१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वर्ष २०१२ का 'द वेस्ट' मोबाइल एप्लिकेसन

भोला महतो

काठमाडौ — चाहे साथीसंगीहरू तथा भावना बाँड्न फेसबुक र ट्वीटरजस्ता समाजिक सञ्जालमा भट्किनुहोस् अथवा म्युजिक सुन्न र टेलिभिजन हेर्न आफ्नै स्मार्ट फोन तथा ट्याबलेट कम्प्युटरलाई प्रयोग गर्नुहोस्, त्यसका लागि विशेषता र सुविधाजनक 'एप्स' नभै हुँदैन।

वर्ष २०१२ का 'द वेस्ट' मोबाइल एप्लिकेसन
स्मार्ट फोन तथा ट्याबलेट कम्प्युटरमा सहजै म्युजिक सुन्ने र टेलिभिजन हेर्न मिल्ने विशेषता र सुविधायुक्त एल्पिकेसनहरू सयौंको संख्यामा नआएका होइनन तर काम लाग्ने एप्लिकेसन दर्जनभन्दा बढी नभएको विश्लेषकहरू बताउँछन्। ती एप्लिकेसनहरूको सूचीमा मोबाइल प्रयोगकर्ताहरूले डाउनलोड गर्नैपर्ने केही एप्लिकेसनः
१. स्लाइस फर ट्वीटर (आइफोन, आइपड टच, एन्ड्रोइड), निःशुल्क
'स्लाइस' फर ट्वीटर एप्लिकेसन आइफोन, आइपड टच, किन्डलफायर एवं एन्ड्रोइड सिस्टम भएका स्मार्ट फोन तथा ट्याबलेट कम्प्युटरह रूका लागि नभै नहुने एप्लिकेसन हो। फेसबुक र ट्वीटर चलाउने सिकारु प्रयोगकर्ताहरूदेखि लिएर पाका प्रयोगकर्ताहरूका लागि समेत यो एप्लिकेसन आवश्यक छ। स्मार्ट डिभाइस तथा इन्टरनेट प्रयोगकर्ताहरूका लागि नभैनहुने यो एप्लिकेसनको मुख्य विशेषता हो—आफूलाई चाहिएको तर छरिएर रहेका कुनै पनि प्रकारका सामाग्री 'कन्टेन्ट' लाई समयमै, सहज तरिकाले खोजी गरेर ल्याइदिनु, पठाइदिनु र व्यवस्थित गरिदिनु। ट्वीटरमा ट्वीट गरिएका सन्देश सामग्रीहरू, असामयिक एवं आपत्कालीन अवस्थाका राजनीतिदेखि प्रविधिसम्मका सूचना, सन्देश र जानकारीहरू, यात्रासम्बन्धी विवरणहरू, भयावह समुद्री आँधी, भुइँचालो, दुर्घटनासम्बन्धी ताजा समाचार, जानकारी, सम्पर्क ठेगाना, इमेल तथा अन्य सामग्रीहरूलाई प्राथमिकता र तिथिमितिका आधारमा समेत नयाँ तरिकाले व्यवस्थित गरेर पलभरमै प्रस्तुत गर्नु यो एप्लिकेसनको मुख्य काम हो। यो एप्लिकेसन आइफोन, आइपड टचका लागि 'एप्प स्टोर, एन्ड्रोइडका लागि 'गुगल प्ले' तथा किन्डल फायरका लागि 'एमेजन एप्पस्टोर'बाट डाउनलोड गर्न सकिन्छ।
२. सोङ्जा (आइफोन, आइपड टच, एन्ड्रोइड), निःशुल्क
