कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

म्याराथन धाविकाको ‘हलिउड’ अन्त्य

श्रावण २८, २०८१
म्याराथन धाविकाको ‘हलिउड’ अन्त्य

पेरिस — सिफन हसनले पेरिस ओलम्पिक २०२४ को महिलातर्फ आइतबार म्याराथनमा स्वर्ण जित्ने क्रममा त्यो काम गरेकी छिन्, जसलाई असम्भव नै भन्दा हुन्छ । प्रचण्ड घाम र त्यसै कारणले सिर्जना भएको गर्मीको वातावरणबीच उनको प्रदर्शन ‘हलिउड’ अन्त्य जस्तै रह्यो ।

डच धाविकाले जे काम गरेकी छन्, त्यो धेरैका लागि पागलपन पनि हुनेछ । यो वास्तवमै अविश्वसनीय नै रह्यो ।

हसनले म्याराथन मात्र दौडिनन्, यस अगाडि महिलाको पाँच हजार र दस हजार मिटर दौडमा पनि सहभागिता जनाएकी थिइन् । त्यसमध्ये अन्तिम दुई स्पर्धा त दुई दिनको अन्तरमा भएको थियो । तर रोमाञ्चक स्प्रिन्ट पाराको अन्त्यमा उनले इथोपियाकी टिगस्ट आसेफालाई तीन सेकेन्डले मात्र पछाडि छाडिन् र स्वर्ण जितिन् । हसनले ओलम्पिक कीर्तिमानका रूपमा २ घण्टा २२ मिनेट र ५५ सेकेन्डको समय निकालिन् ।

शुक्रबार मात्रै उनले दस हजार मिटर दौडमा कांस्य जितेकी थिइन् । यसअघि पाँच हजार मिटर दौडमा पनि कांस्य नै जितेकी थिइन् । दौड जितेपछि उनी पेरिसको मध्य भागमा ओछ्याएको नीलो कार्पेटमा ढलेकी थिइन् । त्यसपछि भने उनले डच झन्डा बोकेर खुसियाली मनाएकी थिइन् । विश्व एथलेटिक्सकै इतिहासमा उनको प्रदर्शन बहादुरीले भरिएको असाधारण प्रदर्शन रह्यो ।

पछि उनले भनिन्, ‘दौड पक्कै पनि सजिलो रहेन । आज असाध्यै गर्मी पनि रह्यो । तर मैले ठीकै अनुभव गरिरहें । जितसम्म पुग्नका लागि मैले आफूलाई सक्दो मिहिनेत गराएँ । पूरा दौडका क्रममा मैल किन दस हजार र पाँच हजार मिटरमा दौडें जस्तो लागिरहेको थियो । त्यसै कारणले म्याराथन दौडिन सुरु गरेदेखि गाह्रो भएको थियो । मलाई लागिरहेको थियो, यसअघिका दुई दौडमा भाग लिएर मैले गल्ती पो गरें कि ?’ उनको प्रदर्शनसँगै ओलम्पिकमा एथलेटिक्सका सबै कार्यक्रम सकिएको थियो ।

प्रकाशित : श्रावण २८, २०८१ ०५:५७
x
×