कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

युक्रेनको जितले समूह ‘ई’ हेर्नलायक

समूह ‘बी’ मा डिफेन्डिङ च्याम्पियन इटालीविरुद्ध प्राप्त लगातार जितले स्पेन एक खेलअघि नै नकआउट चरण पुग्न सफल 
एएफपी

डुसेलफोर्ड — रोमन यारेमचुकले गरेको महत्त्वफूर्ण गोलमा युत्रेनले युरोको समूह ई’ मा स्लोभाकियामाथि रोमाञ्चक पुनरागमन गर्दै २–१ को जित पाएको छ । यस जितसँगै युक्रेनको नकआउट चरण प्रवेशको यात्रा सम्भावना कायम रह्यो । भ्यालेन्सियाका स्ट्राइकर रोमनले सब्स्टिच्युटका रूपमा मैदानमा प्रवेश गर्दै निर्णायक गोल गरेका हुन् । 

युक्रेनको जितले समूह ‘ई’ हेर्नलायक

स्लोभाकियाले १७ औं मिनेटमा इभान स्क्रान्जको गोलमा अग्रता लिएको थियो । उनले हेडबाट बललाई पोस्टका दिशा दिएका थिए । त्यति बेला युक्रेनको रक्षापंक्तिले खासै चुनौती पेस गर्न सकेन । त्यस स्थितिमा स्लोभाकिया नकआउट चरण पुग्थ्यो भने युक्रेन प्रतियोगिताबाट बाहिरिने स्थितिमा हुन्थ्यो । यो स्लोभाकियाको ठूलो प्रतियोगितामा पहिलो पटक लगातार दोस्रो जित हुन्थ्यो । पहिलो हाफमा युक्रेन सुस्त देखिएको थियो । टोलीले बिरलै निर्णायक साबित हुनसक्ने आक्रमण बुनेको थियो ।

दोस्रो हाफमा युक्रेन फरक देखिएको थियो । यसक्रममा टोलीले दुई गोल गरेको थियो । खेलको ५४ औं मिनेटमा म्याकोला सापारेन्कोले बराबरी गोल फर्काए । पोस्टको नजिकको दूरीमा प्राप्त बललाई उनले सजिलै गोल गरे । त्यसपछि खेल सकिने १० मिनेटअगाडि यारेमचुकले विजयी गोल गरे । यसका लागि उनले बलमाथि आफ्नो सुन्दर नियन्त्रणको नमुना पेस गरे । यो नतिजाफछि समूह ‘ई’ मा तीन टिम रोमानिया, युत्रेन र स्लोभाकियाको समान ३ अंक भएको छ ।

बेल्जियम भने शून्यमा पुछारमा छ । रोमानियाले पहिलो खेलमा युक्रेनलाई १–० ले हराएको थियो । स्लोभाकियाले भने बेल्जियमलाई १–० ले पराजित गरेको थियो । अब शनिबार हुने खेलमा बेल्जियमले रोमानियालाई हराउँछ भने चारै टिमको ३ अंक हुनेछ । त्यस स्थितिमा समूहको अन्तिम दुई खेलको नतिजाले सबै खाले सम्भावना कायम राखेको हुनेछ ।

इटालीलाई रोक्दै स्पेन दोस्रो चरणमा

म्युनिख (एएफपी)– स्पेनले बिहीबार युरो २०२४ को नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । दुई हेभिवेट टिमबीचको भिडन्तमा स्पेनले इटालीलाई १–० ले हरायो । बिहीबारकै अर्को खेलमा उपाधि दाबेदार मानिएको इंग्ल्यान्ड डेनमार्कसँग १–१ को बराबरीमा रोकिएको थियो । तीनपल्टको विजेता स्पेन डिफेन्डिङ च्याम्पियन इटालीभन्दा बलियो देखियो, तर खेलको निर्णायक गोल भने आत्मघाती रह्यो । त्यो गोल रिकार्डो कालाफ्लोरीको नाममा रह्यो ।

समूह ‘बी’ मा प्राप्त लगातार दोस्रो जितले स्पेन शीर्षमा रह्यो र एक खेलअघि नै नकआउट चरण पुग्न सफल रह्यो । स्पेनले यसै कारण अन्तिम १६ को कोलोनमा हुने आफ्नो खेलमा तेस्रो स्थानमा आएर अगाडि बढ्ने टिममध्ये एकको सामना गर्नेछ । इटालीको अर्को चरण खेल्ने अहिलेसम्म निश्चित भएको छैन । तर, सोमबार लाइप्जिगमा क्रोएसियाविरुद्धको खेलमा टोलीका लागि एक अंक नै समूहको दोस्रो स्थानमा पर्याप्त रहनेछ ।

स्पेन र इटाली लगातार पाँचौ युरोमा एक आपसमा भिडिरहेका थिए । तीन वर्षअघि इटालीले टाइब्रेकरमा स्पेनलाई पराजित गरेको थियो । यो वेम्बलीमा भएको सेमिफाइनल खेल थियो । त्यसका बदलाका रूपमा प्राप्त जितपछि स्पेनी प्रशिक्षक लुइस डी ला फुन्टेले भनेका छन्, ‘स्पेनी टिमको प्रदर्शनमा खुसी छु र गर्व पनि महसुस गरिरहेको छु । यो खेलको विशेषता रह्यो, हामी इटालीको तुलनामा सुदृढ रह्यौं ।’

इटालीका प्रशिक्षक लुसियानो स्पालेट्टीले पनि स्पेन नै बलियो देखिएको स्वीकारे । ‘हामीले स्पेनविरुद्ध उसले जत्तिको खेल पनि प्रदर्शन गर्न सकेनौं,’ स्पालेट्टीले भने । त्यस अगाडि इंग्ल्यान्डले पनि जितसँगै अन्तिम १६ को स्थान निश्चित गर्न सक्थ्यो । तर, समूह ‘सी’ को फ्र्यांकफर्टमा भएको खेलमा इंग्ल्यान्डको प्रदर्शन अपेक्षाअनुसार रहेन । यस्तोमा इंग्ल्यान्डलाई उपाधिको प्रत्याशी मान्नेमा प्रश्न उठेको छ । इंग्ल्यान्डले अहिलेसम्म युरो जितेको छैन र पछिल्लो संस्करणको फाइनलमा इटालीकै हातबाट हार बेहोरेको थियो ।

डेनमार्कविरुद्धको खेल भने पछिल्लो युरोकै सेमिफाइनलका पुनरावृत्ति थियो । त्यसमा इंग्ल्यान्ड विजयी रह्यो । खेलको पहिलो हाफमा ह्यारी केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएपछि फेरि टोलीकै जित हुने संकेत मिलेको थियो । तर, डेनमार्क एक अंकका लागि पूरा हकदार देखियो । डेनिसका लागि मोर्टेन ह्युजमान्डले पहिलो हाफको अन्त्यतिर लामो दूरीबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए । ‘यो प्रदर्शनमा हामी पक्कै पनि निराश छौं,’ इंग्लिस प्रशिक्षक गारेथ साउथगेटले माने ।

प्रकाशित : असार ८, २०८१ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×