कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

सुपरस्टार जन्मेको यमलको शंखनाद

असार २७, २०८१
सुपरस्टार जन्मेको यमलको शंखनाद

Highlights

  • युरो सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदा स्पेनी खेलाडी लामिन यमल ‘प्लेयर अफ द म्याच’ भए । उनले गरेको आकर्षक गोल युरो इतिहासमै सबैभन्दा कान्छा खेलाडीले गरेको गोलमा गणना भएको छ । फ्रान्सविरुद्ध सेमिफाइनल खेलिरहँदा उनी १६ वर्ष ३ सय ६२ दिनका थिए । यमल आउँदो शनिबार आफ्नो १७ औं जन्मदिन मनाउँदै छन् ।

काठमाडौँ — म त आफ्नो टिमले जितोस् भन्ने मात्र चाहन्छु । जित र फेरि पनि जित ।’ यो भनाइ हो, भर्खर १६ वर्ष पूरा हुनै लागेका स्पेनी खेलाडी लामिन यमलको । स्पेनले युरो २०२४ को पहिलो सेमिफाइनलमा फ्रान्सलाई हराएपछि ‘प्लेयर अफ द म्याच’ बनेका यमल खुबै उत्साहित थिए ।

आफू जितकै मात्र भोको रहेको उनले बताए । यसलाई भनिन्छ, फुटबलमा ‘विनिङ मेन्टालिटी’ । यसपल्टको युरो सुरु हुनुअगाडि नै धेरैको अपेक्षा थियो, यी किशोर खेलाडीले केही गर्छन् । उनलाई भविष्यका स्टार भन्न सुरु भइसकेको थियो । यही युरोमा आफ्नो प्रदर्शनबाट उनले शंखनाद गरेका छन्, एउटा सुपरस्टार जन्मेको ।

एउटा खास गोलले एउटा सुपरस्टारको जन्म हुन सक्छ । विश्व फुटबलमा धेरै राम्रा–राम्रा गोल भएका छन् । सबैको उत्तिकै चर्चा हुन्न । केही गोल खास हुन्छन् किनभने त्यो विशेष मौकामा हुन्छ । यमलले फ्रान्सविरुद्ध गरेको गोल त्यस्तै थियो । यो खास हुनुका दुई कारण रहे । पहिलो, यो गोलअगाडि खेलमा फ्रान्सले अग्रता लिइरहेको थियो । म्युनिखमा भएको खेलमा फ्रान्सले रन्डाल कोलो मोनीको गोलले अग्रता लिएको हो । यो यस्तो अग्रता थियो, जसले स्पेनलाई दुःख दिन सक्थ्यो ।

तर फ्रान्सको अग्रता लामो समय टिकेन, लगभग तुरुन्तै जस्तो यमलले बराबरी गोल फर्काए, २१ औं मिनेटमा । त्यसको चार मिनेटपछि त स्पेन निर्णायक साबित गोल गर्न नै सफल रह्यो । डानी ओल्मोले दोस्रो गोल गरेका थिए । खासमा खेलमा ‘मोमेन्टम’ तयार पारेको त यमलकै गोल थियो । अब दोस्रो कारण । यो आफैंमा उत्कृष्ट गोल रह्यो, हेर्दै मनमुग्ध हुने । एलिनाज एरेनामामा २५ यार्ड टाढाबाट गरेको प्रहारले हल्का घुमाउरो बाटो तय गरेर पोस्टको दिशा लिएको थियो, ‘टप लेफ्ट कर्नर’ मा ।

यो गोलसँगै एउटा कीर्तिमान पनि बनेको छ । त्यो हो, यमल युरो इतिहासमै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । फ्रान्सविरुद्ध सेमिफाइनल खेलिरहँदा उनी १६ वर्ष ३ सय ६२ दिनका थिए । यस्तोमा उनको १७ औं जन्मदिन आउँदो शनिबार परेको छ । यो भनेको फाइनलको एक दिनअगाडि । त्यस्तोमा यमलसामु फाइनलअगाडि आफ्नो जन्मदिन मनाउने अवसर पनि मिलेको छ र यसमा उनी आफैं दंग पनि छन् ।

मोरक्कोली बुबा र इक्वेटोरियल गुएनाली आमाका छोरा हुन्, यमल । ‘अब म जर्मन भूमिमा आफ्नो जन्मदिन मनाउँदै छु । त्यो पनि आफ्ना खेलाडीहरूसँग,’ उनले भने । उनी आफैं यो गोललाई लिएर के भन्छन् त ? ‘यो यस प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट गोल हो अथवा होइन, मलाई त्यो थाहा छैन । तर मेरो आफ्नै लागि यो विशेष गोल भने हो,’ उनले भने, ‘युरोमा आफ्नो देशका लागि यो मेरो पहिलो गोल हो । अब त हामी प्रतियोगिताको फाइनल पनि पुगिसक्यौं । अब सबैभन्दा महत्त्वपूर्ण चुनौती बाँकी छ, उपाधि जित्ने ।’

