हिलोमै घुँडा टेकेको नेपाली फुटबल
Highlights
- भुटानी टिम पारोका प्रशिक्षकले भने, ‘यत्तिको भौतिक पूर्वाधारले पुग्दै पुग्दैन’
- एएफसीको निचोड थियो : दशरथ रंगशालाको मैदानको दुबो नै स्तरीय छैन । माटोको सतह मिलेको छैन । फ्लडलाइटको व्यवस्था मिल्दैन अनि सुरक्षाको प्रत्याभूति पनि गाह्रो छ ।
काठमाडौँ — नेपाली फुटबललाई सधैं कुनै एउटा रोगले पिरोल्ने गरेको छ भने त्यो भौतिक पूर्वाधारकै अभाव हो । जति छन्, त्यसको स्थिति पनि गतिलो छैन । अन्तर्राष्ट्रिय मापदण्डअनुसार भन्न मिल्ने एउटै दशरथ रंगशालाको पनि स्तर नै पुगेन भनेर यसबाट बारम्बार नेपालका अन्तर्राष्ट्रिय खेल खोसिन गर्छ ।
एएफसी च्यालेन्ज कप लिगको प्रारम्भिक चरणअन्तर्गत चर्च ब्वाइज र भुटानको पारो एफसीबीचको खेलमा हदै भयो । खेल सुरु हुन अगाडि एक घण्टा अगाडि मात्रै के वर्षा भएको थियो, पूरा मैदान पानी नै पानी भयो ।
अनि खेल सुरु भइसकेपछि एकैछिनमा यो हिलाम्य मैदानमा परिणत भयो । खेल हेरेका सबैको एउटै प्रतिक्रिया थियो, यस्तो मैदानमा कसरी पो फुटबल हुन्छ ? मैदानको स्थितिले देशकै बद्नाम मात्रै भयो । आखिरमा दोष कसको त ?
चर्च ब्वाइजका प्रशिक्षक हुन्, बालगोपाल महर्जन । एक दशकभन्दा अगाडिसम्म खेलाडीका रूपमा २० वर्षजतिको समय बिताए । उनी भन्छन्, ‘हामी खेल्दा पनि यस्तै स्थिति थियो । अहिले पनि यस्तै छ । हिलोमा जुत्ता गाढिने स्थिति अझै गएको छैन ।’
मैदानको यस्तो खराब स्थिति अहिलेको समस्या होइन । धेरै अगाडिदेखि यो समस्या निरन्तर चलिरहेकै छ । तर, दीर्घकालीन रूपमा भने समस्याको समाधान कहिल्यै खोजिएन । भुटानी टिमबाट खेल्न जापानका ‘नामी’ खेलाडी केइसुके होन्डा पनि काठमाडौं आएका थिए । पारोलाई सुरुमा अभ्यासका लागि भद्रकालीस्थित आर्मीको मैदान उपलब्ध गराइएको थियो । त्यहाँ पुगेर मैदान देखेपछि उनको प्रतिक्रिया थियो, ‘यो त ठट्टै भयो ।’ दशरथ रंगशालाको मैदानबारे उनले थप प्रतिक्रिया दिएनन् । दिन्थे त त्यसलाई पनि ठट्टै भन्थे ।
बरू भुटानी टिमका प्रशिक्षक पुष्पलाल शर्माले हाकाहाकी भने, ‘यत्तिको भौतिक पूर्वाधारले पुग्दै पुग्दैन ।’ नेपाली प्रशिक्षक महर्जनलाई पनि चिन्ता थियो, ‘जतिले त्यो खेल हेरे, दशरथ रंगशालाको स्थिति देखेर के मात्रै भने होलान् ?’ खासमा कसैले पनि राम्रो भनेनन् । यसमा दोष सबैको छ, युवा तथा खेलकुद मन्त्रालयदेखि राष्ट्रिय खेलकुद परिषद्सम्म । अनि अखिल नेपाल फुटबल संघ (एन्फा) देखि देशको खेल नेतृत्व हाँक्नेहरू । तिनीहरू कहिल्यै फुटबलको विकासका लागि दीर्घकालीन सोच बनाउनै सकेनन् ।
दशरथ रंगशालामा भएको अन्तिम अन्तर्राष्ट्रिय खेल विश्वकप छनोटमा नेपाल र यमनबीच थियो । यो खेल भएको थियो, सन् २०२३ को नोभेम्बरमा । त्यसपछिको घटनाक्रमले नेपाली खेलकुदमा के कस्तो हुन्छ, त्यसको सार खिच्न मिल्छ । विश्वकप छनोटको नेपालका बाँकी खेल खेलाउनु अगाडि दशरथ रंगशालाको निरीक्षण गर्न एसियाली फुटबल महासंघ (एएफसी) को टोली वैशाखमा नेपाल आएको थियो । त्यसले वैशाख २० र २१ गते रंगशालाको निरीक्षण गरेको थियो ।
