फेरि चर्चामा बेकह्याम
Highlights
- कुनै समय थियो, फुटबल भन्नेबित्तिकै डेबिड बेकह्यामको नाम आउँथ्यो, अनि पश्चिमेली संगीत भनेपछि भिक्टोरिया बेकह्यामको । यो प्रेमिल जोडी पुनः एक पटक चर्चामा आएको छ । यसको कारण हो– उनीहरूबारे तयार पारिएको वृत्तचित्र ‘बेकह्याम’ ।
काठमाडौँ — कुनै समय थियो, जति बेला फुटबल भन्नेबित्तिकै डेबिड बेकह्यामको नाम आउँथ्यो । अनि पश्चिमेली संगीत भनेपछि भिक्टोरिया बेकह्यामको । बेक्हयामले म्यानचेस्टर युनाइटेडका लागि तहल्का मच्चाइरहेका थिए । भिक्टोरियाको ‘स्पाइस गर्ल्स’ जताततै छाएको थियो ।
यो थियो, पाँच सुन्दर युवतीको ब्यान्ड । महिला मात्र सदस्य भएको ब्यान्डमध्ये यो नै सबैभन्दा सफल हो । फेसनको पर्यायजस्तै थिइन्, भिक्टोरिया । अनि एउटा दम्पतीका रूपमा उनीहरू जहिल्यै जताततै छाइरहे ।
अहिलेसम्म पनि यो क्रम रोकिएको छैन । सजिलै अनुभव गर्न सकिन्छ, उनीहरूको प्रभाव कति धेरै छ भनेर । सन् १९९९ मा उनीहरूको विवाह भएको थियो र यसलाई भनिएको थियो, फुटबल र फेसनको गज्जब फ्युजन । अब यो विवाहले पनि २५ वर्ष छोइसकेको छ र त्यसै अवसर पारेर दुई साता जति अगाडि ती सबै क्षणलाई ‘रिक्रिएट’ गरे । यो कसरीभन्दा विवाद गर्दा जस्तो जस्तो लुगा लगाएका थिए, जसरी जसरी तस्बिर खिचेका थिए, ती सबै फेरि दोहराए । अब यो सबै समाचार हुने भयो नै ।
त्यति बेला विवादका लागि डब्लिनको १५ औं शताब्दीका आइरिस किलामा विशेष कार्यक्रम नै गरियो । रोबिन हुड जमानाको झल्को दिन गरेर त्यो किलालाई सजाइएको थियो । बेकह्याम भिक्टोरियाले एउटै रंगको विवाहको लगाएको थियो र यसको रंग थियो, बैजनी । त्यसपछि त यस्तै रंगको लुगा लगाउने फेसन पनि चलेको थियो । त्यस्तै पहिरनमा ४९ वर्षीय बेकह्याम र ५० वर्षीया भिक्टोरिया फेरि देखिँदा उनीहरूको आकर्षणमा कुनै कमी आएको देखिएन । उनीहरूको व्यक्तित्वमा मोहकता उत्तिकै थियो ।
अनि बेकह्याम परिवारले यसै साता इटालीको सारडिनिआमा विशेष होलिडे मनाए । यसका लागि उनीहरू एउटा सिंगै नौका लिएका थिए र सारडिनिआको समुद्र छेउमा बग्दै छोरीको जन्मदिन मनाए । उनीहरूकी छोरी हारपर पनि १३ वर्षकी भइन् । उनीहरूको यो होलिडेको एक एक विवरण इंग्लिस मिडियामा पढ्न पाइन्छ । बेकह्याम जोडीले केही मात्र गर्नुपर्छ, त्यो समाचार हुन्छ नै ।
योभन्दा बढी अर्को एक फरक कारणले पनि यो जोडी चर्चामा छ र त्यो हो, उनीहरूबारे तयार पारिएको नेटफ्लिक्टसको वृत्तचित्रको ‘बेकह्याम’ सिरिजलाई एमी अवार्ड २०२४ मा चार नोमिनेसनमा राखिएको छ । हिजै मात्र आएको समाचारले यो जोडी खुसी छ नै, दंग परेर प्रतिक्रिया पनि दिइरहेका छन् । यो वृत्तचित्रमा फुटबल खेल जीवनमा बेकह्यामको सुरुआती दिनदेखि सफलताको उत्कर्षसम्म, अनि तिनै भिक्टोरियासँगको विवाहको घटना विवरण छ । र, यो जोडीसँग जोडिएका अरू धेरै घटनाक्रम पनि ।