यमल के पनि मान्छन् भने स्पेनले तुरुन्तै गोल नफर्काएको भए, फ्रान्सले असाध्यै गाह्रो स्थिति बनाउने थियो । उनका नाममा बनेको यो नै पहिलो सम्झनालायक कीर्तिमान भने होइन । उनी स्पेनी ला लिगामा बार्सिलोनाका लागि खेल्छन् । उनी बार्सिलोनाको एकेडेमीकै उत्पादन हुन् । त्यहाँको ला मासिया एकेडेमीमा हुर्के/बढे । बार्सिलोना आफ्नो एकेडेमीको खेलाडीलाई मौका दिनमा माहिर छ । यमल पनि भाग्यमानी रहे, १५ वर्षकै उमेरमा स्पेनी माथिल्लो डिभिजनमा डेब्यु गरे । अनि गोल पनि गरे ।

यसरी उनी ला लिगामा डेब्यु गर्ने मात्र होइन, गोल पनि गर्ने सबैभन्दा कान्छा खेलाडी हुन् उनी । अझ उनी युरोपेली च्याम्पियन्स लिगमा सुरुदेखि खेल्न पाउने सबैभन्दा कान्छा खेलाडी हुन् । हुँदा हुँदा उनी स्पेनका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि हुन् । स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे पनि यमलको प्रदर्शनबाट दंग छन् । ‘यमलको त्यो गोलमा महान् खेलाडीको झल्को पाइन्छ,’ उनले भनेका छने, ‘म उनलाई सल्लाह दिन चाहन्छु, आफ्नो मिहिनेत नछाड्नू, भलाद्मी रहनू अनि उनका दुवै खुट्टा भुइँमै रहून् ।’

यमलका आदर्श मेसी

जुन दिन स्पेन युरोको फाइनलमा पुग्यो, त्यही दिन अर्जेन्टिना पनि कोपा अमेरिका २०२४ को फाइनल पुगेको छ । जुन दिन यमलले गोल गरे, त्यही दिन लियोनल मेसीले पनि गोल गरेका थिए ।

यो प्रसंग किन पनि उल्लेख गर्न आवश्यक छ भन्दा यमलका आदर्श हुन्, मेसी । आखिरमा मेसी पनि त त्यही ला मासिया एकेडेमीकै उत्पादन हुन् । अनि उनले भएभरको ख्याति कमाएको पनि बार्सिलोनाकै लागि खेल्दा हो । यही संयोगबीच एउटा तस्बिर खुबै भाइरल भइरहेको छ र यससँग जोडिएको कथाले यमलको प्रदर्शनलाई अझ विशेष बनाएको छ ।

फाइल तस्बिर : एपी

यो तस्बिरमा मेसी एउटा ६ महिनाको बच्चासँग खेल्ने प्रयासमा देखिन्छन् । केही नभए पनि १६ वर्षअगाडिको यो तस्बिर सबैले बिर्सिसकेका थिए । तर युरोकै बेला पारेर यमलका बुबाले यो तस्बिरलाई

आफ्नो ‘इन्स्ट्राग्राम’मा पोस्ट गरे । यो युनिसेफको च्यारिटी क्यालेन्डरका लागि जोन मोफोर्टले खिचेको तस्बिर हो । यसमा देखिएका सानो हँसिलो बच्चा अरू कोही नभएर यमल थिए । मोफार्टलाई के सम्झना छ भने मेसीलाई ती बच्चासँग कसरी बोलुँ र फकाउने भनेर गाह्रो परेको थियो ।

बच्चा भने मज्जाले हाँसिरहेका देखिन्छन् । मज्जाले खेलिरहेका छन् । त्यति बेला मोफोर्टले त्यसको क्याप्सनमा लगभग यस्तै लेखेका थिए, फुटबलका सुपरस्टार एउटा बच्चासँग । अब त यो क्याप्सन पनि बदल्नुपर्ने भएको छ । समयले क्याप्सनलाई पनि फेर्न बाध्य पार्दो रहेछ । अब यस तस्बिरको क्याप्सन ‘एउटै फ्रेममा फुटबलका दुई सुपरस्टार’ राख्दा उपयुक्त हुने देखियो । एउटा पुराना र अर्का नयाँ । यमलको आजको प्रगतिमा मेसी आफैं पनि खुसी भएको हुनुपर्छ ।

प्रकाशित : असार २७, २०८१ ०६:२३
x
×