बैतडीका ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो

असार २३, २०८१

मनोज बडू

60 families of Baitadi have been shifted to safe places

दार्चुला — सेती नदीको पानी सिगाउ गाउँपालिका–५ ढुंगाडका बस्ती पस्न थालेपछि स्थानीय ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षाका कारण सेतीको जलस्तर बढेर बस्तीमा पस्न थालेपछि सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको बैतडी प्रशासनले जनाएको छ ।

सिगास–५ ढुंगाडका ती परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको शिक्षक इन्द्रबहादुर चन्दले बताए । उनले बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्ध माथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय बताउँछन् । 

अविरल वर्षाका कारण सेतीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित छन् । सेतीमा पानीको बहाव बढेपछि ढुंगाडसँगै सिगासका हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । 

सिगास ५, ६ र ७ स्थित सेती किनारका बस्तीहरुमा जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वडा नम्बर ८ को मौरीबगड, बरपिपल, मसानीझाड, नाकरा, भौनेली पात्तल, अगुराली र बोरी लगायतका बस्तीमा सेती नदीमा पानीको बहाव पस्ने खतरा रहेको शिक्षक चन्दले बताए ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully