कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

एभरेस्ट महिला भलिबल लिगमा ६ फ्रेन्चाइज टोली

श्रावण २५, २०८१
एभरेस्ट महिला भलिबल लिगमा ६ फ्रेन्चाइज टोली

Highlights

  • ‘फ्रेन्चाइज लिगको सुरुआत हुने भएकाले भलिबलका राम्रा दिनहरू आउँदै छन्’ 

काठमाडौँ — फ्रेन्चाइज अवधारणामा हुन लागेको एभरेस्ट महिला भलिबल लिगका ६ टोली सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजना गर्न नेपाल भलिबल संघले यसअघि नै इन्फिनिटी ड्रिम्स प्रालिसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता आयोजनाको मिति भने निश्चित हुन बाँकी छ । 

सिटी अवधारणामा हुने प्रतियोगिताका लागि शरदकृष्ण टिबरेवालाले टिम काठमाडौं, अनुज एम. तिमिल्सिना, अनोज रिमाल र विरोचन खनालको कोरसिंक नेपालले टिम ललितपुर, रोहित अग्रवाल र विशाल अग्रवालले टिम मधेशको स्वामित्व लिएका छन् । त्यस्तै सौरभ केडियाले टिम गण्डकी, निम्बस होल्डिङ्सले टिम चितवन तथा राजेश बगडिया र प्रतीक अधिकारीले टिम कर्णालीको स्वामित्व लिएका छन् ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

सबै टोलीले आफ्नो नाम फरक हिसाबमा राख्न पाउनेछन् । बिहीबारसम्म मधेशले आफ्नो टिमको नाम पक्का गरिसकेको छ । आफूहरू ‘मधेश युनाइटेड’ भएर खेल्न लागेको टोलीका मालिक रोहित अग्रवालले बताए । मधेशमा प्रतिभाहरू धेरै भएकाले आफूहरूले मधेश रोजेको जनाउँदै उनले आफ्नो टोली वीरगन्ज केन्द्रित रहने जनाए । अन्य टोलीले भने नाम तोक्न बाँकी छ ।

पहिलो पटक हुन लागेको भलिबलको फ्रेन्चाइज इभेन्टमा प्रमुख सहरहरू विराटनगर, नेपालगन्ज र धनगढी समेटिएका छैनन् । ‘फ्रेन्चाइज भनेपछि बिजनेस मोडलमा हुन्छ र लगानी गर्नेले आफ्नो इच्छा र भावनाअनुसार टिमहरू लिएका हुन्छन्, यसमा हामी आयोजकको खासै हस्तक्षेप हुँदैन,’ इन्फिनिटीका संस्थापक एवं प्रबन्ध निर्देशक आमिर अख्तरले बिहीबार पत्रकार सम्मेलनमा भने ।

टिम कर्णालीका मालिकमा बगडियाको स्वामित्वमा म्याजिक फुटवेयर विराटनगर रहेको छ भने प्रतीक अधिकारी मार्केटिङ क्षेत्रमा पहिचान बनाएका व्यक्ति हुन् । नेपालगन्जमा विगतमा भएको प्रधानमन्त्री कप भलिबल प्रतियोगितासहित पोखराको टाइगर कपमा प्रायोजनको व्यवस्था मिलाएको अनुभवले आफूलाई फ्रेन्चाइज प्रतियोगितामा तानेको अधिकारीले सुनाए । केडिया ग्रुपका निर्देशक सौरभ केडियाले भलिबल नेपालको राष्ट्रिय खेल भएकाले आफूहरू यसमा जोडिएको बताए ।

चितवनका मालिक आनन्द बगरिया यसअघि कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । निम्बसमा उनी प्रबन्ध निर्देशक रहेका छन् । एउटा टोलीमा ९ नेपाली खेलाडी र ३ विदेशी खेलाडी हुनेछन् । नेपाली खेलाडीलाई तीन समूहमा विभाजन गरिएको छ । ‘ए’ श्रेणीमा रहनेले १ लाख ५० हजार, ‘बी’ श्रेणीमा रहनेले १ लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले ५० हजार पारिश्रमिक पाउने छन् । नेपाली खेलाडी ड्राफ्टबाटै छानिने अख्तरले जनाए । प्रतियोगिताको पुरस्कार रकमको घोषणा पछि गरिने उनले बताए ।

‘भलिबलका राम्रा दिनहरू आउँदै छन्,’ नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले कार्यक्रममा भने, ‘भलिबलमा फ्रेन्चाइज लिगको सुरुआत मात्र भएकाले अहिले खेलाडीको पारिश्रमिक रकम थोरै राखिएको छ । स्थायित्वका लागि थोरैबाट सुरु गरिएको हो । खेलाडीको पारिश्रमिक रकम हरेक वर्ष १० प्रतिशतले बढ्दै जानेछ ।’

इन्फिनिटी ड्रिम्सकी प्रमुख कार्यकारी अधिकृत स्नेभी चापागाईंले महिला सशक्तीकरणका लागि फ्रेन्चाइज भलिबल लिगले ठूलो भूमिका खेल्ने विश्वास लिएको जनाइन् । भलिबल संघले पुरुषको फ्रेन्चाइज लिगका लागि केडिया ग्रुपसँग सम्झौता गरिसकेको छ ।


प्रकाशित : श्रावण २५, २०८१ ०६:०५
x
×