काठमाडौँ — नेपाली धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकको महिला म्याराथन दूरी पार गरेकी छन् ।
ओलम्पिकको महिला म्याराथनको दुरी सन्तोषीले २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । उनी ७९ औं स्थानमा रहिन् । उनीभन्दा पछाडि भुटानकी किन्जोड ल्हामु रहेकी छन् । सन्तोषी आफ्नै नाममा रहेको राष्टिय कीर्तिमानभन्दा पछाडि रहिन् । जनवरीमा भएको बंगबन्धु ढाका म्याराथनमा स्वर्ण जित्दा उनले राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन् । त्यो २ घण्टा ४६ मिनेट २३ सेकेन्ड थियो ।
९२ प्रतिस्पर्धीमा ११ धाविकाले बीचमै दौड त्यागेका थिए ।
नेदरल्यान्ड्सकी धाविका सिफल हसनले कीर्तिमानसहित पेरिस ओलम्पिक म्याराथनको स्वर्ण जितेकी छन् ।
उनले २ घण्टा २२ मिनेट ५५ सेकेन्डको टाइमिङबाट स्वर्ण जितिन् । हसनले इथियोपियाकी जेलना टिकीको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सेकेन्डको ओलम्पिक कीर्तिमान तोडेकी हुन् । टिकीले लन्डन म्याराथनमा उक्त कीर्तिमान बनाएकी थिइन् ।
इथियोपियाकी अस्सिफा टिग्स्टले रजत जित्दा २ घण्टा २२ मिनेट ५८ सेकेन्डमा दूरी पार गरिन् । केन्याकी धाविका ओबिरी हेलेनले २ घण्टा २३ मिनेट १० सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् ।
प्रकाशित : श्रावण २७, २०८१ १६:१३