म्याड्रिड — गत सिजन रियल म्याड्रिड त्यस्तो टिम रह्यो, जसलाई अरूले हराउनै सकेन । त्यसैले टोलीले सजिलै स्पेनी ला लिग जित्यो अनि युरोपेली च्याम्पियन्स लिग । धेरैको अनुमान छ, अबको सिजन २०२४–२५ मा रियलको प्रदर्शन अझ बलियो हुन सक्नेछ । यसको एउटा कारण हो, टिममा फ्रान्सेली सुपर स्टार केलियन एमबाप्पे भित्रिनु ।
त्यसो त एमबाप्पेले डेब्युमै रियलका लागि गोलसमेत गरेका छन् । बुधबार राति भएको यूईएफए सुपर कपमा उनले टिमका लागि १ गोल गरे । समग्रममा उक्त खेलमा एटलान्टलाई रियलले २-० ले हरायो ।
त्यसै पनि रियलमा यसअघि नै एकसेएक खेलाडी थिए। एमबाप्पे रियल जान्छन् भने अनुमान सुरु भएको धेरै भयो । बल्लतल्ल यसै सिजनमात्र यो स्थानान्तरण पूरा भएको हो । त्यसैले सन् २००७–०८ यता पहिलो पटक रियल लिग उपाधिको रक्षा गर्ने संघारमा छ । रियलको खास प्रतिस्पर्धी टिम हो, बार्सिलोना । शत्रु टिम नै भन्दा हुन्छ । तर, यही बार्सिलोना खराब आर्थिक स्थितिबाट गुज्रिइरहेको छ । बार्सिलोनाले यसपल्ट नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा खेल्दै छ ।
अर्कोतर्फ एट्लेटिको म्याड्रिड पुरानै प्रशिक्षक डिएगो सिमोनीको नेतृत्वमा खेल्छन् । एट्लेटिकोले आफ्नो टिम अझ बलियो बनाउन दुई खेलाडी किनेको छ । अर्जेन्टिनाका जुलियन अल्भारेज र स्पेनी डिफेन्डर रोबिन ले नर्मन्ड । फेरि रियलमै फर्कने हो भने टोलीको आक्रमणमा एमबाप्पेलाई साथ दिनेछन्, भिनिसियस जुनियर र रोड्रिगोले । ब्राजिली सनसनी युवा खेलाडी एन्डरिक पनि रियलमा हुनेछ ।
रियलले टोनी क्रुसलाई भने गुमाएको छ । यो प्रशिक्षक कार्लो एन्सेलोट्टीका लागि समस्या हुन सक्नेछ । क्रुसले संन्यास लिएका छन् । त्यसैले उनी टिममा छैनन् । तर भेट्रान अनुभवी खेलाडी लुका मोड्रिच भने टिममै रहनेछन् । सम्भवतः यो सिजन उनको अन्तिम हुन सक्नेछ । त्यसैले पनि उनी मिडफिल्डबाट रियलका लागि गतिलो योगदान दिन उत्सुक हुनेछन् । टिमको आक्रमणमा जुड बेलिङ्घमको साथ रहनेछ ।
गत सिजन रियलले आफ्ना प्रमुख खेलाडीहरू चोटग्रस्त रहेता पनि सबै खाले सफलता प्राप्त गरेको थियो । त्यति बेला घाइते रहेका थिओ कोट्वा, एडेर मिलिटाओ र डेविड अल्बा सबै त्यसबाट मुक्त भएर टिममा फर्किसकेका छन् । डिफेन्डिङ च्याम्पियनका रूपमा रियल पछिल्ला चार सिजनमा तेस्रोपल्ट उपाधि जित्न प्रेरित रहनेछ । बार्सिलोनाले भने यस सिजनका लागि प्रशिक्षकमा जाभीको स्थानमा फ्लिकलाई ल्याएको हो ।
जाभी रहेका बेला बार्सिलोना गत सिजन राम्रो खेल्न असक्षम रह्यो । फ्लिकले अबको सिजनका लागि खासै नयाँ खेलाडी अनुबन्ध गरेका छैनन् । बार्सिलोनाका लागि जाभी, पेड्री र फ्रान्क डी जोङको चोट भने समस्या हुनसक्छ । गत सिजन बार्सिलोना रियलभन्दा १० अंकले पछाडि थियो । टोलीका लागि यो सिजन पनि चिन्ताको विषय रहनेछ । गत सिजन एट्लेटिको चौथो स्थानमा थियो, जिरोनाभन्दा पनि पछाडि ।
एट्लेटिकोले यस सिजनका लागि भनेर आफ्नो टिमलाई बलियो बनाएको छ । अझै पनि टिमको प्रमुख आक्रमणमा एन्टोइन ग्रिजमन नै हुनेछ । जिरोना भने गत सिजन अविश्वसनीय ढंगले तेस्रो स्थानमा रह्यो । के टोलीले यस सिजन पनि यस्तै लय समात्ने छ त ? यसको जवाफ गाह्रो छ । यो सिजन टोलीका लागि सजिलो रहने छैन ।
प्रकाशित : श्रावण ३१, २०८१ ०६:३३