कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डेलीभरी ब्वाई होइन, अब 'डेलीभरी रोबोट' 

दिनेश यादव

काठमाडौँ — बार्सिलोनाको स्टार्टअप कम्पनी ‘एलीपोर्ट’ र दक्षिण कोरियाली कम्पनी ‘वूवा ब्रदर्स’ ले आफ्नो उत्पादनहरु ग्राहकका घरमा डेलिभरी गर्ने रोबोट विकसित गर्नमा जुटेका छन् । यी रोबोटहरुले ग्राहकका घरैमा सुरक्षित र सस्तोमा सामानहरु पुर्याउनेछन् ।

डेलीभरी ब्वाई होइन, अब 'डेलीभरी रोबोट' 

अनलाईन सपिङको जमाना हो, यो । ग्राहकको अर्डर बमोजिम डेलिभरी ब्वाईहरुलाई घर–घरमै सामानहरु पुर्‍याउन भ्याइ–नभ्याई छ । यो बजार चम्केको देखेर धेरैजना यतै हाम फाल्न थालिसकेका छन् । उपभोक्तावादी हालको प्रतिस्पर्धी बजारमा जसले छिटो र छरितो मात्रै हैन सस्तोमा ग्राहकलाई सेवा प्रदान गर्छ, उसैको डिमान्ड बढी हुन्छ । शायद यो कुरा बुझेरै होला,

बार्सिलोनामा स्टार्टअपबारे समाचारहरु सार्वजनिक गर्ने ‘बार्सिन्नो डटकम’ का अनुसार त्यहाँका कम्पनीहरुले आफ्ना उच्च प्राविधिकहरुको सहयोगमा ‘डेलिभरी रोबोट’को निर्माण गरेको छ । यो रोबोटले पसलहरुबाट सामानहरु घरसम्म सुरक्षित रुपमा पुर्याउने काम गर्छ । ३० देखि ४० किलोग्रामसम्मको सामानहरुलाई यसले सजिलै बोक्न सक्छ । ‘एलिपोर्ट’ ले कम्पनीले विकसित गरेको रोबोटले थोरै पैसा र कम समयमा सामानहरु डेलिभरी गर्न सक्ने जनाएको छ ।


कम्पनीले बनाएको डेलिभरी रोबोट ब्याट्रीबाट चल्छ । एक पटक चार्ज गरेपछि यसले २५ किलोमिटरसम्मको यात्रा गर्न सक्छ । उक्त रोबोटको बाहिर समेत एउटा चार्जिङ सकेट जडान गरिएको छ, जसले आवश्यक परेको अवस्थामा कुनै पनि समय यसलाई चार्ज गर्न सकिन्छ । यसमा एउटा क्यामेरा र १४ वटा सेन्सर जडान गरिएको छ, जसको सहायताले रोबोटले पैदल हिडिरहेका मानिस, बाटोमा रहेको ढुंगा या खाल्डाखुल्डीलाई डिटेक्ट गर्दै आफ्नो बाटो परिवर्तन गर्न सक्ने क्षमता समेत छ । यति मात्रै हैन, यसमा जडान गरिएको नक्सा प्रणालीले डेलिभरी गर्नुपर्ने व्यक्तिको लोकेसन बडो सजिलो तरिकाले पहिचान गर्न सक्छ । सन २०१६ मा सार्वजनिक भएको एउटा रिपोर्टमा बेलायतमा झण्डै ८ प्रतिशत सामानहरु डेलिभरीका क्रममा ‘ड्यामेज’ भएर फिर्ता गरिएको थियो । ‘एलिपोर्ट’ ले आफ्नो रोबोटमा त्यस्तो ड्यामेज हुनबाट रोक्ने उपाय समेत अबलम्बन गरेको छ ।


