कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

६० वर्षे ओलम्पिक यात्रा, एउटा त्यो जित

श्रावण २०, २०८१
६० वर्षे ओलम्पिक यात्रा, एउटा त्यो जित

Highlights

  • नेपाली खेलाडीले खेल जितेको सन् १९८८ मा दक्षिण कोरियाको सोल ओलम्पिकमा हो

काठमाडौँ — फ्रान्समा पेरिस ओलम्पिक चलेको साता बितिसकेको छ । ३३ औं संस्करणको यस ग्रीष्मकालीन ओलम्पिकमा नेपालले ६ खेलमा ७ खेलाडीको सहभागिता गराएको थियो । एथलेटिक्सकी धाविका सन्तोषी श्रेष्ठको म्याराथनबाहेक अरूको इभेन्ट सकिसकेको छ । यसपालि पनि कुनै खेलाडीको नतिजामा जितको छनक रहेन ।

नेपालले ओलम्पिकमा भाग लिन थालेको ६ दशक पुगिसक्यो । सन् १९६४ को टोकियो ओलम्पिक नेपालले खेलेको पहिलो ओलम्पिक हो । १९६८ को मेक्सिको सिटीबाहेक ६० वर्षको अन्तरमा भएका सबै ओलम्पिकमा नेपाल सहभागी छ । अहिलेसहित नेपालका ९२ खेलाडीले ओलम्पिक खेलिसकेका छन् ।

यसबीच नेपाली खेलाडीले खेल जितेको भनेको सन् १९८८ को सोल ओलम्पिकमा नै हो । दक्षिण कोरियाको यो ओलम्पिक पदक हिसाबले पनि नेपालका लागि गौरवपूर्ण छ । किनकि तेक्वान्दोलाई प्रदर्शनी (ड्रेमोस्ट्रेसन) खेलका रूपमा राखिएको थियो । त्यसमा नेपालले कांस्य जितेको थियो । आधिकारिक गणनामा भने प्रदर्शनी खेलको पदक भएकाले समावेश छैन । त्यसो त तेक्वान्दोले ओलम्पिकमा आधिकारिक खेलको मान्यता पाउन प्रदर्शनी खेलेपछि नै १२ वर्ष कुर्नुपर्‍यो । २००० को सिड्नी ओलम्पिक मात्र तेक्वान्दो अफिसियल खेल भएको थियो ।

सोलमा जितेको पदक नै नेपालको एक्लो ग्रीष्मकालीन ओलम्पिक पदक हो । त्यो तेक्वान्दोमा विधान लामाले जितेका थिए । विधान पुरुष ५० केजीमुनि (फिनवेट) मा दुई बाउट जित्दै सेमिफाइनल पुगे । उनी अमेरिकी बक्सर जुआन मोरेनोसँग अंकका आधारमा पराजित भएपछि कांस्यमै रोकिएका हुन् । त्यसअघि उनले बेलायती र जर्मन प्रतिद्वन्द्वीलाई हराएका थिए ।

सोल ओलम्पिक खेलेका नेपालका बक्सिङ खेलाडी

त्यही सोलको अर्को विशेषता भनेको बक्सर विष्णुबहादुर सिंहले जितेको एउटा खेल हो । अहिलेसम्म ओलम्पिकमा नेपाली खेलाडीले जितेको खेल भनेकै त्यही मात्र हो । सोलमा नेपाली बक्सिङको तेस्रो ओलम्पिक सहभागिता थियो । मस्को (१९८०) र लस लन्जलस (१९८४) ओलम्पिकमा नेपाली बक्सरले भाग लिइसकेका थिए । ती तीन संस्करणपछि भने नेपाली बक्सिङको ओलम्पिक सहभागिता नै छैन ।

