काठमाडौँ — काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार व्यहोरेको छ । इरानले नेपाललाई ३-२ को नतिजामा हराउँदै महत्वपूर्ण जित हात पारेको हो । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले सात अंक बनाएको छ ।
नेपालले इरानविरूद्ध सुरूवात राम्रो गर्न सकेन । तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर प्रस्तुत भयो। नेपाललले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई एक–एकको बराबरीमा पुर्यायो ।
तेस्रो सेटको सुरूवातमा नेपालले ७–२ को अग्रता बनाएपनि यो अग्रतालाई निरन्तरता दिन सकेन । इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो । जहाँ इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा दुई एकको अग्रता बनायो ।
चौँथो सेटमा नेपाल सम्हाल्ने प्रयासमा थियो । ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो । सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल दुई दुईको बराबरीमा पुग्यो । खेलको निर्णय पाँचौ सेटबाट भयो ।
पाँचौ सेटमा इरान नेपाललाई दबाबमा राख्न सफल भयो । इरानले पाँचौ सेट १५–१३ ले जित्दै नेपाललाई हराउन सफल भयो । इरानले सात खेलबाट ७ अंक बनाउँदा नेपालले तीन खेलबाट ६ अंक बनाएको छ । प्रतियोगितामा भारतले ७ अंक जोडेको छ भने श्रीलंकाले ४ अंक बटुेको छ । प्रतियोगितामा माल्दिभ्स अंकविहीन छ ।
प्रकाशित : श्रावण २०, २०८१ २०:१२