क्यान इन्फोटेक तयारी

अनलाइनबाटै टिकट

काठमाडौ — कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले बिहीबारदेखि आयोजना गर्ने सूचना प्रविधि मेला सुविसु क्यान इन्फोटेकलाई प्रविधिमय बनाउने भएको छ ।


इन्फोटेकको टिकट क्यान डट ओआरजी डट एनपी र क्यानइन्फोटेक डट ओआरजी डट एनपी लगइन गरेर अनलाइनबाट खरिद गर्न सकिने व्यवस्था मिलाइएको क्यानले जनाएको छ । अनलाइनबाट टिकट खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ । एफवानसफ्ट इन्टरनेसनल र ई-सेवासँग सहकार्य गरिएको अनलाइन टिकट खरिद गर्दा ई-सेवा एकाउन्ट प्रयोग गरेर मोबाइलबाटै रकम तिर्न सकिने व्यवस्था मिलाइएको क्यानका अध्यक्ष विनोद ढकालले जानकार दिए । इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय  र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।
यस्तै क्यान मेलाबारे मोबाइल एप्लिकेसनबाट समेत जानकार पाइने छ । आइफोन तथा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले एनलोकेट मोबाइल एप्लिकेसन डाउनलोड गरेर क्यान इन्फोटेकमा सहभागी कम्पनी, सामान, ब्रान्ड र सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् । इन्फोटेकमा प्रदर्शन गरिने वस्तु/सेवाबारे एसएमएसबाट पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको क्यानका महासचिव अमृत पन्तले जानकारी दिए । यसका लागि आफ्नो मोबाइलको म्यासेज बक्समा क्यान स्पेस आफूले खरिद गर्न चाहेको सामान वा ब्रान्डको नाम वा सर्भिसको नाम टाइप गरी ५००१ मा पठाउनुपर्नेछ ।
त्यसैगरी प्रदर्शनीको अवधिभर हरेक दिन घन्टैपिच्छे तथा दैनिक रूपमा लक्की ड्रको समेत व्यवस्था गरिएको छ । प्रदर्शनीस्थल परिसर सीसीटीभीको माध्यमबाट क्यामेराको निगरानीमा रहनेछ । क्यान इन्फोटेक पुस १८ देखि २३ गतेसम्म राजधानीको भृकुटीमण्डपमा हुँदै छ ।

प्रकाशित : पुस १६, २०७० ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?