१९ वर्षे विष्णु ५१ केजीमुनि (फ्लाइवेट) तौल समूहका प्रतिस्पर्धी थिए । उक्त तौलमा ४४ प्रतिस्पर्धी थिए । सोलस्थित जम्सिल स्टुडेन्ट जिम्न्याजियममा उनले पहिलो बाउटमा पाराग्वेका सिक्स्टो भेरा स्पिनोलालाई ५ः० अंकका आधारमा हराएर सनसनी मच्चाए । उनले सबैबाट हौसला पाए, वाहवाही बटुले । यसले विष्णुको मनोबल थप उकासियो । पहिलो बाउट जितेको तीन दिनपछि अर्को प्रतिस्पर्धा थियो । दोस्रो खेलमा उनका प्रतिद्वन्द्वी थिए, अमेरिकी बक्सर आर्थर जोन्सन । उनले दोस्रो राउन्डसम्म कडा मुकाबिला गरे । त्यही राउन्डमा हंगेरियन रेफ्री सान्डोरबाट ‘काउन्ट’ खाए ।

बक्सिङका महान मोहम्मद अलीसँग विष्णुबहादुर (बायाँ)

अन्ततः आरएससीएचका आधारमा उनी पराजित हुन पुगे । उक्त बाउटबारे उनले सुनाए, ‘त्यो बाउट पनि जित्छु भन्ने थियो । विपक्षीको पञ्चले कर्नर पुगें, त्यहींबाट मैले पनि पञ्च हानिरहेको थिएँ । तर, रेफ्रीलाई म झुलिरहेको भान परेछ, काउन्ट दियो अनि जोन्सनलाई जिताइदियो । मलाई लाग्यो गलत निर्णयको सिकार भएँ कि ।’

विष्णुमात्र होइनन्, अरू बक्सर डम्बरदत्त भट्ट, दलबहादुर रानामगर, झपटसिंह भुजेल, रामबहादुर गिरीले पनि विपक्षीसॅग बलियो चुनौती पेस गर्दै अंकका आधारमा खेल गुमाएका थिए । उनीहरूलाई दुई महिना थाइल्यान्डको तयारीले ओलम्पिक भिड्न ठूलो भरोसा दिएको थियो ।

विशेष तयारी आवश्यक

विष्णुबहादुर सिंहले ओलम्पिक खेलेको पनि ३६ वर्ष बितिसक्यो । नेपाल पदक जित्नमा त धेरै टाढा छ, ओलम्पिकमा एउटै जितको हिस्सेदार पनि बन्न सकेको छैन । किन त ? विष्णु भन्छन्, ‘ओलिम्पकका लागि भनेर योजनाबद्ध तयारी नै छैन । कसरी नतिजा ल्याउन सक्छौं ओलम्पिकमा ? यो चार वर्षमा आउने खेलकुद मेला हो सहभागिता जनाइन्छ, सकिन्छ भन्ने ठान्छौं ।’

२–४ महिनाको तयारी र २–४ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताको भरमा खेल्दा ओलम्पिक सहभागितामै सीमित हुने उनको बुझाइ छ । भन्छन्, ‘२–४ महिनाको तयारी होइन, ४–८ वर्षको प्लान चाहिन्छ । ओलम्पिकलाई नै भनेर खेलाडीलाई शारीरिक र मानसिक रूपबाट बलियो पार्नुपर्छ । तबमात्र ओलम्पिकमा नतिजा दिन सक्ने हुन्छन् । हाम्रो खेलकुदमा जहीं राजनीति छ अनि कसरी रिजल्ट सम्भव हुन्छ ।’

पेरिस ओलम्पिकमा प्रतिस्पर्धाका क्रममा ब्याडमिन्टनका प्रिन्स दाहाल ।

सोल ओलम्पिकका लागि आफूहरूले दुई महिना थाइल्यान्डमा प्रशिक्षण गरेको उनले सुनाए । त्यसले सबै बक्सरको मनोबल बलियो बनाएको यथार्थता उनले आत्मसात् गरेका छन् । सम्झन्छन्, ‘ओलम्पिक हुनु दुई महिनाअघि हामी सात जना बक्सरलाई विशेष प्रशिक्षण लिन थाइल्यान्ड पठाइएको थियो । समय छोटो भए पनि धेरै सिक्न पायौं । त्यहाँबाट ५ जना छानिएर सोल गयौं, २ जना नेपाल फर्किए । त्यति तयारीले पनि हामीले त्यो खाले सफलता पाएका थियौं । अझ लामो तयारी गर्न पाएको भए पदकछेउ नै पुग्न सकिन्थ्यो ।’