'सोङ्जा' एउटा म्युजिक एप्लिकेसन हो, जसले ठीक समयमा ठीक ढंगले काम गर्छ। यो एप्लिकेसनले स्मार्ट फोन अथवा मोबाइल प्रयोगकतार् लाई कुन समयमा कुन म्युजिक, गीतसंगीत सुन्ने भन्ने देखाउँछ। विभिन्न रेडियो, म्युजिक स्टेसन तथा एल्बमहरूबाट शुल्क तिर्नु नपर्ने गीतहरू खोजेर ल्याउँछ। गीत सुन्ने क्रममा विभिन्न विज्ञापन तथा सन्देशहरू हटाएर लगातार गीत मात्र बज्न मद्दत गर्छ। व्यक्तिले आफूले रोजेका, खोजेका गीतहरूको सूची क्रमैसँग मिलाएर राखिदिन्छ र बजाउन सुझावसमेत दिन्छ। गीत- संगीतका लागि यसले डिभाइस प्रयो गकर्ताको सोच र विचारझैं काम गर्छ। यो एप्लिकेसन आइफोन, आइपड टच, किन्डलफायर एवं एन्ड्रोइड सिस्टम भएका स्मार्ट फोन तथा ट्याबलेट कम्प्युटरहरूमा जहाँ पनि प्रयोग गर्न सकिन्छ।
३. भिगल (आइफोन, आइपड टच, एन्ड्रोइड), निःशुल्क
यो एप्लिकेसन आइफोन, आइपड टच, किन्डलफायर एवं एन्ड्रोइड सिस्टम भएका स्मार्ट फोन तथा ट्याबलेट कम्प्युटरहरूमा टेलिभिजन हेर्न मिल्ने सफ्टवेयर प्रोग्राम हो। भिगलको सहायताबाट स्मार्ट तथा मोबाइल फोनसेटहरूमा विभिन्न टेलिभिजन स्टेसनबाट प्रसारित हुने टे लिभिजन कार्यक्रम तथा सिरियलहरू हेर्न सकिन्छ। अमेरिकामा प्रसारण हुने वेस्ट वाइ, बर्गर किङ, फन्डागो, ओल्ड नाभी जस्ता टेलिभिजन स्टेसनहरूले भिगल एप्लिकेसन प्रयोग गरेर टेलिभिजन कार्यक्रम तथा विज्ञापन हेर्ने र रुचिकर कार्यक्रम तथा टेलिभिजन शो छनोट गर्नेहरूका लागि उचित पुरुस्कारको व्यवस्थासमेत गरिएको जनाएको छ।
४.ब्रेउस्टर (आइफोन, आइपड टच, एन्ड्रोइड), निःशुल्क
आइफोन, फेसबुक, जिमेल, लिंक्डइन र ट्वीटर प्रयोगकर्ता चिनिएका र सम्पर्कमा रहेका साथीहरूलाई ल्याएर एउटै सम्पर्क सूचीमा राखिदिनु यो एप्लिकेसनको प्रमुख विशेषता हो। यो एप्लिकेसनले इन्टरनेटका सामाजिक संजालमा सम्पर्कमा आउने नजिकका साथीहरूलाई मात्र होइन मोबाइल टेलिफोन र स्मार्ट फोनकर्ता साथी, नातेदारहरूको इन्टरनेट, इमेल ठेगाना, फोन नम्बरलगायत सम्पर्क माध्यमहरूको एउटा व्यवस्थित सूची बनाएर प्रयोगकर्तालाई उपलब्ध गराउँछ।
ब्रेउस्टरले तयार गर्ने सूचीमा व्यक्तिको तस्बिर, फोन नम्बर र इमेल ठेगाना क्रमैसँग राखिएको हुन्छ। आफूलाई चाहिएको व्यक्तिको नामको पहिलो अक्षर थिच्नेबित्तिकै उक्त व्यक्ति एवं मिल्दोजुल्दो नाम, ठेगाना र फोन नम्बर भएका सम्पूर्ण व्यक्तिको सूची यो एप्लिकेसनले देखाउँछ। यो एउटा यस्तो एप्लिकेसन हो जसको मद्दतबाट चाहिएका व्यक्तिको सम्पर्क ठेगाना सजिलै प्राप्त गर्न सकिन्छ। यो एप्लिकेसन आइफोन, आइपड टचका लागि 'एप्प स्टोर, एन्ड्रोइडको लागि 'गुगल प्ले' र किन्डल फायरका लागि 'एमेजन एप्पस्टोर'बाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।
