काठमाडौँ — नेपाल तेक्वान्दो संघले साउन २४ देखि २६ सम्म चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुने राष्ट्रिय प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशका खेलाडीले भाग लिनेछन् ।
ग्यारोगी (फाइट) र पुम्से (फर्म) विधामा हुने प्रतियोगितामा ४ सय ४५ खेलाडीले नाम दर्ता गरेको संघका प्रवक्ता साम्राज्यविक्रम पाण्डेले जानकारी गराएका छन् । उनीहरूले ५२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न ४० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला निर्णायक र प्राविधिक परिचालन गरिने जनाइएको छ । प्रतियोगिताको साउन २४ मा उद्घाटन हुनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय टिमका लागि छनोट गरिनेछ ।
प्रकाशित : श्रावण २३, २०८१ ०७:३०