विष्णुको बक्सिङ करियर

विष्णुको जन्म सुदूरपश्चिमको बझाङमा भएको हो । पढाइका लागि महेन्द्रनगर झरेदेखि उनी बक्सिङतिर आकर्षित भए । २०४० सालमा बक्सिङ प्रशिक्षणका लागि मदन गुरुङ महेन्द्रनगर पुगेका थिए । उनै गुरुबाट प्रशिक्षण लिन थाले, जतिबेला सिंह कक्षा ८ मा पढ्थे । सुरुआती समयमा उनले घरपरिवारलाई बक्सिङ सिक्दै छु भन्ने पनि थाहा दिएनन् । किनकि घरबाट खेल्ने अनुमति पाउने अवस्था हुन्नथ्यो ।

प्रशिक्षण लिएको केही समयपछि सुदूरपश्चिमस्तरीय छनोट स्पर्धा जित्दै उनी प्रथम क्षेत्रीय बक्सिङ प्रतियोगिता खेल्न धरान पुगे । जहाँ स्वर्ण जिते । अर्को वर्ष वीरगन्जमा दोस्रो संस्करणको क्षेत्रीयमा पनि स्वर्ण जितेपछि उनको बक्सिङ यात्रा रोकिएन ।

नेपाली बक्सिङमा एक दशक विष्णुबहादुर मज्जाले छाए । हिरोसिमा एसियाली खेलकुद (१९९४) पछि मात्र उनले खेलाडी जीवनमा पूर्णविराम लगाए । यसबीच उनले १२ राष्ट्रिय र २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने मौका पाए । सन् १९८६ मा काठमाडौंमै भएको तेस्रो आमन्त्रण अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप उनले खेलेको पहिलो अन्तर्राष्ट्रिय स्पर्धा थियो ।

उनले ओलम्पिकमा मात्र होइन, एसियाली खेलकुदमा पनि बाउट जितेका छन् । सन् १९९० को बेइजिङ एसियाडमा एक बाउट जितेका थिए । उनले हिरोसिमा एसियाड पनि खेले । उनीसँग किंग्स कपका दुई संस्करण र विश्वकप बक्सिङ च्याम्पियनसिपमा पनि बाउट जितेको अनुभव छ ।

त्यसो त उनले जितेका तीन रजत र एक कांस्य अन्तर्राष्ट्रिय पदक हुन् । पहिलो व्यक्तिगत अन्तर्राष्ट्रिय पदकका रूपमा उनले १९८८ मा काठमाडौंमा भएको चौथो आमन्त्रण अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा जितेको रजत हो । त्यसपछि उनले इस्लामाबाद साफ (१९८९) र कोलम्बो साफ (१९९१) मा रजत जितेका थिए । कांस्य जितेको भने सन् १९८९ मा फिलिपिन्समा भएको मेयर्स कप इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा थियो ।

दोस्रो बृहत् राष्ट्र्रिय खेलकुद (पोखरा) मा सहभागिता जनाएका उनी तेस्रो (वीरगन्ज) मा भने स्वर्ण जित्न सफल भए । अन्य च्याम्पियनसिपहरूको उनीसँग चार स्वर्ण जितेको तथ्यांक छ ।

राष्ट्रियभन्दा बढी अन्तर्राष्ट्रिय सहभागिता त्यो बेला पनि कसरी त सम्भव ? उनले सुनाए, ‘त्यतिबेला सिनियर भइसकेपछि जुनियर खेलाडीलाई मौका दिनुपर्छ भनेर राष्ट्रिय प्रतियोगिता छाड्नुपर्ने हुन्थ्यो । धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी गराइन्थ्यो । त्यसले सिनियरका रूपमा मैले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएँ ।’

त्यो जमानामा खेलप्रतिको लगाव, अनुशासन र प्रोत्साहनले नै मनोबल बढ्ने तर्क गर्छन् उनी । ‘सेवासुविधा नभए पनि खेलमा लाग्दा उत्साह थियो, अनुशासन हुन्थ्यो र सबैतिरबाट प्रोत्साहन मिल्थ्यो । यसले एकाएक खेल्ने ऊर्जा थपिन्थ्यो । आत्मबल बलियो बन्थ्यो, अहिले सेवासुविधा छ तर त्यसप्रति खेलाडी, प्रशिक्षक, सम्बन्धित निकाय कसैको पनि समर्पणभाव देख्दिनँ ।’