कम्पनीले यो कुरालाई पनि ध्यानमा राखेर रोबोट बनाएको छ । कम्पनीले रोबोटमा एउटा कन्टेनर जडान गरेको छ, जसमा सामानहरुलाई बिना कुनै क्षतिको ग्राहकको घरसम्म पुर्याउन सकिन्छ । यसको मुख्य विशेषत भनेको यसलाई खोल्नका लागि पासवर्डको आवश्यकता पर्छ । पसलबाट जब सामान प्याक गरेर कन्टेनरमा राखिन्छ, त्यसपछि ग्राहकलाई पसल मालिकले पिनकोड दिने गर्छ । सामान ग्राहकहरुको घरसम्म पुगेपछि उक्त पिनकोड राखेर कन्टेनर सजिलै खोली आफ्नो सामान निकाल्न सकिनेछ । योसंगै बिल पनि हुनेछ । कम्पनीका अनुसार रोबोटको सहयोगमा डेलीभरी गर्दा ५० प्रतिशतसम्म पैसाको बचत हुन्छ । कम्पनीले सन २०२१ सम्ममा रो रोबोटलाई बिक्रीका लागि बजारमा उपलब्ध गराउने जनाएको छ ।


यसैबीच नयाँ प्रविधिहरुबारे जानकारी दिने ‘जेडडीनेट' का अनुसार कोरियाली फूड–टेक कम्पनी ‘वूवा ब्रदर्स’ ले पनि त्यस्तै खाले डेलिभरी रोबोटको विकास गर्नमा जुटिसकेको छ । दक्षिण कोरियाली उक्त कम्पनीले आफ्नो लोकप्रिय ‘बैदल मिन्जोक’ डेलिभरी एप्पमार्फत ग्राहकहरुसम्म फूड आइटमहरु पुर्‍याउदै आएको छ । अब डेलिभरी रोबोटको प्रयोग गरि आफ्नो फूड सामग्रीहरु डेलिभरी गरी उद्योगलाई विस्तार गर्न चाहेको छ ।


डेलिसियस डेलिभरीको छोटो रुप ‘डेली’ नाम दिएको उक्त रोबोटको व्यावसासिक उत्पादन अगामी ५ वर्ष भित्रै गरिसक्ने दाबी कम्पनीको छ । कोरियाली विश्वविद्यालयका एउटा टीम यो रोबोटको विकासमा गत जुलाईदेखि नै सक्रिय छ । यो रोबोटको प्रदर्शन चियोनान सहरमा यसै मे महिनाको शुरुमा गर्ने तयारी कम्पनीको छ । तत्कालका लागि यसले रेस्टुरन्टमा आएका ग्राहकका टेबलसम्म खानाहरु फूडहरु पुर्‍याउने र जुठो थालीहरु निश्चित ठाउँमा ल्याउने कामका लागि प्रयोग गरिनेछ । वूवा ब्रदर्शका अनुसार यो रोबोट परियोजना तीन चरणमा विकसित गरिने छ । पहिलो चरणमा इन्डोर वातावरणमा खाना डेलिभरी गर्नका लागि उक्त रोबोटको प्रयोग गरिनेछ ।


दोस्रो चरणमा भने रोबोटलाई इन्डोर र आउटडोरसम्म तयारी फूट आइटमहरु पुर्याउने गरि विकसित गरिनेछ । खास अपार्टमेन्टहरुमा यसको प्रयोग गरिनेछ । तेस्रो चरणमा रोबोटले रेस्टुरेन्टबाट ग्राहकका घरसम्म फूड आइटमहरु पुर्‍याउने गरि विकसित गरिनेछ । यो रोबोटको विकासले समय र पैसाकोसमेत बचत हुने दाबी कम्पनीको छ । रोबोटिक संसारमा सोफियाले चर्चा पाएजस्तै ‘डेलिभरी रोबोटहरु’ले पनि आफ्नो कामबाट ग्राहकहरुलाई सन्तुष्ट पार्ने दाबी प्राविधिकहरुको छ । उनीहरु भन्छन्, ‘मानिसहरु कामचोर हुन सक्छन तर रोबोटहरु बिना स्वार्थको मालिकको काम सजिलै र छिटो सम्पन्न गर्नेछन् ।’


प्रकाशित : चैत्र १२, २०७४ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?