राष्ट्रिय टिमबाट स्वारेजको संन्यास
Highlights
- ‘अब आउने शुक्रबारको खेल उरुग्वेका लागि मेरो अन्तिम हुनेछ, यो निर्णय गर्न मलाई सजिलो भने भएन, यो अन्तिम खेलमा मैले आफूले सक्दो राम्रो गर्नेछु’
काठमाडौँ — फुटबलमा खेलाडीलाई पनि गाह्रै छ । सुरु–सुरुमा कहिले खेल्ने भन्ने प्रश्न । लामो समय खेलिसकेकालाई कहिले छाड्ने भन्ने प्रश्न । अचेल लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले कहिले पो संन्यास लिने होलान् भन्ने प्रश्न चलिरहेको छ । त्यसमध्ये रोनाल्डोले मुखै खोलेर भनिसकेका छन्, ‘जब समय आउनेछ, मैले सजिलै छाड्नेछु ।’ जति बेला उनले यस्तो भनिरहेका थिए, अर्को समाचार आयो, लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए ।
संन्यास घोषणाबारेमा स्वारेजले भनेका छन्, ‘अब आउने शुक्रबारको खेल उरुग्वेका लागि मेरो अन्तिम खेल हुनेछ । यो निर्णय गर्न मलाई सजिलो भने भएन । यो अन्तिम खेलमा मैले आफूले सक्दो राम्रो खेल्ने भने प्रयास गर्नेछु ।’ यतिभन्दा उनी साह्रै भावुक देखिए । आगामी शुक्रबार दक्षिण अमेरिकी विश्वकप छनोटको खेल रहेको छ । मोन्टेभिडियोमा हुने खेलमा उरुग्वेले पाराग्वेको सामना गर्नेछ । त्यस खेलपछि स्वारेजले दोहोर्याएर उरुग्वेको जर्सी लगाउने छैनन् ।
अबका एक दुई वर्षभित्रमा मेसी र रोनाल्डो पुस्ताका धेरै खेलाडीले संन्यास लिनेछन् । त्यसमै एक हुन्, स्वारेज । फेरि स्वारेज त मेसीका सबैभन्दा नजिकका साथी । मेसीका केही खास व्यक्तिगत कार्यक्रममा पनि निम्तो पाउनेमा पर्छन्, उनी । दुवै अमेरिकाको इन्टर मियामी क्लबबाट फुटबल खेलिरहेका छन् । खासमा उनीहरू त्यहाँ पेन्सन पकाइरहेका हुन् । सबैलाई थाहा छ, युरोपतिरका लिगको तुलनामा अमेरिकी फुटबल खासै केही होइन ।
मेसी र स्वारेजको दोस्ती पुरानै हो । दोस्ती असाध्यै धेरै जमेको भने बार्सिलोनाका लागि खेल्दादेखि हो । यो त्यो समय थियो, जति बेला बार्सिलोनासँग विश्व क्लब फुटबलमा सबैभन्दा उत्कृष्ट आक्रमणको अस्त्र थियो । त्यसमा मेसी र स्वारेज त थिए नै, सँगै नेयमार पनि । यो तीन खेलाडीको आक्रमणलाई अझै पनि भन्ने गरिन्छ, यत्तिको बलियो विश्व फुटबलमा दोहोर्याएर हेर्न पाइने छैन । संयोगले तीनै जना दक्षिण अमेरिकाका हुन् ।
त्यति मात्र होइन, दक्षिण अमेरिकी फुटबलका तीन प्रमुख देशको प्रतिनिधित्व गरेर उनीहरूले बार्सिलोनामा तहल्का मच्चाए । मेसी भए, अर्जेन्टिनाका, नेयमार ब्राजिली अनि स्वारेज उरुग्वेली । युरोपेली क्लब फुटबलमा तीन सिजन त उनीहरूको जगजगी नै चल्यो भन्दा हुन्छ । यी तीन सिजन हुन्, सन् २०१४–२०१५ देखि २०१६–२०१७ । उनीहरूले सँगसँगै सबैखाले प्रतियोगितामा गरेर ४ सय ५० खेल खेले ।
यसमा अविश्वसनीय रूपमा एकआपसमा मिलेर ३ सय ६४ गोल गरे । अनि अन्य १ सय ७३ गोलका लागि भूमिका निभाए । अब भनिरहनु पर्दैन, त्यो समय स्पेनी फुटबलमा रियल म्याड्रिडमाथि बार्सिलोना पूर्णतः हाबी थियो । एक प्रकारले भन्दा स्वारेजले आफ्नो खेल जीवनको उत्कृष्ट समयको आधा भाग बार्सिलोनामा बिताए । उनले यस क्याटलान क्लबका लागि १ सय ९१ खेलमा १ सय ४७ गोल गरे, यो भयो २०१४ देखि २०२० को समय ।