५. नेक्स ड्राफ्ट द डेज मोस्ट फ्याक्सिनेटिङ न्युज (आइफोन, आइपड टच, एन्ड्रोइड), निःशुल्क
यो एप्लिकेसनले प्रयोगकर्ताको मेलमा दैनिक रूपमा आउने 'मेल न्युजलेटर'लाई छान्ने काम गर्छ। असंख्य समाचारहरूबाट आफ्ना रुचि एवं खोजीअनुसारको विषयगत तथा मुद्दागत समाचार छनोट गरेर उपलब्ध गराउनु यो एप्लिकेसनको मुख्य विशेषता हो। यो एप्लिकेसन एप्प स्टोर, गुगल प्ले तथा एमेजन एप्पस्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।
६. मोबाइल भुक्तानी
यो एप्लिकेसनले साधारणतया तीनवटा काम गर्छ। पहिलो, मोबाइल प्रयोगकर्ताले कुनै संस्था वा व्यक्तिलाई मोबाइलबाटै रकम भुक्तानी गर्नु। दोस्रो, यसले अनलाइन भुक्तानीलाई सहज र विश्वनीय बनाउँछ। तेस्रो, सुरक्षालाई प्रत्याभूति र प्रमाणीकरण गर्ने कार्य गर्छ। यसका अतिरिक्त यो एप्लिकेसनले मोबाइल एवं अनलाइन भुक्तानीसम्बन्धी अरू पनि विकल्प उपलब्ध गराउने काम गर्छ। यो एप्लिकेसनले मोबाइल नेटवर्क मार्फत तुरुन्तै विज्ञापन सुविधा उपलब्ध गराउने र विज्ञापनलाई व्यवस्थित गर्ने कामसमेत गर्छ। यो एप्लिकेसन गुगलको गुगल डट को डट एलजेड स्ल्यास एडवडर्स स्ल्यास एक्सेप्रेसबाट डाउनलोड गर्न सकिन्छ।
७. म्यागिस्टो
म्यागिस्टोले भर्खरै खिचिएको कुनै पनि काँचो मोबाइल भिडियोलाई सम्पादन गर्ने र चाहेजस्तै बनाउने काम गर्छ। सामान्य प्रयासमा मोबाइल भिडियो क्लिपलाई उच्च गुणस्तरीय स्वरूप प्रदान गर्नु यो एप्लिकेसनको मुख्य विशेषता हो। स्मार्ट फोन प्रयोगकर्ताले प्रायः भिडियो खिंचिरहेका हुन्छन्। त्यसैले यो एप्लिकेसनको आवश्यकता र महत्व बढ्दो छ। यो एप्लिकेसन तथा सफ्टवेयरका बारेमा मोबाइल एप्लिकेसन शो डाउन डट कमबाट जानकारी प्राप्त गर्न सकिन्छ।
८. चाइनिज जिपीएस भेहिकल ट्रयाकर
यो एप्लिकेसनको सहयोगले आफ्नो सवारी साधन कहाँ, कुन अवस्थामा छ भन्ने कुरा सजिलै र तत्कालै पत्ता लगाउन सकिन्छ। सवारी साधन जहाँ कहीं भए पनि त्यसको अवस्थाका बारेमा मात्र तीन मिनेटभित्र पत्ता लगाउन सकिन्छ। यो एप्लिकेसनले सर्भरको आवश्यकता राख्दैन, न त सर्भिस जाँच नै लिने दाबी गरिएको छ। यसलाई बोफान डट सीसी स्ल्यास जीपीएस ट्रयाकर बाट डाउनलोड गर्न सकिन्छ।
९. सेकुरा फोन
