कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मंगल ग्रहमा हावा बहेको आवाज सुनियो 

दिनेश यादव

काठमाडौँ — अमेरिकी अन्तरिक्ष नियोग नासाको ‘इन्साइट ल्याण्डर’ ले मंगल ग्रहमा हावा भएको पुष्टि गरेको छ । ल्याण्डरले त्यहाँ हावा बहेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको छ ।

मंगल ग्रहमा हावा बहेको आवाज सुनियो 

यो आवाज सुनेर वैज्ञानिकहरु उत्साहित छन् । उनीहरुले मंगल सतहमा भएको हावालाई पहिलो पटक सुनेको दाबी गरेका छन् ।


‘इन्साइट’को सेन्सरले उत्तर–पश्चिमदेखि दक्षिण पूर्वसम्म १० देखि १५ माइल प्रतिघन्टाको गतिमा हावा चलेको रेकर्ड गरेको हो । हावाको यो आवाज मानिसले सुन्न सक्ने ध्वनीको क्षमताभित्रै पर्छ । यो सफलताप्रति बेलायतको लन्डनस्थित इम्पेरियल कलेजका अन्तरिक्षविद् तथा प्रमुख अनुशन्धानकर्ताले भने,‘इन्साइडरले पठाएको आवाज कुनै झन्डा फहराउँदा निस्किने आवाजसँग मिल्दो छ । ’


इन्साइटले कैद गरेको मंगल रहेको हावालाई नासाको वेबसाइटमा सुन्न सकिन्छ । डिसेम्बर १ मा हावाका कारण उत्पन्न भएको तरंगलाई इन्साइटले कैद गरेको हो ।

क्यालिफोर्नियाको प्यासाडेनास्थित नासाको जेट प्रोपल्सन ल्याबोरेटरी(जीपीएल) मा कार्यरत इन्साइटका प्रमुख शोधकर्ता ब्रुस ब्यानर्डटले भने,‘मंगल ग्रहमा रहेको हावाको आवाज रेकर्ड गर्नेबारे हामीले सोचेका थिएनौँ । तर मंगलमा भइरहेको गतिविधिलाई नियाल्ने उद्देश्य चाही यो मिसनको हो । ल्यान्डरले हावा कैद गरेकोमा हामी अति उत्साहित भएका छाँै । ’


सन् २००४ मा मंगल ग्रहमा जमिन रहेको पुष्टि गर्ने ‘क्युरिओसिटी मिसन’ कै नजिक ‘इन्साइट’ को अवतरण भएको छ । उक्त क्षेत्रलाई ‘इलाइसियम प्लानिटिया’ नाम दिइएको छ । मंगल ग्रह मिसन अन्तर्गत सन् १९७६ मा ‘भाईकिङ १’ र ‘भाइकिङ–२’ ल्यान्डर मंगलमा पुगेको थियो । त्यस्ताका यी ल्याण्डरहरुले पनि मंगल ग्रहमा हावा रहेको संकेत गरेको थियो ।


त्यसको एक वर्षपछि सन् १९९७ मा ‘पाथपाइन्डर’ मंगलमा पुगेको थियो । मिसनको सबैभन्दा व्यस्त वर्ष चाही सन् २००४ रहयो । त्यो वर्ष ‘अपरच्युनिटी’, ‘क्युरिओसिटी’ र ‘स्प्रिट’ गरी तीन वटा यान अवतरण गराइएको थियो । सन् २००८ मा ‘फोनिक्स’पछि इन्साइटको अवतरण भएको हो ।


‘इन्साइट’लाई अघिल्लो महिना मात्रै मंगल ग्रहमा पढाइएको थियो । मंगलको भित्रको अध्ययन गर्नका लागि यो त्यहाँ पठाइएको हो । यसमा भूकम्पबारे थाहा पाउनका लागि र अन्य ग्रहको माथिल्लो सतहबाट निस्कने तापको अध्ययन गर्न पनि ‘इन्साइट’ कोशेढुंगा सावित हुने दाबी नासाका अनुशन्धानकर्ताहरुको छ ।

रातो ग्रह भनेर समेत चिनिने मंगलमा ‘इन्साइट’ ल्याण्डर नोभेम्बर २६ मा ३ सय मिलियन माइलको यात्रा पुरा गरी पुगेको हो । उक्त दुरी पार गर्न उसलाई ६ महिनाजति लागेको छ ।


ल्यान्डरभित्र रहेको एउटा वायु चाप सेन्सर र ल्यान्डरको डेकमा रहेको सिस्मोमिटरले त्यहाँको हावाको तरंगहरुलाई कैद गर्न सफल भएको हो । नासाले अगामी वर्षहरुमा मंगलबाट ध्वनिहरु अझ स्पष्टताका साथ सुन्न सकिने गरी योजना बनाइरहेको छ । उसले ‘मार्स २०२० रोभर’ लाई दुई वटा माइक्रोफोन जडान गरी पठाउने तयारी गरिरहेको छ ।


अघिल्लो महिना मात्रै नासाले उक्त रोभरको मंगल ग्रहमा अवतरको लोकेसन घोषणा गरेको थियो । ‘रोभर सम्भवत: मगंल सतहमा १८ फेब्रुअरी २०२१ मा अवतरण हुने अपेक्षा हाम्रो हो’ नासाले भनेको छ ।

नासाले सन् २०३० को दशकसम्म मानवयुक्त यान मंगलमा पठाउने दीर्घकालिन लक्ष्यका साथ अघि बढिरहेको छ । तथापि पूर्व अन्तरिक्षयात्री बज्ज अल्ड्रिनले सन २०४० सम्ममा मंगलग्रहको वास्तविकता थाहा हुने बताए । उनले फक्स पत्रिकासँगको साक्षात्कारमा भने,‘ सन २०४० सम्ममा अन्तरिक्ष यात्री मंगलमा पुग्नेछन् । ’

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित : मंसिर २६, २०७५ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?