अनि स्वारेजको खेल जीवनको अर्को आधी उत्कृष्ट भाग भने लिभरपुलमा थियो । बार्सिलोना जान अगाडि स्वारेज लिभरपुलमै थिए । उनले इंग्लिस प्रिमियर लिगको यस मर्सिसाइड क्लबबाट भने सन् २०११ देखि २०१४ सम्म फुटबल खेले । यसबीच १ सय १० खेल खेल्दै ६९ गोल गरे । लिभरपुलमा छँदा उनी क्लबका प्रमुख खेलाडी थिए । यसक्रममा एकसेएक गोल पनि गरे । लिभरपुलको इतिहासमै यो क्लबका लागि खेलेका असाध्यै राम्रा खेलाडीमा उनको नाम अग्रपंक्तिमा आउँछ ।
यसरी सन् २०११ देखि २०२० बीचका १० वर्षमा उनले आफूलाई त्यस समयको पुस्ताका खेलाडीबीच उत्कृष्ट नै सावित गरे । उरुग्वेको पुरानो विश्वकप जित्दाको समयलाई नलिने हो भने स्वारेज त्यस देशले पाएका सबैभन्दा राम्रा खेलाडीमा पर्छन् नै ।
उनले उरुग्वेका लागि सन् २०११ मा एउटा ऐतिहासिक सफलता पनि चुमे र त्यो थियो, दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका जित्नु ।
त्यो वर्ष यो प्रतियोगिता अर्जेन्टिनामा भएको थियो । त्यसैले आयोजकलाई नै उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी मानिएको थियो । तर, अर्जेन्टिनाले केही पनि गर्न सकेन । उपाधि उरुग्वेको नाममा रह्यो र उसले फाइनलमा पाराग्वेलाई हराएको थियो । अर्जेन्टिना त सेमिफाइनल पनि पुग्न सकेन किनभने उरुग्वेले क्वाटरफाइनलमै आयोजक देशको चुनौती काटेको थियो । अनि सेमिफाइनलमा उसले पेरुलाई पन्छाएको थियो ।
पूरा प्रतियोगितामा स्वारेज छाए र उत्कृष्ट खेलाडी नै घोषित भए । उनले भनेका पनि छन्, ‘उरुग्वेका लागि मेरो सबैभन्दा ठूलो उपलब्धि भन्नु नै त्यो कोपा अमेरिकाको उपाधि जित्नु हो । त्यो समय म असाध्यै खुसी थिएँ । त्यस बेलाको प्रत्येक क्षण मेरो मनमा अझै ताजै छ ।’ यति भनिरहँदा उनको खेल जीवनबाट एक–दुई त्यस्ता घटनालाई पनि उल्लेख गर्नुपर्छ, जसले प्रमाणित गर्छ, उनी राम्रा खेलाडी त हुन् नै, उत्तिकै झेल्ली पनि ।
सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा उरुग्वेले घानाको सामना गरेको थियो । त्यो खेल अतिरिक्त समयमा पुग्दा अन्त्यतिर स्टेफेन एपिहले त्यस्तो प्रहार गरे, जुन निश्चित गोलमा परिणत हुने क्रममा थियो । तर स्वारेजले त्यसलाई पोस्टको ठीक अगाडिबाट हातले रोके । अन्त्यमा त्यो खेलमा उरुग्वे टाइब्रेकरमा विजयी रह्यो । त्यो फुटबल खेल भावनाको चरम अपहेलना थियो । सन् २०१४ को विश्वकपमा त उनले अझ अति नै गरे ।
इटालीका जर्जिना चिलेनीलाई मैदानमै टोके । नतिजा उनी चार महिना प्रतिबन्धमा परे । यति हुँदाहुँदै पनि उनी जुन चतुर्याइँले फुटबल खेल्ने गर्थे, त्यसमा भने सबै कायल नै थिए । साह्र्रै फूर्तिला खेलाडी मानिन्छन्, स्वारेज । उरुग्वेका लागि उनले १ सय ४२ खेल खेलिसके । त्यसमा ६९ गोल गरेका छन् । पाराग्वेविरुद्धको खेलमा अन्तिम पटक उत्रिँदा उनका सामु आफ्नो देशका लागि केही गोल थप्ने अवसर हुनेछ । अनि फुटबल पारखीका लागि हुनेछ, उनलाई उरुग्वेका लागि अन्तिम पटक खेलेको हेर्ने अवसर ।
प्रकाशित : भाद्र १९, २०८१ ०६:०९