काठमाडौँ — भुटानको थिम्पूमा नेपाली महिला बिच टोलीले काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
शनिबार चालिङमिथाङ राष्ट्रिय रंगशालामा भएको फाइनलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ‘ए’ टोलीलाई २१–१७, २१–१४ को सेटमा पराजित गरेको थियो । नेपाली टोलीले अपराजित रहँदै उपाधि जितेको हो ।
नेपाले सेमिफाइनलमा उज्वेकिस्तान बी टिमविरुद्ध २१–१३, २१–१२ को जित निकालेको थियो ।
दुई वर्षअघि बंगलादेशमा सम्पन्न एभीसी बिच भलिबलमा कमलाले कोपिला उप्रेतीसँग मिलेर रजत जितेकी थिइन् ।
मानबहादुर र दिलको जोडीलाई रजत
नेपाली पुरुष बिच भलिबल टोलीले भने रजत जितेको छ । शनिबार भएको फाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले माल्दिभ्स ए टिमसँग २१–१९, २१–१७ ले पराजित हुँदै रजतमा चित्त बुझाएको हो ।
उनीहरूको जोडीले दुई वर्षअघि बंगलादेशमा एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत जितेको थियो ।
प्रकाशित : श्रावण १९, २०८१ २२:२६