कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

हकले फाइनल पुगेको स्पेन

युरो इतिहासमा लगातार ६ खेल जित्ने पहिलो टिम बनेको स्पेन चौथोपल्ट च्याम्पियन हुने संघारमा 
एपी

म्युनिख — उपाधि दाबेदार रहेको एक अर्को प्रतिद्वन्द्वी फ्रान्सलाई पाखा लगाउँदै स्पेन युरो २०२४ को फाइनल पुगेको छ । स्पेनका प्रशिक्षक लुइस डे ला फुन्टे दाबी गर्छन्, टिममा अझै सुधारका लागि ठाउँ बाँकी छ । स्पेनले प्रतियोगिताको पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्सलाई २–१ ले पराजित गरेको हो ।

हकले फाइनल पुगेको स्पेन

स्पेनको जितमा १६ वर्षीय लामिन यमलले नयाँ कीर्तिमान पनि बनाएका छन् । उनी युरोपेली फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिताको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

अब कीर्तिमान चौथोपल्ट युरो जित्ने संघारमा पुगेको स्पेनले आइतबार फाइनल खेल्नेछ । यो खेल यमलको १७ औं जन्मदिनको भोलिपल्ट हुनेछ । हारलाई खुला हृदयले स्वीकार्दै फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले भने, ‘हामीलाई थाहा थियो, स्पेन कति उत्कृष्ट टिम हो भनेर । अहिले यो प्रमाणित पनि भएको छ । हामी भाग्यमानी रह्यौं, किनभने हामीले नै पहिलो गोल गर्न सक्यौं । तर, त्यसपछि खेल हाम्रो हातमा रहेन, स्पेनले हामीलाई गाह्रै पार्‍यो ।’

अझ डेसच्याम्पको सटिक विश्लेषण छ, ‘स्पेन बलमाथि नियन्त्रण र त्यसका लागि चाहिने प्रविधिको आधारमा उत्कृष्ट टिम छ । यो प्रतियोगितामा कुनै एक टिमले साँच्चै राम्रो खेलेको र सबैको मन जितेको छ भने त्यो स्पेन नै हो । त्यसैले स्पेन फाइनल प्रवेशको पूर्ण हकदार रह्यो ।’ यस युरोमा स्पेन वास्तवकै किन पनि उत्कृष्ट टिम छ भने यो नै प्रतियोगितामा सबै खेल जित्ने एकमात्र टिम रहेको छ । यसले १३ गोल गरेको छ । यो युरोमा गोलका आधारमा स्पेनको उत्कृष्ट प्रदर्शनको बराबरी हो ।

सन् १९८४ मा उपाधि जित्ने क्रममा फ्रान्सले १४ गोल गरेको थियो । अब स्पेन त्यसबाट एकै गोलले मात्र पछाडि छ । स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टेले अझ उत्साहित भएर भने, ‘यदि कुनै टिमले हामीबाट अझ बढी अपेक्षा राख्छ र माग गर्छ भने यो टिममा साँच्चै अझ सुधार सम्भव छ । कसैका लागि यस्तो भन्दा बढी भनेजस्तो हुनसक्छ, तर यो सत्य हो, यसमा सुधारका लागि अझै ठाउँ छ ।’

म्युनिखमा भएको खेलमा फ्रान्सेली कप्तान केलियन एमबाप्पेले सबैलाई आश्चर्यमा पारेर प्रोटेक्टिभ–मास्क नलगाइन खेले र त्यसको सकारात्मक प्रभाव खेलको सुरुआती नवौं मिनेटमा देखियो । उनले सिर्जना गरेको मौकामा रेन्डल कोलो मुअनीले हेडबाट गोल गरेपछि फ्रान्स अगाडि बढ्यो । यो फ्रान्सले ओपन–प्लेबाट गरेको प्रतियोगिताकै पहिलो गोल रह्यो । फ्रान्सले यो अग्रता रक्षा गर्ने अवसर पनि थियो, किनभने प्रतियोगितामा फ्रान्सको रक्षापंक्ति भने सबैभन्दा बलियोमध्ये एक थियो ।

यो रक्षापंक्तिले प्रतियोगितामा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीलाई एकै गोलको मात्र अवसर दिएको थियो, त्यो पनि पेनाल्टीबाट । तर, सेमिफाइनलमा त्यस्तो केही पनि भएन । यमलले २१ औं मिनेटमा सानदार गोल गरे र यसैले फ्रान्सको जितको आधार तयार पारेको थियो । यो कोही एक खेलाडीले विशेष अवसरमा गर्ने विशेष गोल थियो । उनले २५ यार्डबाट गरेको प्रहारले घुमाउने बाटो तय गरेर पोस्टका दिशा लिएको थियो । माकल माइगन जत्तिको फ्रान्सेली गोलरक्षक पनि हेरेको हेर्‍यै भए ।

त्यसको चार मिनेटपछि त खेल पूर्णतः स्पेनको पक्षमा मोडियो । डानी ओल्मोले गरेको प्रहार फ्रान्सेली डिफेन्डर जुलेस कोन्डेसँग डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । सुरुमा यसलाई आत्मघाती गोल नै मानिएको थियो । पछि यसको श्रेय ओल्मोलाई दिइएको थियो । किनभने उनले पोस्टको दिशा दिएर गोलका लागि प्रयास गरेका थिए । दोस्रो हाफको खेल केही हदसम्म फ्रान्सले नियन्त्रणमा राखे पनि स्पेनलाई पन्छाउन त्यो पर्याप्त रहेन । पछि ओल्मोले भने, ‘अहिले हाम्रो स्पेनले जे गरिरहेको छ, त्यो अविश्वसनीय छ । हामी साँच्चै फाइनलको पूर्ण हकदार छौं । मेरो गोल मेरै थियो वा आत्मघाती थियो, यसको कुनै अर्थ छैन । मुख्य कुरा हामी फाइनल पुगेका छौं ।’

स्पेन युरोको इतिहासमा लगातार ६ खेल जित्ने पहिलो टिम बनेको छ । ओल्मोको थप विश्लेषण थियो, ‘अब हामी ठूलै उपलब्धिबाट एकै खेलमात्र टाढा छौं । अब एक सफल पाइलाले पुग्नेछ ।’ खेलको उत्कृष्ट खेलाडी भने यमल नै रहे । पूरा खेललाई लिएर प्रशिक्षक डे ला फुन्टेको निचोड थियो, ‘यो टिमको खेलाडीमा मलाई पूरा विश्वास छ र मैले यो विश्वास कायम पनि राख्न सक्नुपर्छ । टिमको साझा उद्देश्य प्राप्तिका लागि यो टिमले खुबै मिहिनेत गरेर खेल्छ । यी सबै खेलाडी आफ्नो जिम्मेवारी पूरा गर्न आफूले सक्दो खेल्ने गर्छन् । मलाई यी २६ खेलाडीको नेतृत्व गर्दै मैदानमा उत्रॅदा पनि धेरै गर्व लाग्छ ।’

प्रकाशित : असार २७, २०८१ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×