समयानुकूल खेलकुद व्यावसायिक बन्न सकेन, त्यो आफ्नो ठाउँमा होला । व्यावसायिक नबन्दा पनि यसको दायरा त फराकिलो छ नै । तर, अहिले खेलाडीलाई पनि चिन्ता छ प्रशिक्षकलाई नि । पहिला यस्तो हुन्नथ्यो । देशका लागि खेल्नुपर्छ, खेलाउनुपर्छ भनिन्थ्यो । त्यही हुटहुटीले व्यक्ति व्यक्ति उत्सुक हुन्थे । केही गर्नुपर्छ है भन्ने अठोट जाग्थ्यो । अहिले त आफ्नो भविष्यबारे चाँडो सोच्छन्, देशलाई के दिन सकिन्छ भनेर होइन । त्यसले गर्दा कसैको खेलप्रतिको समर्पणभाव नदेखिएको बुझाइ, भोगाइ र यथार्थता हो भन्छन् उनी ।

०५२ सालपछि उनी प्रशिक्षकको जिम्मेवारीमा आफ्नै क्षेत्रमा फर्किए । प्रशिक्षण कर्ममा वर्षौं खर्चिए, दर्जनौं खेलाडी उत्पादन गरेर राष्ट्रिय स्तरसम्म पुर्‍याए । तर, उनीहरूलाई टिकाउन सकेनन् । यो यथार्थता हो । भन्छन्, ‘अहिले विश्व सबैको हातहातमा छ । हाम्रो जमाना जस्तो छैन । हामीलाई कति कुरामा अरूको भर हुन्थ्यो । तर अहिले त्यस्तो छैन । सबैले आफ्नो प्रगति चाँडो देख्न चाहन्छन् । नत्र विकल्प सोचिहान्छन् । खेलकुदले पनि त्यही नियति भोगिरहेको हो । सुखद भविष्य खोज्न खेलाडी, प्रशिक्षक सबै पलायन भइरहेका छन् ।’

योजनाबद्ध ढंगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्यालेन्डर मिलाएर चल्न नसक्नु नै नेपाली खेलकुदको विडम्बना ठान्छन् उनी । ‘ओलम्पिक, एसियन गेम्स त सधैं ४–४ वर्षमै हुन्छ । हरेक खेलका अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरू क्यालेन्डरअनुसार नै हुन्छन् । तर, त्यसमा खेलाउने हाम्रा खेलाडीचाहिँ राष्ट्रिय क्यालेन्डर बनाएर तयार पार्न सक्दैनौं । यहीं चुकिरहेका छौं हामी । लहडको भरमा ट्रेनिङ चल्छ, प्रतियोगिता हुन्छ अनि कसरी व्यवस्थित हुन्छ र नतिजा राम्रो निस्कन्छ ।’

कमब्याट गेममा अहिले त स्पाइरिङ पार्टनर पाउनै गाह्रो छ । तर उतिबेला यो स्थिति थिएन । एउटै खेलमा चार टिम (ए,बी,सी,डी) सम्म क्याम्पमा बस्ने गरेको उनी सुनाउँछन् । स्मरण गर्छन्, ‘त्यो हुँदा खेलाडीमै आफू–आफूमा प्रतिस्पर्धाको भावना आउँथ्यो । कसलाई नि कसलाई जित्नुपर्छ भन्ने हुन्थ्यो । अहिले त क्याम्पमा एउटा टिम पाल्न गाह्रो छ । अनि खेलाडीलाई पनि मेरो विधामा त ममात्रै छु भन्ने हुन्छ । गर्नुपर्ने मिहिनेत पनि गर्दैनन् ।’

