कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पोर्चुगल समूह विजेता हुँदै अन्तिम १६ मा

एएफपी

डर्टमन्ड — पोर्चुगलले शनिबार टर्कीमाथि सजिलो ३–० को जित निकाल्दै युरो कपको अन्तिम १६ मा पुगेको छ । पोर्चुगल समूह ‘एफ’ विजेता बन्ने पनि निश्चित भएको छ । बर्नाडो सिल्भा र ब्रुनो फर्नान्डेजले टोलीको जितमा एक–एक गोल गरे ।

पोर्चुगल समूह विजेता हुँदै अन्तिम १६ मा

एक अर्को गोल समिट अकायडिनको नाममा आत्मघाती रह्यो । रोबर्टो मार्टिनेजको पोर्चुगलको यस जितपछि दुई खेलबाट ६ अंक भएको छ र नकआउट चरणमा पनि अपेक्षाकृत सजिलो प्रतिद्वन्द्वी पाउनेछ ।

अब अन्तिम १६ मा समूहको तेस्रो स्थानमा रहेर नकआउट चरण पुगेका टिममध्ये एकसँग भेट हुनेछ । जर्जियाविरुद्धको आफ्नो अन्तिम खेलमा पोर्चुगलले विना कुनै दबाब पनि खेल्न सक्नेछ । अर्कोतर्फ टर्कीलाई अर्को चरण पुग्न अन्तिम खेलमा चेक गणतन्त्रविरुद्ध कम्तीमा बराबरी आवश्यक हुनेछ । समूहको अन्तिम दिनको खेलमा टर्कीले चेकको सामना गर्नेछ । टर्कीको ३ अंक छ भने चेक र जर्जियाको समान १ अंक छ ।

यो जितपछि प्रशिक्षक मार्टिनेजले आफ्ना कप्तान क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरे । फर्नान्डेजले रोनाल्डो पासमा गोल गरेका हुन् । रोनाल्डोसामु त्यस स्थितिमा आफैं गोल गर्ने अवसर थियो । ‘रोनाल्डो गोल गर्ने खेलाडी हुन् र उनी सधैं गोलकै पछाडि हुने गर्छन् । तर, विपक्षी गोलरक्षकको अगाडि हुँदा पनि उनले फर्नान्डेजका लागि पास उपलब्ध गराएका थिए । यो कुनै पनि फुटबल एकेडेमीमा युवा खेलाडीलाई सिकाउनुपर्ने पाठ हो । फुटबलमा टिम नै सबैभन्दा ठूलो हुन्छ ।’

उनले खेलको विश्लेषण गर्दै भने, ‘चेक गणतन्त्रविरुद्धको पहिलो खेलमा हामीले जसरी खेलेका थियौं, टर्कीविरुद्ध पनि त्यस्तै खेल दोहोर्‍याउन सफल रह्यौं । यो नै सबैभन्दा महत्त्वपूर्ण तथ्य हो । पहिलो गोलपछि हामी अगाडि रह्यौं र यसले खेलको दिशा निर्धारित गरेको थियो । त्यो पहिलो गोलपछि हामी रक्षात्मक खेलमा केन्द्रित रह्यौं । खेल हाम्रै नियन्त्रणमा थियो र यस खेलमा क्लिन सिट राख्न सक्नु हाम्रा लागि उपलब्धि नै रहेको छ ।’

‘प्लेयर अफ द म्याच’ रहेका फर्नान्डेजले थपे, ‘हामीले समूह जितेका छौं, त्यसको विशेष अर्थ छ । अब हामीले आरामले अर्को चरणमा के गर्ने हो भनेर सोच्न सक्छौं । तर, हामीले गर्नुपर्ने कठिन मिहिनेत सकिएको छैन, किनभने हाम्रो उद्देश्य पनि पूरा भएको छैन । मुख्य कुरा, हामी सही दिशातर्फ अग्रसर छौं । यो खेलमा पोर्चुगलको प्रदर्शन राम्रो थियो र हामीले चाहिएको ३ अंक प्राप्त गर्न सक्यौं ।’

पोर्चुगलको खेलबाट टर्कीका प्रशिक्षक भिन्सेन्जो मोन्टेला पनि प्रभावित रहे । उनको विश्लेषण थियो, ‘पोर्चुगल जत्तिको टिमविरुद्ध सुरुमै गोल फर्काउन सकेनौं भने पक्कै पनि गाह्रो हुन्छ । यो खेलमा पनि भएको यस्तै हो । तर, हाम्रो प्रदर्शन आफैंमा खराब भने थिएन । सुरुमै भएको गोलले हाम्रा खेलाडीको आत्मविश्वासमा केही कमी ल्याएको थियो । खेलको अन्त्यसम्म हामीले आफ्नो संघर्ष जारी राख्यौं ।’

उनले अब आफ्नो टिमको पूरा ध्यान अन्तिम खेलमा हुनुपर्ने पनि बताए । उनको दाबी थियो, स्थिति अझै टर्कीकै हातमा छ ।

प्रकाशित : असार १०, २०८१ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×