सन् २०२३ मा रिलिज भएको यो वृत्तचित्र नोमिसेनमा परेका चार विधा हुन्, उत्कृष्ट वृत्तचित्र, सिनेमाटोग्राफी, निर्देशन र सम्पादन । बेक्हयामले पहिलो पटक यसबारे प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामी सबै खुसी छौं र मेरो लागि त यो गर्वको उपलब्धि हो । म र भिक्टोरिया यस वृत्तचित्रलाई लिएर प्राप्त सकारात्मक प्रतिक्रियालाई लिएर असाध्यै प्रसन्न छौं । यो वृत्तचित्र बनाउने क्रममा म फेरि आफ्नो पुरानो जीवनमा फर्केको थिएँ । यो यात्रामा आफैंमा अद्वितीय रह्यो ।’
नेटफ्लिक्समा उपलब्ध यो वृत्तचित्र एकपल्ट हेर्न लायक छ नै । यसका चार भाग छन् । धेरैलाई लाग्दो हो, बेकह्यामबारे अब त थाहा नभएकै के छ र भने ? त्यसैले किन पो यो वृत्तचित्र हेर्ने ? तर होइन्, बेकह्याम मात्र होइन्, भिक्टोरियाबारे धेरैभन्दा धेरै कुरा थाहा छ भने पनि यो वृत्तचित्र एकपल्ट हेर्नु राम्रै हुन्छ । अझ फुटबलको पारखीले त छुटाउनै नहुनेमा पर्छ यो । अनि विशेषतः कोही म्यानचेस्टर युनाइटेडको समर्थक हो भने पनि । अनि म्यानचेस्टर विरोधी हो भने पनि यसलाई हेर्दा मज्जै आउँछ ।
नेटफ्लिक्सले यो वृत्तचित्रलाई लिएर भनेको छ, ‘तपाईंलाई लाग्दो हो, बेकह्यामबारे सबथोक थाहा छ, तर होइन । अझै धेरै कुरा छन्, उनीबारे । ती तपाईंलाई थाहा नहुन पनि सक्छ ।’ सायद हो पनि । सायद होइन पनि । तर एउटा तथ्य भने निश्चित छ, यी चारै भाग हेर्दा एक प्रकारले बेकह्यामलाई अझ बढी नजिकबाट चिन्न र बुझ्न भने सकिन्छ । फेरि यस वृत्तचित्रमा त्यस्ता धेरै तस्बिर र भिडियो छन्, जुन यसअघि कहीँकतै उपलब्ध थिएन, मानौं यी सबै यही वृत्तचित्रका लागि बनाइएका थिए ।
सन् १९७५ मा लन्डनमा जन्मेका बेकह्यामको खेल जीवन सबै चमत्कार र खुसीले मात्र भरिएका छैनन् । यसमा उत्तिकै धेरै आरोहअवरोह पनि छन् । त्यसो त उनले रियल म्याड्रिडका लागि पनि खेले । त्यति मात्र होइन्, अरू दुई ठूला क्लब एसी मिलान र पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि पनि खेले । इंग्लिस टिमका त उनी कप्तान पनि भए, केही नभए पनि १२ वर्ष माथिल्लो स्तरमा रहेर खेले । तर उनलाई खासमा चिनिने भनेको म्यानचेस्टरकै लागि खेल्दा हो, अनि उनको प्रख्यात फ्री किकका लागि हो ।
उनका गड फाडर हुन्, सर एलेक्स फर्गुसन । बेकह्यामको यो यात्रामा सबैभन्दा ठूलो भूमिका पनि उनकै छ । तर पनि उनीहरूबीच बेमेल पनि भयो । एकपल्ट रिसमा फर्गुसनले बेकह्यामलाई जुत्ताले हानेका थिए । त्यो उनको अनुहारमा परेको थियो, चोटले टाँका नै लगाउनुपर्ने भएको थियो । प्रश्न हो, यत्ति साह्रो रिसईबी किन त ? किन बेक्हयामले म्यानचेस्टर छाडे त ? यो सबै यात्रालाई फेरि एकपल्ट आत्मसात् गर्ने हो भने बेकह्याम वृत्तचित्त हेरेकै राम्रो । अब त यो अवार्डका लागि पनि नोमिनेसनमा परेको छ ।
प्रकाशित : श्रावण ४, २०८१ ०६:४७