उनको भोगाइ र सुझाव छ, खेलाडीलाई ओलम्पिकसम्म पुर्‍याउँदा धेरै कुरामा तयार पार्नुपर्ने हुन्छ । अरू प्रतियोगिता खेलेजस्तो पनि होइन ओलम्पिक । विश्वले खेल्ने र हेर्ने ओलिम्पकमा आफ्नो खेल कस्तो हुनुपर्छ, त्यो खेलाडी स्वयंले पनि बुझ्नुपर्छ । प्रशिक्षकले बुझ्नुपर्छ । यसको महत्त्वलाई खेलाडी, प्रशिक्षक, सरोकारवाला सबैले ख्याल राख्नुपर्छ । अनि देशले चासो राख्नुपर्छ, आफ्ना खेलाडी कस्ता छन् । स–साना कुराले पनि आफ्नो देशको प्रतिष्ठामा आँच आउन सक्छ भने त्यत्तिकै सानो कुराले पनि सान बढाउन सकिन्छ । खेल जित्नु, पदक जित्नु आफ्नो ठाउँमा छ । सँगै आफ्नो कलासंस्कृतिबाट पनि विश्वको ध्यान तान्न सकिन्छ । कति नामै नसुनेका मुलुकले अहिले त्यही गरिरहेका छन् ।

बक्सर सिंहले भनेजस्तै यही साता पेरिस ओलम्पिकमा खेलेपछि टेबलटेनिसका स्यान्टु श्रेष्ठले पनि भनेका थिए, ‘ओलम्पिक स्टेज त अर्कै हुँदोरहेछ ।’ उनी आफैंले स्विकारेका थिए, ‘म जत्तिको नेपालको अनुभवी खेलाडी भएर यो भन्न त नसुहाउने हो । तर ओलम्पिक जस्तो स्टेजमा अकै महसुस हुने रहेछ । वर्ल्ड च्याम्पियनसिप, एसियन गेम्समा पनि मैले यति धेरै मान्छे देखेको थिइनँ । यो कुराको मैले कहिल्यै अनुभव गरेको छैन । त्यसैले डर–डर लाग्ने पनि हुँदोरहेछ ।’

दक्षिण एसियाली छनोट प्रतियोगिता जितेर पेरिस पुगेका स्यान्टुले पहिलो ओलम्पिक सहभागिता भएकाले पनि आफूले दबाब महसुस गरेको खुलस्त भनेका थिए ।

हो, त्यही कुरा चिर्दै खेलाडीलाई ओलम्पिक पुर्‍याउनुपर्नेमा जोड दिन्छन् उनै ओलम्पियन विष्णु । नेपालका धेरैजसो खेलका खेलाडीको ओलम्पिक एउटै संस्करणमा टुंगिने गरेको छ । एथलेटिक्स, बक्सिङ र पौडीका एकै खेलाडीले मात्र दुईभन्दा बढी ओलम्पिक खेलेका छन् । त्यसबाहेक धावक वैकुण्ठ मानन्धरले लगातार चार ओलम्पिक खेलेका छन् ।

तीन सन्तानका पिता रहिसकेका विष्णुबहादुर सिंह दुई वर्षयता राखेपको तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशकमा कार्यरत छन् । खेलाडी र प्रशिक्षकलाई दक्ष पार्न योजना बनाउने ठाउँमा त हुनुहुन्छ, होइन ? भन्ने प्रश्नमा सिंहको जवाफ थियो, ‘हो । तर हाम्रो कुरा सुनिँदैन । योजना कार्यान्वयन हुनु त टाढाको कुरा ।’

अहिले खेलकुदमा धेरै राजनीति हाबी भएको उनको बुझाइ छ । ‘जसका कारण योजनाबद्ध ढंगबाट खेलकुद चल्न सक्दैन, खेलाडी र प्रशिक्षकमाथि सही तरिकाको लगानी हुन सक्दैन अनि कसरी दक्ष जनशक्ति तयार पार्न सकिन्छ । त्यसका लागि सरकारको स्पष्ट गाइडलाइन र नीति नियम हुनुपर्छ । त्यसलाई कडाइका साथ पालना गराउनुपर्छ तबमात्र नतिजा निस्कन्छ,’ विष्णुबहादुरको दाबी छ ।

प्रकाशित : श्रावण २०, २०८१ ०५:४०
x
×