमा दुईवटा चार्ज केस जडान गरिएको छ ।


‘वायर्ड’ का अनुसार ल्यापटपको संसारमा ‘डेल एक्सपीएस १३’ लाई वर्षको महत्वपूर्ण उत्पादनमा दरियो । एक हजार ९९ पाउन्ड(१ लाख ५६ हजार ३ सय २२ रुपैयाँ) मूल्य रहेको यो ल्यापटपलाई म्याकबुकको किलरका रुपमा प्रस्तुत गरिएको छ । मात्र १ दशमलव २ किलो तौल भएको यो ल्यापटप १३ इन्चको छ । ह्याभी वर्कलोड हुनेहरुका लागि चाहिने शक्तिशाली क्षमता यसमा छ । यसमा नन–ग्लेयर पर्दा र टचस्क्रिन सहित विविध अप्सनहरु समेटिएका छन् । ४ एमएमको पातलो रहेको यो ल्यापटपलाई जुनसुकै झोलामा पनि सजिलै राख्न सकिन्छ । यो बोक्न पनि सजिलो छ ।


एप्पलले ल्याएको ‘एप्पल आइप्याड ९.७’ ट्याबलेटले सन् २०१८मा चर्चा कमायो । केहीले आईप्याड प्रो मन पराउँछन् । तर, धेरै मासिनको राम्रो छनौटमा ‘ ९.७’ इन्चको आइप्याड पर्ने गर्छ । यो साइजलाई धेरैले मानकका रुपमा पनि लिएको पाइन्छ । त्यसैले यो धेरैको चाहना बन्न पुग्यो । उच्च रिज्योलुसन स्क्रिन रहेको यो ट्याबलेटमा महत्वपूर्ण सफ्टवेयर र एपहरुको विशाल संग्रह सञ्चित छ ।

हालसम्म ट्याबलेटमा असम्भव रहेको एप्स पनि यसमा राखिएका छन् । यो २०१८ संस्करणले एपल पेन्सिललाई सपोर्ट गर्छ । ब्लुतुथ किबोर्ड भएको यो सेटलाई एउटा ल्यापटप र फोरजी भर्सन मोबाइलको विकल्पका रुपमा प्रयोग गर्न सकिन्छ । यसलाई जहाँसुकै र जुनसुकै बेलामा पनि स्वतन्त्रतापूर्वक प्रयोग गर्न सकिन्छ । कम्पनीले यसको मूल्य ३ सय १९ पाउन्ड (४५ हजार ३ सय ७४ रुपैयाँ) निर्धारण गरेको छ ।


‘अमेजोन किन्डल पेपरह्वाइट’ ई–रिडर पनि चर्चा बटुल्यो । १ सय २० पाउन्ड(१७ हजार ६८ रुपैयाँ) मूल्य रहेको यो ई–रिडर सोचे जस्तो अत्याधुनिक नभएपनि एक जना व्यक्तिको सबै खाले इलेक्ट्रोनिक आवश्यकता पुरा गर्न सक्छ । यसमा जडान गरिएको प्रकाशले पाठकलाई पढ्न अनुकूल बनाउँछ । ३०० पीपीआईको स्क्रिन आनन्दको अनूभूति गराउन काफी छ । इलेक्ट्रोनिक्स भर्सन पढ्नेहरुका लागि यसलाई गजबको ग्याजेट भनिएको छ ।

यसैगरि फिटनेस ट्रयाकर ‘फिटबिट अल्टा एचआर’ पनि राम्रै उत्पादनका रुपमा चर्चामा रहयो । यति तपाईले अहिलेसम्म कुनै फिटनेस ट्रयाकर खरिद गर्नु भएको छैन भने यो तपाईका लागि उपयोगी हुन सक्छ । यो एउटा स्मार्टवाचको जस्तै काम गर्छ । यसमा जडित ब्याट्री धेरै समयका लागि टिकाउ हुने खालको छ । यो डिभाइसबाट मानिसको स्टेप्स, क्यालोरी बर्न, सुतेको समय र मुटुको गतिबारे राम्ररी जानकारी प्राप्त गर्न सकिन्छ । कम्पनीले हाल यो छ रङमा बजारमा ल्याएको छ । यसको कमजोरी भनेको यो वाटरफ्रुप छैन । यदि तपाई पौडीको पारखी हुनुहुन्छ भने यो फिटनेस ट्रयाकर तपाईका लागि काम लाग्दैन । यसको मूल्य सय पाउन्ड (१४ हजार २ सय २४ रुपैयाँ) निर्धारण गरिएको छ ।


यो वर्षको अर्को महत्वपूर्ण ग्याजेटमा नदेखिने गरी राखेर पनि चलाउन मिल्ने अडियो साउन्डबार ‘क्यू एकास्टिक्स एमथ्री’ पनि हो । यो उच्च गुणयुक्त छ । कुनैपनि टिभीको तल सजिलै जोडन मिल्ने यो स्पिकरको मूल्य दुई सय १९ पाउन्ड(३१ हजार १ सय ५० रुपैयाँ) रहेको छ । यसलाई पर्खालमा पनि झुन्ड्यान सकिन्छ । यसमा ब्लुतुथ र एचडीएमआई जडान गरिएको छ ।

यो वर्ष स्मार्टफोनमा सामसङको ‘ग्यालेक्सी एसनाइन प्लस’ चर्चाको शिखरमा रहयो । ८ सय ६९ पाउन्ड मूल्य(१ लाख २३ हजार ६ सय ७ रुपैयाा) पर्ने यो फोनको डिस्प्ले ६.२ इन्चको छ । यो सेट ‘ग्यालेक्सी एस एट प्लस’ भन्दा खासै फरक नभएपनि यसमा प्रयोग गरिएका हाडवेयर चाही गजबको भएको दाबी कम्पनीको छ ।


(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : पुस २०, २०७५ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?