कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

भारतीय कुस्तीबाज विनेश फोगाटले भनिन् : अलबिदा कुस्ती !

श्रावण २४, २०८१
भारतीय कुस्तीबाज विनेश फोगाटले भनिन् : अलबिदा कुस्ती !

काठमाडौँ — पेरिस ओलम्पिकमा कुस्तीमा ५० किलो तौल समूहको फाइनलअघि अयोग्य करार भएपछि भारतीय कुस्तीबाज विनेश फोगाटले सन्न्यासको घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले कुस्तीलाई 'अलबिदा' भनेकी छिन् ।  

विनेशले लेखेकी छिन्, 'आमा, मलाई कुस्तीले जितेको छ, मैले हारेँ । माफ गर्नुहोला, तपाईंको सपना, मेरो हिम्मत सबै चकनाचुर भएको छ । अब योभन्दा धेरै तागत छैन ।' फाइनलमै हार बेहोरे पनि उनले रजत जित्ने सुनौलो अवसर थियो । उनी ओलम्पिकको कुस्तीमा फाइनल पुग्ने पहिलो भारतीय खेलाडीसमेत हुन् ।

५० केजी समूहमा प्रतिस्पर्धा गरेकी विनेशको तौल नाटकीय रूपमा बुधबार बिहान एक सय ग्राम बढ्यो । जसका कारण अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले उनलाई ‘डिसक्वालिफाइड’ गर्नुपर्ने अवस्था आयो र उनी फाइनल खेल्न अयोग्य भएकी थिइन् । विनेशले अगाडि लेखेकी छिन्, 'अलबिदा कुस्ती २००१-२०२४ । म तपाईंहरू सबैको ऋणी हुनेछु, माफी !'

विनेशको पेरिस यात्रा वास्तवमै एउटा पुनरागमन नै थियो । अरू कोही सामान्य खेलाडी हुन्थे त फोगाट धेरै अगाडि पटकथाबाट हराइसकेकी हुन्थिन् । उनी त दिल्लीको सडकबाट पेरिस पुगेकी थिइन् भन्दा हुन्छ । एक वर्षभन्दा केही बढी समय भयो, फोगाट र कुस्तीका अन्य खेलाडी विद्रोहमा उत्रेको । उनीहरू दिल्लीको जन्तरमन्तरमा भेला भएका थिए । उनीहरू भारतीय कुस्ती संघका पूर्व अध्यक्ष वृज भुसनविरुद्ध थिए ।भुसनमाथि ती खेलाडीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएका थिए ।

प्रदर्शनको केही घण्टापछि नै उनीहरूलाई तत्कालीन खेलमन्त्री अनुराग ठाकुरले भेटे र पूरा घटनाक्रमको निष्पक्ष अनुसन्धान गर्ने आश्वासन दिए । तर त्यो भएन, त्यसैले उनीहरू विरोधमा उत्रे । त्यति बेला उनीहरूले भारतको नवनिर्मित संसद् भवन गएर विरोध गर्ने निर्णय गरे । त्यो पनि भवनको उद्घाटनकै दिन । सुरक्षाकर्मीले त्यसो हुन दिएनन् र उनीमाथि निर्मम दमन भयो । सडकमै लछारपछार गरेर समातियो ।

पछि यो ठूलै राजनीतिक मुद्दा नै बन्यो । विपक्षीहरूले यसलाई सरकारको आलोचनाको विषय बनाए । एक प्रकारले कुस्ती खेलाडीको विद्रोहले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीविरुद्ध आजाव उठाएको सरह मानियो । यसबीच तीन खेलाडीले आफूले जितेका पदक जति हरिद्वार गएर गंगा नदीमा फ्याले । पछि चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा फोगाटले सिधै प्रवेश पाएकी थिइन्, तर चोटले त्यसमा सहभागी हुन पनि सकिनन् ।

हुँदाहुँदा फोगाटले आफूलाई दिइएको भारतीय खेलकुदको सर्वोच्च सम्मान खेलमध्ये एक खेल रत्न नै सरकारलाई फिर्ता दिइन् । त्यसपछिका केही नाटकीय घटनाक्रम तिनै खेलाडीको पक्षमा रह्यो । उनीहरूको खेल्ने दिन फर्के । फोगाटले पेरिस ओलम्पिक खेल्ने तय भयो । पूरा घटनाक्रमबीच उनी यसपल्टको ओलम्पिकसम्म पुग्नु आफैंमा ठूलो उपलब्धि थियो । तर त्यसैले सुखद् अन्त्य भने पाएन्, भलै यसबीच केही उत्साजनक प्रदर्शन उनीबाट भयो ।

फोगाट फाइनल खेल्न अयोग्य घोषित भएको केही क्षणमै प्रधानमन्त्री मोदीले ‘एक्स’ मा लेखेको आयास यस्तो थियो, ‘फोगाट च्याम्पियनका पनि च्याम्पियन हुन् । भारतको गौरव र प्रत्येक भारतीयका लागि प्रेरणा हुन् । आजको घटनाले दुःखी बनाएको छ । मैले त्यो पीडालाई अनुभव गरिरहेको छु । बलियो भएर घर फर्किनु ।’ विनेशको पुनरागमन त्यसै रोकियो, तर उनले यहाँसम्म पुग्न गरेको यात्राले देखाउँछ, उनी कति धेरै बहादुर छिन् भनेर ।

प्रकाशित : श्रावण २४, २०८१ ०७:४०
x
×