विकिपिडियामा महिलाको पहुँच बढ्दै

काठमाडौं — विकिपिडियामा महिलाको पहुँच बढ्दै गएको एक अध्ययनले देखाएको छ । पछिल्लो समय विकिपिडियामा महिलाका मुद्धाले पनि ठाउँ पाइरहेको विज्ञहरु बताउँछन् ।
नेपाली भाषामा लेख्ने ६५ सक्रिय लेखकमा १३ जना मात्र महिला रहेको पाइएको हो । 'विगतमा शुन्य रहेको महिला सहभागीता २० प्रतिशतमा पुगेको छ,' विकिमिडिया नेपालका प्रवन्धक गणेश पौडेलले भने, 'पछिल्लो समय प्रविधिलाई महिलाले पछ्याउन थालेका छन् ।'
विकिमिडिया नेपाल र मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेकेा अन्तरक्रियामा विकिपिडियामा सबैले लेख्न सकिने, आफुले लेखेर पोस्ट गरिरसकेका लेखलाई सम्पादन गर्न सकिने, सबैले यसमा खाता खोल्न सकिने लगायतबारे उनले जानकारी दिएका हुन् । विकिपिडियामा कसैको बायोग्राफी, मन परेको खानेकुरा, मन परेको विषयबारे लेख्न सकिन्छ ।
सन् २००१ मा स्थापना भएको विकिपिडियाको हालसम्म २ सय ८७ भाषामा विकास भइसकेको छ । जसमध्ये पाँच वटा नेपाली भाषामा विकास गरिएको छ । नेपालभाषा, भोजपुरी, पाली, संस्कृत र नेपाली भाषामा विकास भइरहेको विकिपिडियामा सबैलाई लेख्न र अफडेट भइरहन उनले सुझाव दिए ।
