रोल्पा — एक साताअघि मलेसियामा सम्पन्न भएको छैठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्न सफल रोल्पाका खेलाडी हेमन्त खत्रीलाई सम्मान गरिएको छ । सत्प्रयास समूहद्वारा उनलाई बिहीबार लिबाङमा सम्मान गरिएको हो ।
उक्त खेल प्रतियोगिता मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको थियो । ‘छैठौं हिरोज तेक्वान्दो अन्तर्राष्ट्रिय प्रतियोगिता’ मा खत्रीसहित नेपालबाट खेलाडी सहभागी भएका थिए ।
प्रतियोगिता साउन १५देखि १७ गतेसम्म सम्पन्न भएको थियो । विश्वभरका १६ देशबाट खेलाडी सहभागी भएका थिए । तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खत्रीले ४० वर्षमुनिको हिरोज तेक्वान्दो खेलमा स्वर्ण पदक जितेका हुन् । उनले कोरियाका खेलाडीलाई पछि पारेर स्वर्ण पदक जितेका थिए । खत्री तेक्वान्दो संघ रोल्पाका जिल्ला अध्यक्ष र खेलकुद विकास समितिका उपाध्यक्ष पनि हुन् ।
सत्यप्रयास समूहसँग आवद्ध भएका खत्रीलाई खेल क्षेत्रको विकासका लागि योगदान गरेको र प्रतियोगितामा सफलता पाएकाले सम्मान गरिएको समूहका अभियन्ता खेम बुढाले बताए । उनका अनुसार नेपालको इतिहास र नाम चम्काउन सफल भएका उनलाई थप मनोबल प्रदान गर्न सबैले साथ दिनुपर्ने छ ।
सम्मान कार्यक्रममा खत्रीले विश्वमा पुगेर पनि अनुशासित भई खेल खेल्ने अवसर मिलेकाले मुलुकको नाम चम्काउन सकिएको अनुभव सुनाए । यसअघि ४० वर्षमुनिको हिरोस् तेक्वान्दो प्रतियोगितामा यसअघि कोरियाली खेलाडीले स्वर्ण पदक प्राप्त गरेका थिए । उनी खेल प्रशिक्षक समेत हुन् ।
प्रकाशित : श्रावण २५, २०८१ १५:३०