कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

दुवैको लक्ष्य ‘संकटमोचन’

इंग्ल्यान्ड र नेदरल्यान्ड्स दुवैलाई सजिलो छैन, दोस्रो सेमिफाइनलमा दुवैले आफ्नो प्रतिष्ठाभन्दा बढी राम्रो खेल्नुपर्नेछ 
रोयटर्स

डर्टमन्ड — यस युरोमा अहिलेसम्मको यात्रा न इंग्ल्यान्डलाई सजिलो छ न त नेदरल्यान्ड्सलाई । यी दुईमध्ये जुन एक टिमले बुधबारको दोस्रो सेमिफाइनलमा आफ्नो प्रतिष्ठाअनुसार अलिकति बढी राम्रो खेल्नेछ, उही टिमको संकटमोचन हुनेछ । स्विट्जरल्यान्डविरुद्ध टाइब्रेकरमा प्राप्त जितपछि इंग्ल्यान्ड टिममा खुसीको लहर छाएको थियो ।

दुवैको लक्ष्य ‘संकटमोचन’

तर यो कुनै संकटमोचन दिएन, बरू राहतमात्रै थियो । नेदरल्यान्ड्सामु त आफ्नो पूरै आक्रमणलाई नवीकरण गर्नुपर्नेछ, यदि फाइनल पुग्ने हो भने ।

अन्तिम चारसम्मको यात्राका क्रममा इंग्ल्यान्डले आफ्ना सबै विपक्षी टिमलाई हराउन संघर्ष गरेको छ । भलै, कागजमा यी खेल इंग्ल्यान्डले सजिलै जित्नुपर्ने थियो । नेदरल्यान्ड्स पनि प्रतियोगिताबाट बाहिरिएको संघारमा पुगेर उतारचढवपूर्ण यात्रा गर्दै यहाँसम्म आइपुगेको हो । टर्कीविरुद्ध टोलीको पछिल्लो जित भने कम्ती गाह्रो रहेन । अन्तिम आठमा रोमानियाविरुद्धको खेलमा भने नेदरल्यान्ड्स आफ्नो वास्तविक रंगमा देखिएको थियो । अन्य खेलमा नेदरल्यान्ड्स सुरुमै पछाडि पर्नुपर्ने बाध्यता बनिरहेको छ ।

यी दुईबीच दाँज्ने नै हो भने इंग्ल्यान्डको तुलनामा नेदरल्यान्ड्सले दुई गुणा नै गोल गरेको छ । त्यस अर्थमा डच आक्रमण केही तिखारिएको देखिन्छ । नेदरल्यान्ड्सले यस युरोमा गरेका २० प्रयासमा ९ गोलमा परिणत भएको छ । इंग्ल्यान्डले भने अहिलेसम्म नै १५ आक्रमणमा बुनेको छ । त्यसमध्ये कमै मात्र गोल भएको छ । अन्यथा ह्यारी केन, फिल फोडेन र जुड बेलिङ्घमले गर्ने आक्रमण बलियो हुनुपर्ने नै हो । इंग्ल्यान्डको प्रदर्शन स्विस टिमविरुद्ध केही सुधारिएकै थियो । तर त्यसमा पनि बुकायो साकाले ८० मिनेटमा बराबरी गोल गर्नुपरेको थियो ।

कम्तीमा यस्तो समस्या नेदरल्यान्ड्सले भोग्नुपरेको छैन । प्रतियोगितामै सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा संयुक्त रूपमा शीर्षमा रहेका कोडी गाक्पोले इंग्लिस डिफेन्सविरुद्ध समस्या सिर्जना गर्न सक्नुपर्ने हो । तर, इंग्ल्ल्यान्डको रक्षात्मक कवच असाध्यै बलियो देखिएको छ । बरू इंग्ल्यान्डको कमजोरी त आक्रमण नै हो । इंग्लिस व्यवस्थापक गारेथ साउथगेट आफ्ना खेलाडीलाई मिडियाले बढी आलोचना गरेकोमा खुसी छैनन् । टाइब्रेकरमा स्विसविरुद्ध ५ गोल हुनुलाई उनी राम्रै मान्छन् ।

प्रशिक्षक गारेथ साउथगेट भन्छन्, ‘राष्ट्रिय टिमबाट खेल्दा हुने भनेको नै चर्को दबाब हो । खासमा हामीलाई सुरुदेखि नै दबाब थियो । तर, हाम्रा खेलाडीले राम्रो गरिरहेका छन् । यो नै खुसी हो । पक्कै पनि हामीले एकपछि अर्को गोल गर्न सकेकै छैनौं । हामीले जति पनि टिमको सामना गरेका छौं, ती सबैले रक्षापंक्तिमा ५ खेलाडी उतारेको छ । प्रत्येक टिमले हाम्रोविरुद्ध कडा डिफेन्स तयार पारेको छ ।’ यो खेलमा उनले पुरानै टिमलाई उतार्ने विश्वास गरिएको छ । चाहिएमा उनी पहिलो हाफमै सब्स्टिच्युट गर्न भने पछाडि पर्दैनन् ।

नेदरल्यान्ड्सको प्रदर्शन भने साँच्चै निकै उतारचढावपूर्ण देखिन्छ । सन् १९९८ यता पहिलो पटक टिम फाइनलमा पुग्ने हो भने नेदरल्यान्ड्सलाई यसअघिका खेलेजस्तो प्रदर्शनले पुग्ने छैन । अस्ट्रिया र टर्कीले सेटपिसमा डच डिफेन्सको कमजोरी छताछुल्ल पारेको थियो । हुनसक्छ, इंग्ल्यान्डले पनि यसबाट शिक्षा लिएर खेल्नेछ । साउथगेट मात्रै होइन, आलोचना त कोमनको पनि उत्तिकै भएको छ । केही फुटबल पण्डितले डच खेलाडीको समर्पणमै शंका गरेका छन् । यस्तो आरोपमा कोमन खुसी छैनन् ।

उनी टर्कीविरुद्धको जितमा आफ्ना खेलाडीले अथक मिहिनेत गरेको दाबी गर्छन् । उनले यस खेलमा प्राप्त पुनरागमन जितमा सबैले खेलाडीले उत्तिकै मिहिनेत गरेर खेलेको बताए । उनी भन्छन्, ‘हामीलाई जसरी भए पनि सेमिफाइनल जित्ने छ । यो खेल आफैंमा रोमाञ्चक हुनेछ, किनभने फुटबलमा ऐतिहासिक रूपमा बलिया दुई टिम भिड्दै छन् । इंग्ल्यान्डसँग धेरै राम्रो खेवाडी रहेको छ । तर हाम्रा खेलाडी पनि कम्तीका छैनन् ।’

प्रकाशित : असार २६, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×