यो व्यक्तिगत सुरक्षा समस्यालाई तुरुन्तै सामाधान गर्ने एप्लिकेसन हो। सवारी साधन चलाउँदाका बखत होस् वा यात्रा तथा घुमफिरको अवस्थामा होस्, यो एप्लिकेसनले आउन सक्ने सबै दुर्घटना तथा जोखिमहरूका बारेमा तुरुन्तै जानकारी दिन्छ। यो एप्लिकेसन जीपीआरएस प्रविधिमा आधारित विशेष खालको एप्लिकेसन हो, जसले स्वास्थ्यस्थिति र दुर्घटनाको अवस्थाका बारेमा पनि अन्य सम्बन्धित ठेगानाहरूमा जानकारी पठाउने काम गर्छ। यो एप्लिकेसन तथा सफ्टवेयरका बारेमा मोबाइल एप्लिकेसन शोडाउन डट कमबाट जानकारी प्राप्त गर्न सकिन्छ।
१०. मकाउ मोबाइल एप्प
यो स्मार्ट फोन एप्लिकेसनले व्यक्तिको गतिविधिका आधारमा उसको स्थास्थ्य अवस्थामा जाँच गर्ने र सूचना दिने काम गर्छ। यस एप्लिकेसनले स्वास्थ्य समस्याहरूका बारेमा समाधानात्मक सुझावसमेत उपलब्ध गराउँछ। यो एप्लिकेसन क्वालकोम ल्याब, यूएस प्रिभेन्टिभ मेडिसिन इन्कले तयार गरेको हो। यो एप्लिकेसन आइफोन, आइपड टच, किन्डलफायर एवं एन्ड्रोइड सिस्टम भएका स्मार्ट फोन तथा ट्याबलेट कम्प्युटरहरूमा सजिलै राख्न र चलाउन सकिन्छ। यो एप्लिकेसन तथा सफ्टवेयरका बारेमा मोबाइल एप्लिकेसन शोडाउन डट कमबाट जानकारी प्राप्त गर्न सकिन्छ।
गुगलमा बढी खोजियो 'फेसबुक' र 'यु ट्युब'
वर्ष सन् २०१२ मा सर्च इन्जिन याहुमा अमेरिकी राष्ट्रपतीय निर्वाचन सबैभन्दा बढी खोजी गरिएको खबर केही दिनअघि सार्वजनिक भएको थियो। सर्च इन्जिन गुगलमा यो वर्ष सबैभन्दा बढी कुन शब्दको खोजी भएको होला ? सबैमा जिज्ञासा हुनसक्छ। यही जिज्ञासा मेटाउँदै सामाजिक संजाल फेसबुक लगातार दोस्रो वर्ष गुगलमा सबैभन्दा बढी खोजिएको शब्द बन्न सफल भएको छ। गुगल सर्च इन्जिनमा अघिल्लो वर्ष झैं यो वर्ष पनि 'फेसबुक' शब्द नै सबैभन्दा बढी खोजियो।
सार्वजनिक कम्पनीका रूपमा सेयर जारी गरेको, फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहे गरेको जस्ता विषयका कारण मात्र होइन, फेसबुक प्रयोगकर्ताको संख्या चुलिँदै गएका कारण फेसबुक यो वर्ष पनि सबैभन्दा बढी खोजीको विषय बनेको हो। गुगलमा सबैभन्दा बढी खो जिएको शब्दको दोस्रो स्थानमा यु ट्युब पर्न सफल भएको छ। यो वर्ष विभिन्न चर्चित भिडियो अपलोड भएकाले पनि हुनसक्छ, धेरै इन्टरनेट प्रयोगकर्ताले यु ट्युबको खोजी गरे। अझ ग्यांगनम स्टाइल गीतको भिडियो अपलोड भएपछि र एमपीथ्रीका गीत समेत सुन्न सकिने भएपछि यु ट्युबको खोजी ह्वात्तै बढेको हो। गुगल सर्च इन्जिनमा सबैभन्दा बढी खोजि गरिएको शब्दको तेस्रो स्थानमा गुगल आफैं छ।
