म्यानचेस्टर — इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन यसै सप्ताहन्त सुरु हुँदै छ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी कीर्तिमान पाँचौंपल्ट लिग उपाधि जित्ने होडमा रहने छ । शुक्रबार लिगको पहिलो खेल हुनेछ ।
सिटीलाई यो अविश्वनीय सफलताबाट रोक्ने टिम कुन हुनेछ त ? वा सिटीलाई चुनौती दिने को त ? यो टिम आर्सनल हुनसक्छ, लिभरपुल पनि हुनसक्छ या म्यानचेस्टर युनाइटेड ।
धेरै खेल पण्डितका लागि सिटी नै उपाधिको एकमात्र बलियो प्रत्याशी हो । सिटीले जसरी लगातार एकपछि अर्को सिजन खेलिरहेको छ, त्यसले उसलाई अविश्वसनीय रूपमा पाँचौं उपाधि जित्नका लागि प्रेरित गर्नेछ । प्रशिक्षक पेप ग्वार्डिओलाको रणनीति पनि उत्तिकै आक्रामक रहने गरेको छ । टिम आफैं पनि निकै बलियो छ । सिटीमा स्टार खेलाडीको कुनै कमी छैन ।
लिभरपुलले गत सिजन योर्गन क्लोपको नेतृत्वमा खेलेको थियो । टोलीले क्लोपलाई सुखद विदाइ भने दिन सकेन । टिम तेस्रो स्थानमा रह्यो । क्लोपले त्यही सिजनको अन्त्यसँगै क्लब छाडेको थियो । उनको स्थानमा आएका छन्, आर्ने स्लट । जर्मन प्रशिक्षकले लिभरपुललाई फेरि एकपल्ट इंग्लिस फुटबलमा शक्तिको रूपमा स्थापित गरे । उनको स्थान लिन स्लटलाई पक्कै गाह्रो हुनेछ । तर, अहिलेसम्म नयाँ सिजनमा लिभरपुलको सुरुआत राम्रै रहेको छ ।
प्रि–सिजन टोलीले आर्सनल, म्यानचेस्टर युनाइटेड र सेभियालाई हराएको छ । तर लिभरपुलले नयाँ कोही खेलाडीलाई भित्र्याउन सकेको पनि छैन । स्लटको खेलाउने शैली लगभग क्लोपकै जस्तो रहेको मानिन्छ । त्यसै कारणले पनि लिभरपुलले उनलाई फेयर्नउडबाट भित्र्याएको थियो । उनी चाहन्छन्, आफ्नो नेतृत्वमा लिभरपुलले राम्रो सुरुआत लेओस् । हुनसक्छ, यो सिजन आर्सनलको पनि रहनेछ ।
गत सिजन आर्सनलले ८९ अंक बटुलेको थियो । यो प्रिमियर लिग इतिहासमा टोलीले कमाएको सबैभन्दा बढी अंक हो । तर, यति अंकमा पनि आर्सनलले सिटीलाई उपाधि जित्नबाट रोक्न सकेन र दोस्रो स्थानमै रह्यो । केही पीडादायी अनुभवपछि आर्सनल फेरि एकपल्ट उपाधिको दाबेदार बनेको छ । पछिल्लो तीन सिजन आर्सनलले राम्रैसँग प्रगति गरेको छ । इटालीका रिकार्डो कालाफेरीको आगमनपछि आर्सनल अझ बलियो भएको हुनुपर्छ ।
आर्सनलका लागि एउटा तथ्य चिन्ताको विषय हुनुपर्नेछ । यो हो, लिगमा सम्भावित सुस्त सुरुआत । गत सिजन आर्सनलले यस्तै समस्या भोगेको थियो । यसमा प्रशिक्षक मिखेल आर्टेटाले ध्यान दिनैपर्छ । उपाधिका लागि चुनौती दिने टिममा म्यानचेस्टर युनाइटेड पनि हुन सक्नेछ । युनाइटेडले गत सिजन एफए कपको फाइनलमा सिटीलाई हराएको थियो । तर, यसपल्ट कम्युनिटी सिल्डमा युनाइटेड सिटीको हातबाट पराजित भइसकेको छ । हार पेनाल्टी शुटआउटबाट भयो ।
युनाइटेडले यसपल्ट पनि डच प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा खेल्नेछ । उनले गत सिजन बल्लतल्ल आफ्नो जागिर जोगाएका थिए । उनी बर्खास्तगीबाट बचे । युनाइटेडले यो सिजन खेलाडी किनबेचमा पनि आफूलाई व्यस्त राखेको छ । त्यसैले युनाइटेड समर्थकहरू यसपल्ट उत्साहित देखिएका छन् । सिजनको पहिलो खेलमा युनाइटेडले फुलहमको सामना गर्नेछ । राम्रो सुरुआत लिन नसके फेरि टेन हाग दबाबमा हुनेछन् ।
प्रकाशित : श्रावण ३१, २०८१ ०६:२९