टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तै चलाउन दिइने

दर पुरानै गति भने तीव्र
विष्णु पोखरेल

काठमाडौं — नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ ।

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, चार दिन सित्तै चलाउन दिइने

‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको हो,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘त्यसैले गर्दा अहिले व्यावसायिक प्याकेज ल्याइएको छैन, प्रवर्द्धनका लागि पुरानै दरमा चलाउन दिने निर्णय भएको हो ।’ ती अधिकारीका अनुसार हाल दोस्रो पुस्ताको मोबाइल सेवा (टुजी) र तेस्रो पुस्ताको मोबाइल सेवा (थ्रीजी) मा लागू भएकै महसुल दर फोरजीका लागि कायम गरिएको हो ।

टेलिकमले हालसम्म नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजीको महसुल दर स्वीकृतीका लागि पठाएको छैन । पुरानै दरमा फोरजी लागू गरिएकाले टेलिकमले प्राधिकरणमा नयाँ महसुल प्रस्ताव नगरेको टेलिकमका अधिकारीहरू बताउँछन् । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले समेत त्यसलाई पुष्टि गरे । ‘टेलिकमले फोरजीका लागि भनेर महसुल दर प्रस्ताव गरेको छैन,’ उनले भने, ‘उनीहरूले प्रवर्द्धनका लागि पुरानै दरमा सेवा दिन सक्छन्, त्यसैले पेस नगरेको हुन सक्छ ।’

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले टेलिकमले फोरजी औपचारिक रूपमा सुरु गर्नुभन्दा अगाडि नयाँ महसुल दर स्वीकृत गराउने अवस्था छैन । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भने फोरजीको महसुल दर र प्याकेजबारे आइतबार नै जानकारी दिने बताइन् । ‘हामी सफ्ट लन्चकै बेलामा सबै जानकारी दिनेछौं,’ उनले भनिन् ।

हाल कुनै पनि ग्राहक योजना (प्याकेज) बिना थ्रीजी र टुजी चलाउने ग्राहकले इन्टरनेटका लागि प्रतिमेगाबाइट करबाहेक १ रुपैयाँ तिर्दै आएका छन् । तर, ‘प्याकेज’ मा सहभागी भई ग्राहकले कम दरमा समेत इन्टरनेट चलाउन पाउँछन् । यसैगरी जीएसमए र सीडीएमए मोबाइल सेवाअनुसार फरक दरसमेत छ ।

टेलिकमले परीक्षणका क्रममा काठमाडौं र पोखरामा रहेका आफ्ना कर्मचारीलाई भने फोरजी चलाउन अनुरोध गर्दै एसएमएस गरेको थियो । उसले आगामी शनिबारसम्ममा कर्मचारीहरूलाई फोरजीबारे सुझाव दिनसमेत अनुरोध गरेको छ । टेलिकमले आफ्नै कर्मचारीलाई पठाएको एसएमएसमा भने प्रतिमेगाबाइट ४ पैसा महसुल लाग्ने जानकारी दिएको छ । तर, परीक्षणकालको महसुल ग्राहकलाई लागू नहुने टेलिकमका अधिकारीहरूले बताए ।

भ्वाइसका लागि भने टुजी र थ्रीजी पोस्टपेड ग्राहकले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म (पिक आवर) का लागि प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले १ रुपैयाँ तिर्दै आएका छन् । यो टेलिकमको नेटवर्कबाट टेलिकममै कल गर्दाको दर हो । यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने पोस्टपेड मोबाइलमा ५५ पैसा प्रतिमिनेट तिर्नुपर्छ । थ्रीजी पोस्टपेड र प्रिपेडबाट भिडियो कल गर्दा भने प्रतिमिनेट २ रुपैयाँ र एमएमएस पठाउँदा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा तिर्नुपर्छ ।

फोरजी सेवाका लागि ग्राहकले पुरानै दरमा सेवा लिन पाए पनि त्यसको गति भने तीव्र हुनेछ । यसको गति ३० देखि ४० मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) बीच हुने टेलिकमका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले फोरजीका लागि १ सय एमबीपीएस गति तोकेको भए पनि धेरै मुलुकमा ४० एमबीपीएस गतिको इन्टरनेटलाई फोरजीका रूपमा लिने गरिएको छ । भारतमा समेत सेवा प्रदायकले यही गतिमा फोरजी सुरु गरेका छन् ।

टेलिकमले यसअघि सिमकार्ड बिक्री गर्दै आएका राजधानीका सबै आफ्ना काउन्टरबाट फोरजीको सिमकार्ड बिक्री गर्ने योजना बनाएको छ । पोखराका ग्राहकले भने महेन्द्रपुल शाखाबाट सिमाकार्ड पाउनेछन् । पुरानो सिमकार्डमा फोरजी नचल्ने भएकाले ग्राहकले आइतबारपछि नयाँ सिमकार्ड लिन सक्नेछन् । यसका लागि युनिर्भसल सिमकार्ड (युसिम) लिनुपर्नेछ । टेलिकमका अधिकारीहरूका अनुसार ग्राहकले पहिलेकै जसरी फोरजीको सिमकार्ड साट्न सक्नेछन् । फोरजी चल्ने मोबाइल सेट बोक्ने ग्राहकले युसिम प्रयोग गरी यो सेवा लिन सक्नेछन् ।

सरकारी स्वामित्वको टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको हो । उच्च गतिको इन्टरनेट हुने यो सेवा विकसित मुलुकमा भने करिब ६ वर्षदेखि सुरु भइसकेको छ । केही मुलुकले पाँचौं पुस्ताको मोबाइल सेवा (फाइभजी) को समेत परीक्षण थाल्ने घोषणा गरिसकेका छन् ।

सरकारले गत कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो । सरकारले टेलिकमले पाएको पुरानै फ्रिक्वेन्सीमा फोरजी चलाउने अनुमति दिएको हो । टेलिकमले पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीमा यो सेवा चलाउनेछ । त्यसका लागि टेलिकमले यो ब्यान्डमा पाएको १५ मध्ये ५ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गर्ने जनाएको छ ।

चार दिन सित्तैमा फोरजी
हाललाई पुरानै दरमा फोरजी चलाउन दिने तयारी गरेको टेलिकमले ग्राहकलाई सुरुका चार दिन भने सित्तैमा फोरजी चलाउन दिने प्याकेज तय गरेको छ । ‘ग्राहकलाई नयाँ सेवाबारे जानकारी दिन पनि यस्तो प्याकेज बनाइएको हो,’ टेलिकमका एक अधिकारीले भने, ‘हामीले ४ दिनका लागि हरेक दिन एक/एक जीबी (गिगाबाइट) डाटा सित्तैमा चलाउन दिँदै छौं ।’

जीएसएम मोबाइलका ग्राहकले एसएमएस पठाएरै यो सेवा लिन सक्ने उनले बताए । जनवरी महिनाभर यो प्रवर्द्धनात्मक योजना लागू भए पनि एकपटक सेवा लिएर चार दिन चलाएका ग्राहकले भने फेरि सित्तैमा चलाउन पाउने छैनन् ।

प्रकाशित : पुस १५, २०७३ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?