गुगलमा बढी खोजी गरिएका शब्दको चौथो स्थानमा फ्री भन्ने शब्द छ। फ्री अर्थात् निःशुल्क भन्ने शब्द धेरैको रुचिको विषय भएकाले हुनसक्छ यो शब्दलाई धेरैले खोजी गरे। त्यस्तै बढी खोजी गरिएका शब्दको पाँचौं स्थानमा 'डाउनलोड' शब्द परेको छ भने छैटौँ स्थानमा हटमेल परेको छ। हटमेलले जिमेल र याहुलाई पछि पारेको हो।
केही फरक ग्याजेट्स
२०१२ मा केही आकर्षक ग्याजेट्स सार्वजनिक भए। जस्तो स्मार्टफोनमा आइफोन-५, सामसुङ ग्यालेक्सी एस-३, नेक्सस डिभाइसेस, रोकुको पकेट साइजको प्रोजेक्टर आदि। यहाँ सन् २०१२ मा सार्वजनिक केही ग्याजेट्स प्रस्तुत गरिएको छ, जो फरक भएकै कारण लोकप्रिय रहे।
लिट्रो क्यामेरा
भविष्यमा आउने डिजिटल क्यामेरा अहिले चल्तीमा आएको भन्दा पक्कै पनि फरक हुनेछ। त्यसमा अहिलेको क्यामेरामा जस्तो अटो र म्यानुअल फोकस गर्नुपर्ने कुनै आवश्यकता हुनेछैन। बजारमा लिट्रो नामको एउटा त्यस्तो क्यामेरा आएको छ, जसमा फोटो खिचिसकेपछि त्यसलाई पीसी वा ल्यापटपका रुपमा फोकस गर्न सकिन्छ। यसले फ्रेममा उपलव्ध लाइटका आधारमा फोटो क्यापचरिङ गर्नेछ। क्यामेराले बिना फ्लास राम्रो गुणस्तरको फोटो खिच्न सक्छ। क्यामेरामा केही यस्ता सेन्सर लगाइएको छ, जसले तस्बिरको कलर, लोकेसनलाई अटो एडजस्ट गर्छ। यो क्यामेरामा थ्री डी इमेज पनि लिन सकिनेछ। भविष्यमा आफ्नो मोबाइल सेटमा लिट्रो क्यामेरा प्रयोग गर्न केही मोबाइल कम्पनीले प्रयास गरिरहेका छन्।
गोप्रो हीरो- ३
गोप्रो हिरो-३ आउटडोर फोटोग्राफीको दुनियाँमा अलग नाम हो। तौलमा हल्का हुनका साथै वाटरप्रुफ फिचरयुक्त यो क्यामेरा जहाँ पनि प्रयोग गर्न सकिन्छ। हेर्दा सानो देखिए पनि गोप्रो हिरो-३ क्यामेरामा वाईफाई, लो लाइट फोटो क्यापचरिङका साथै १०८० पिक्सलजस्ता फिचर उपलब्ध छ।
३ एम रोकु प्रोजेकटर
यदि चाहनुहुन्छ भने तपाईं आफ्नो घरमा ठूलो स्क्रिनमा फिल्मको मज्जा लिन सक्नुहुन्छ। यसका लागि कुनै भद्दा प्रोजेक्टरको जरुरत छैन। रोकू नामको एक कम्पनीले यस्तो प्रोजेक्टर वजारमा उतारेको छ, जसको साइज पकेटमै अट्ने खालको छ। यसलाई पकेट फ्रेन्डली प्रोजेक्टर पनि भनिएको छ। यो प्रोजेक्टरबाट ८००ह४८० रिज्युलेशमा भिडियो हेर्न सकिन्छ। प्रोजेक्टरमा लगाइएको ब्याट्रीले लगातार अढाई घण्टा काम गर्छ।




प्रकाशित : पुस २१, २०६९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?