कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

प्रविधिले बनायो ग्राहकमुखी

राजु चौधरी

काठमाडौ — 'पहिले बैंकको चेक बोकेर घन्टौंसम्म लाइन बस्नुपथ्र्यो । सेयर खरिदकर्ता/ बिक्रेता उपत्यका बाहिर भएको अवस्थामा पैसा बाहिर पठाउन ३/४ दिन लाग्थ्यो,' सेयर ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले भने, 'अहिले केही मिनेटमै काम सम्पन्न हुन्छ ।'

नयाँ प्रविधिको आविष्कारसँगै बैंकले अपनाएको अनलाइन प्रणालीले यो सम्भव भएको हो ।
बैंकको संख्या बढ्न थालेपछि सुविधा पनि थपिएका छन् । ग्राहकलाई सेवा दिन सार्वजनिक विधामा पनि बैंक खुला राख्ने, कतिपय बैंकमा काम गर्ने समयभन्दा थप दुई घन्टा बढी सुविधा दिने परम्परा पनि सुरु भइसकेको छ । आगामी ५ वर्षमा बैंकिङ सेवा थप परिवर्तन हुने सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश श्रेष्ठ बताउँछन् । 'थप सुविधासहित आगामी ५ वर्षभित्र बैंकिङ सेवामा ठूलो परिवर्तन आउने देखिन्छ,' उनले भने ।
सनराइज बैंककी निमा प्रधानले वाणिज्य बैंकको संख्या क्रमिक रूपमा बढेकाले बजार प्रतिस्पर्धा र गुणस्तर सेवा दिन प्रविधिसँगै बैंकिङ सेवालाई परिमार्जन गर्दै लगेको बताइन् । 'मुलुकमा ३१ वाणिज्य बैंकहरू छन् । सुविधा प्रायः सबैको उस्तै हुन्छ । ग्राहकहरू ब्याजदर मात्रै हेर्दैनन्,' उनले भनिन्, 'जसले गर्दा सेवालाई पनि विशेष ध्यान दिनुपर्छ ।'
बैंकले सेवा विस्तार गर्दै सुरु गरेका एनी ब्रान्च बैंकिङ, धुम्ती सेवा, घरदैलो सेवाले पनि ग्राहकलाई सुविधा थपेको छ । 'अहिले मुलुकका सबै मुख्य सहरमा एटीएम विस्तार भएको छ । प्रायः सबै वाणिज्य बैंकले एटीएमको सेवा दिइरहेका छन्,' एभरेस्ट बैंकका देव दंगालले भने, 'यो सबै प्रविधिको विकास हो जसले ग्राहकलाई सुविधा थपेको छ ।' एटीएमसँगै ग्राहकलाई आवश्यक
आधुनिक बैंकिङ, घरदैलो सेवा, मोबाइल एटीएम सेवालगायत सञ्चालन गरेको उनले बताए ।
'कुनै पनि शाखाबाट कारोबार गर्न सकिने एबीबीएस सुविधासमेत सञ्चालन गरेका छौं,' उनले भने । यस्तै पैसाको प्रतीक्षामा चेक बोकेर बैंकमा भिड लाग्ने संख्या पनि कम भएको छ । पैसा झिक्न एटीएम प्रयोग गर्नेको संख्या बढेपछि अहिले धेरै उपभोक्ता नगद काउन्टरमा देखिन छाडेका छन् । सहरियामाझ पैसा झिक्न एटीएम प्रयोग गर्ने झन् बढेका छन् । चलाउन सजिलो, छिटो र जुनसुकै समय खुला रहने भएकाले पछिल्लो समय धेरैको ध्यान एटीएमले तानेको हो । प्रयोगकर्ताको उल्लेख्य वृद्धिले प्रत्येक वर्ष बैंकहरूले एटीएम मेसिन पनि थपिरहेका छन् । वाणिज्य मात्र नभई विकास बैंक, फाइनान्स कम्पनीलेसमेत एटीएम राख्न थालेका छन् ।
ग्राहकलाई सेवासँगै गुनासो सुन्नका लागि छुट्टै व्यवस्था गर्न थालेका छन् । 'एक दुई दिनको कारोबार होइन, त्यसैले ग्राहक सुविधालाई विशेष ध्यान दिनुपर्छ,' सिद्धार्थ बैंकका आशिष शर्माले भने । ग्राहकको गुनासो सुन्नका लागि छुट्टै व्यवस्था गरेको उनले बताए । 'यस्ता गुनासा सकेसम्म समाधान गरिरहेका छौं,' उनले भने ।
खाता खोल्दा हजारौं रुपैयाँ बुझाउनुपर्ने अवस्था पनि बिस्तारै परिवर्तन हुँदै आएको छ । शून्य मौज्दातमा खाता खोल्नेदेखि आफैं केही रकम राखिदिनेसम्मका योजना बैंकले सार्वजनिक गरेका
छन् । जसमा निःशुल्क एटीएम कार्डदेखि दुर्घटना बिमासम्म समेटिन थालेको छ । यसले ग्राहक संख्या बढाउन बैंक वित्तीय संस्थालाई सहयोग पुगेको छ । अर्कोतर्फ राष्ट्र बैंकले समेत संस्थागत निक्षेपभन्दा व्यक्तिगत खातामा जोड दिन निर्देशन दिइसकेको छ । जसले अझै धेरै व्यक्तिको पहुँचमा बैंकिङ सेवा पुग्ने देखिएको छ ।
विदेशबाट रेमिट्यान्स पठाउनेलाई पनि अधिकांश बैंकले विशेष सुविधा दिएका छन् । आफ्नै ब्रान्डमा समेत सुरु गरिएको रेमिट्यान्स कारोबारका कारण स्वदेशमा पैसा थाप्ने र विदेशमा पठाउनेलाई सहज भएको छ ।

प्रकाशित : पुस ८, २०७० ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा. गोविन्द केसीबीच चिकित्सा शिक्षाको विषयमा भइरहेको आरोप्रत्यारोपबारे के भन्नुहुन्छ?