पछि उनीहरूले दिएको प्रतिवेदनमा भनियो, दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलका लागि योग्य छैन । एएफसीको निचोड थियो, दशरथ रंगशालाको मैदानको दुबो नै स्तरीय छैन । न त माटोको सतह मिलेको छ । फ्लडलाइटको व्यवस्था पनि मिल्दैन अनि सुरक्षाको प्रत्याभूति दिन पनि गाह्रो छ ।
यसरी यमनविरुद्धको खेलको ५ महिनापछि नै यसले अन्तर्राष्ट्रिय मान्यता गुमायो । नेपाल तटस्थ भूमिका रूपमा विश्वकप छनोटको बाँकी खेल विदेशमा खेल्न बाध्य रह्यो ।
यसबीच एन्फा र राखेपको सम्बन्ध पनि नाजुक बन्यो । एन्फाले अनावश्यक पदाधिकारीलाई विदेश लैजान खोजेको आरोपमा परिषद्ले त्यसलाई रोक्न खोजेको थियो । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको र उचित संरक्षण पनि गर्न नसकेको आरोपमा परिषद्ले दशरथ रंगशाला मैदानको जिम्मेवारी आफैं लिएको थियो । यसबीच परिषदले रग्बीको प्रतियोगिता नै दशरथ रंगशालामा आयोजना गर्न दियो । यसले मैदान अझ बिग्रियो । रग्बीको प्रतियोगिता दशरथ रंगशालामै गराउनु दोषपूर्ण थियो । त्यतिमात्र होइन, खेलसँग असम्बन्धित अन्य केही कार्यक्रम पनि रंगशालामै आयोजना भए ।
अहिलेको एएफसी च्यालेन्ज कप लिगअगाडि एएफसीका प्रतिनिधिले फेरि दशरथ रंगशालाको निरीक्षण गरेको थियो । यसपल्ट भने उसले यो मैदानमा अन्तर्राष्ट्रिय खेल गर्न मिल्ने बतायो । परिषद्लाई लागेको थियो, हामीले ठूलै काम गरेका थियौं । तर, काम कति धेरै कच्चा थियो, त्यसको छनक निस्कन लामो समय कुर्नुपरेन । त्यस अर्थमा यसको धेरैभन्दा धेरै दोष त परिषद्कै टाउकोमा जान्छ । एन्फा के मान्छ भने दशरथ रंगशालाको मैदानको जिम्मा उसकै हुनुपर्छ ।
२०७२ सालको भूकम्पपछि दशरथ रंगशाला लामै समय बन्दको स्थितिमा रह्यो । सन् २०१९ को १३ औं दक्षिण एसियाली खेलकुदका लागि यसको पुनर्निर्माण गरिएको थियो । त्यसयता पनि मैदानमात्रै नभएर पूरा रंगशालाकै रेखदेख कहिल्यै राम्रो हुन सकेन । भएका भौतिक पूर्वाधारको पनि जतन गरिएन । अहिलेको हिलाम्य मैदानलाई एकै घण्टाको पानीले त्यसै तहसनहस गरेको होइन, यो त शृंखलाबद्ध लापरवाहीको चरम नमूना एकैपल्ट विष्फोट भएको मात्रै हो ।
परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दशरथ रंगशलाको स्थिति अहिलेको भन्दा राम्रो हुनुपर्ने तथ्य भने स्वीकारेका छन् । अब के त ? एन्फाका सीईओ इन्द्रमान तुलाधर के मान्छन् भने मैदानको पूर्ण पुनर्निर्माण एउटा उपाय हुन सक्छ । एएफसीको मापदण्डअनुसार मैदानको पुनर्निर्माण आवश्यक हुन सक्छ । यसका लागि लामो समय चाहिन सक्छ, खर्च पनि उत्तिकै लाग्न सक्छ । अहिले नै दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबलको दुई कार्यक्रम रहेको छ । त्यो भनेको साफ यू–२० च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप हो ।
त्यसमध्ये यू–२० च्याम्पियनसिपका लागि रंगशालामा फेरि एएफसीको निरीक्षण चल्नेछ । डर छ, फेरि एकपल्ट दशरथ रंगशाला अन्तर्राष्ट्रिय फुटबलका लागि अयोग्य घोषित हुन सक्नेछ ।
प्रकाशित : श्रावण ३१, २०८१ ०६:३५