कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

इंग्ल्यान्डलाई कोमनको फ्रिकिक झल्को

एएफपी

डर्टमन्ड — युरो २०२४ को सेमिफाइनलमा जतिबेला इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्नेछन्, त्यतिबेला दुवैको एउटा नजर बर्लिनमा हुने फाइनललाई केन्द्रित हुनेछ । एउटा समय त्यस्तो थियो, जतिबेला यी दुई टिम बरोबर एक आपसमा भिड्ने गर्थे । अब त यो इतिहास भयो ।

इंग्ल्यान्डलाई कोमनको फ्रिकिक झल्को

विश्वास नहुन सक्छ, यसपल्ट हुने फाइनल दुई टिमबीच यो दशककै दोस्रो खेलमात्रै हुनेछ । यही पृष्ठभूमिमा इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीच पाँच सम्झनलायक खेल फर्केर हेर्दा मज्जा आउने छ ।

भान वास्टेनको ह्याट्रिक

सन् १९८८ को युरो नै त्यस्तो एकमात्र प्रतियोगिता हो, जसलाई नेदरल्यान्ड्सले जितेको छ । त्यो युरोको फाइनलमा मार्को भान वास्टेनले तत्कालीन सोभियत संघविरुद्ध जसरी उत्कृष्ट गोल गरे, त्यसलाई कसैले बिर्सन सकेका छैनन् । यो प्रतियोगिता भने आफैंमा इंग्ल्यान्डका लागि बिर्सनलायक रह्यो । यो यस्तो प्रतियोगिता रह्यो, त्यसमा इंग्ल्यान्ड आफूले खेलेका सबै खेलमा पराजित रह्यो ।

संयोगले दुवै टिम लिग चरणमा आफूले खेलेको पहिलो खेलमा पराजित रह्यो । पछि यी दुई टिमबीचको खेलमा नेदरल्यान्ड्स ३–१ ले विजयी भयो । र, त्यसमा भान वास्टेनले सानदार ह्याट्रिक गरे । इंग्ल्यान्डका लागि ब्रायन रोब्सनले एक गोल फर्काए । भान वास्टेनका अन्तिम दुई गोल चार मिनेट अन्तरमा भएको थियो ।

१९९० को विश्वकपमा बराबरी

सन् १९९० मा इटालीमा भएको विश्वकपमा दुवै टिम लिग चरणमा एकै समूहमा परेका थिए । भान भास्टेनको दिलाएको जित डर्ममन्डमा भएको थियो । यस विश्वकपको खेल भने काग्लियरीमा भएको थियो । दुवै टिमका खेलाडी लगभग समान थिए । त्यसमा एक अहिलेका डच प्रशिक्षक रोनाल्ड कोमन थिए । त्यो खेलमा भान भास्टेन चुपचाप जस्तै रहे ।

खेल आफैंमा गोलरहित बराबरीमा टुंगियो । त्यसअघि इंग्ल्यान्डले आयरल्यान्ड र नेदरल्यान्ड्सले इजिप्टसँग बराबरीमा चित्त बुझाएको थियो । पछि इंग्ल्यान्ड यो समूह जित्न सफल भयो र टोली सेमिफाइलनसम्म यात्रा तय गर्न सफल रह्यो । नेदरल्यान्ड्स भने अन्तिम १६ मै रोकिएको थियो, तत्कालीन पश्चिम जर्मनीको हातबाट ।

इंग्ल्यान्डविनाको विश्वकप

सन् १९७० यता इंग्ल्यान्ड जम्माजम्मी एकैपल्ट मात्र विश्वकपमा छनोट हुन असफल रहेको छ । यो हो, सन् १९९४ मा अमेरिकामा भएको विश्वकप । इंग्ल्यान्डलाई छनोट चरणमा निर्णायक ढंगले रोक्ने टिम थियो, उही नेदरल्यान्ड्स । छनोटमा ग्राहम टेलरको इंग्ल्यान्डको प्रदर्शन वास्तवमै फिक्का थियो ।

नर्वेविरुद्ध दुई लेगको खेलमा इंग्ल्यान्डले एकै अंकमात्र बटुलेको थियो । पछि नर्वे नै यो छनोटको समूह विजेता रह्यो । नेदरल्यान्ड्सविरुद्ध वेम्बलीमा भएको खेल बराबरी रह्यो । त्यसमा इंग्ल्यान्डले दुई गोलको अग्रता कायम राख्न सकेको थिएन । रोटरड्याममा भएको रिटर्न फिक्सरमा २–० ले स्तब्ध रह्यो । त्यसमा पहिलो गोल गरेका थिए तिनै कोमनले । त्यो पनि फ्रि–किकबाट । इंग्ल्यान्डले यो गोल कहिले पनि बिर्सन सक्ने छैन । पछि डेनिस बर्गक्याम्पले दोस्रो गोल थपेका थिए ।

सिएरर र सेरिङ्घमको गोल

युरो १९९६ मा इंग्ल्यान्ड र नेदरल्यान्ड्स फेरि समूह चरणमै भिडेका थिए । दुवै टिमले सुरुआती दुई खेलबाट समान ४ अंक प्राप्त गरिसकेका थिए । खेल वेम्बलीमा भएको थियो । त्यसमा इंग्ल्यान्ड मज्जाले ४–१ ले विजयी रह्यो । इंग्ल्यान्डको डिफेन्सको जिम्मेवारी अहिलेका प्रशिक्षक गारेथ साउथगेटको काँधमा थियो । गोल भने एलान सिएरर र टेडी सेरिङ्घमको नाममा रह्यो । दुवैले समान दुई गोल गरे ।

हारका बावजुत नेदरल्यान्ड्स समूह उपविजेता रह्यो । अन्तिम आठको खेलमा नेदरल्यान्ड्स भने फ्रान्ससँग पराजित रह्यो । इंग्ल्यान्ड भने सेमिफाइनलमा पेनाल्टी शुटआउटमा जर्मनीसँग पराजित भयो । त्यसमा इंग्ल्यान्डबाट गोल गर्न चुक्ने खेलाडी थिए, साउथगेट ।

नेसन्स लिगमा डच हाबी

त्यो युरो १९९६ पछि नेदरल्यान्ड्स र इंग्ल्यान्डबीच एकैपल्ट मात्र भेट भएको छ । त्यो हो, सन् २०१९ को यूईएफए नेसन्स लिग । त्यति बेलासम्म साउथगेट इंग्लिस टिमको व्यवस्थापक भइसकेका थिए अनि कोमनले पहिलो पटक डच टिमको जिम्मा पाएका थिए । खेल पोर्चुगलको गुमारेरमा भएको थियो ।

यो खेल नेदरल्यान्ड्सको पक्षमा ३–१ ले रह्यो । अतिरिक्त समयमा गएर खेल टुंगो लागेको हो । डच टिमका लागि क्वान्सी प्रोमेसले तेस्रो गोल गरे । टोलीको अग्रता भने कायल वाल्करको आत्मघाती गोलमा भएको थियो । अग्रता त मार्कस रसफोर्डको गोलबाट इंग्ल्यान्ड नै लिएको हो । तर, डच स्टार म्याथ्युज डे लिग्टले बराबरी गोल फर्काएका थिए ।

प्रकाशित : असार २६, २०८१ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×